भीरले रोकियो सडक

भीरले रोकियो सडक

ताप्लेजुङ : तल फेदी खोला र तमोर नदीसम्म छ्याङ्गै भीर। नदीबाट उठेको पहरो पहाडको टुप्पैसम्म पुगेको छ। कस्तुरीसमेत हिँड्न नसक्ने भएकाले यसलाई स्थानीयले ‘कस्तुरी भीर’ नाम दिएका छन्। यही अक्करिलो भीरमा पाँच महिनासम्म पाँच वटा मेसिन पहरो कोट्याइरहे। सडकको ट्र्याक खोल्ने प्रयास गरिरहे। अपरेटरले ज्यानको बाजी थापेरै काम गरेको स्थानीय तेञ्जिङ शेर्पा बताउँछन्। 

‘कात्तिकदेखि पहरो छिचोल्ने प्रयास थालेका हुन्, बिहानदेखि मध्यरातसम्म बे्रकरले टुक...टुक...टुक पार्छन्,’ शेर्पा भन्छन्, ‘पहरो फुटाउन ब्लास्टिङ प्रयोग गरेको भए पहिल्यै पार भइसक्थ्यो।’ पाँच वटा मेसिन चल्दा दिनको एक मिटर पनि प्रगति नभएपछि माघ २२ गतेदेखि काम ठप्प छ। चीन जोड्ने उत्तर–दक्षिण लोकमार्गअन्तर्गतको सडक निर्माण फक्ताङलुङ गाउँपालिका–६ इलाडाँडास्थित भीरमा पुगेर रोकिएको हो। 

सरकारले निर्माण कम्पनीलाई ब्लास्टिङ (विस्फोटक पदार्थ) दिन नसकेपछि चीन र भारतलाई छोटो दूरीले जोड्ने सडक निर्माण रोकिएको हो। तत्काल विस्फोटक पदार्थ उपलब्ध नभए काम अघि बढाउन नसकिने निर्माण कम्पनी ‘एसबीए एलाइट जेभी’ ले जनाएको छ। ‘हामीले तीन वर्षअघि काम सुरु गर्दा नै सरकारसँग विस्फोटक पदार्थ मागेका हौं,’ निर्माण कम्पनीका म्यानेजर राजीव लामिछानेले भने, ‘आज हुन्छ कि भोलि भन्दै काम गरिरह्यौं, ब्रेकरले एक सेन्टिमिटर पनि कोट्याउन सक्ने अवस्था नभएपछि रोक्नुपरेको हो।’ 

विस्फोटक पदार्थको व्यवस्थापन र प्रयोग गर्ने वातावरण नभएसम्म काम अघि बढाउन नसकिने लामिछानेको भनाइ छ। ट्र्याक खुल्न अब चार किलोमिटर मात्रै बाँकी छ। लामिछानेका अनुसार त्यसको अधिकांश ठाउँमा विस्फोटक पदार्थ आवश्यक पर्छ। ‘समयमै विस्फोटक पदार्थ उपलब्ध भएको भए वर्ष दिनअघि नै सडक ओलाङचुङगोला जोडिन्थ्यो,’ उनले भने। खुरुखुरु काम गर्ने वातावरण बने अब तीन महिनामा ट्र्याक जोड्ने कम्पनीको दाबी छ। मूलघाट–दोभान–ओलाङचुङगोला सडक आयोजना प्रमुख अमिन्द्र खड्का भने विस्फोटक पदार्थका लागि रक्षा र गृह मन्त्रालयसँग समन्वय भइरहेको बताउँछन्। ‘२५ सय किलो खरिदका लागि बुधबार मात्रै गृहले रक्षालाई स्वीकृति दिएको छ, रक्षाले भौतिक मन्त्रालय, सडक विभाग हुँदै हामीकहाँ पत्र आउनुपर्छ,’ खड्काले भने, ‘त्यसका लागि केही दिन समय लाग्छ।’ 

१०/१५ दिनभित्रै विस्फोटक पदार्थ प्रयोग गरिने बताए। कार्यालयसँग १२ सय किलो विस्फोटक पदार्थ स्टक रहे पनि नेपाली सेनासँग सम्झौता हुन नसक्दा प्रयोग गर्न नसकेको खड्का बताउँछन्। ‘जिल्ला सुरक्षा समितिले प्रयोगका लागि निर्णय गरिसकेको छ,’ उनले भने, ‘विस्फोटक पदार्थ ढुवानी र सुरक्षाको जिम्मा सेनाको हुन्छ, सम्झौता भएपछि काम थाल्दै गर्छौं।’

यसअघि लेलेप–फेदीखोला खण्डमा पनि दर्जनभन्दा बढी भीरहरू बे्रकरको भरमा खोलेको स्थानीय पेम्बाटासी शेर्पाले बताए। ‘४ महिना लगाएर भए पनि तेन्जिङ भीरको १० मिटर पहरा खोले,’ शेर्पा भन्छन्, ‘ठूलै ठेकेदार परेछन् र मात्रै, अरू भए पहिल्यै छाडेर जान्थे होला।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.