घरैपिच्छे व्यवसायिक तरकारी खेती (फोटोफिचर)

घरैपिच्छे व्यवसायिक तरकारी खेती (फोटोफिचर)

दैलेख : विष्णा शाही, उमेरले ७५ वर्ष काटिन् । बुढेसकालमा पनि उनी घरायसी काममा अझै सक्रिय रहन्छिन् । उनको परिवारका सबै सदस्य पनि तरकारी खेतीमा सक्रिय छन् । 

छोरा बुहारी र नातीहरुसँग रमाउँदै बारीमा तरकारी रोप्न, गोडमेल गर्न उनले छाडेकी छैनन् । कुनै बेला नुन खुर्सानीसँग रोटी खाएर मेलापात, घाँस दाउरा, चुलो चौको गरेको सम्झना उनमा ताजै छ । 

बारीको डिलमा बसेर तरकारी नियाल्दै उनी भन्छिन्, 'हाम्रो पालामा यसरी तरकारी फलाउनुपर्छ भन्ने थाहै थिएन्। सुख्खा रोटीले पेट भर्नुपथ्र्यो, परम्परागत खेतीबाट वर्षभरी खान समेत पुग्दैनथ्यो।' बुढेसकालमा आफ्नो बारीभरी लटरम्म तरकारी फलेको देख्न पाउँदा उनी खुसी छिन् । 

विष्णाका बुहारी नानीदेवी शाही विगत चार वर्षदेखि तरकारी खेतीमै व्यस्त छिन् । उनको दिनचर्या बारीमै बित्ने गर्छ । अधिकांश समय तरकारी खेतीको स्याहार सुसारमै बिताउने नानीदेवी भन्छिन्, 'मेहनत गरेअनुसारको प्रतिफल पनि राम्रो प्राप्त भएको छ ।'

नानीदेवीका छोरा मदन शाही कक्षा १२ मा पढ्दापढ्दै रोजगारीको खोजीमा छिमेकी मुलक भारतको गुजरात पुगे । झण्डै दुई वर्ष भारतमा नोकरी गरेर फर्केका मदन पनि अहिले तरकारी खेतीमै छन् । तरकारी खेतीबाटै एक सिजनमा ३० हजार रुपैयाँसम्म आम्दानी गरेका मदन भन्छन्, 'अर्काको देशमा भाँडा माझ्नुभन्दा आफ्नै देशमा परिश्रम गरे मनग्य आम्दानी हुँदोरहेछ, अब भारत जाँदिन् ।' परम्परागत खेतीहरु धान मकै गहुँ लगाउँदा उत्पादन कम हुने र तरकारी खेतीबाटै राम्रो आम्दानी भएको उनको बुझाइ छ ।

यो परिवार जस्तै २६ वर्षीया शान्ति सिजापतीले व्यवसायिक रुपमा बन्दा काउली, आलु मुला, टमाटर खेती गरिरहेकी छिन् । एकै सिजनमा तरकारी बेचेर २५ हजार रुपैयाँसम्म आम्दानी गरेको उनी बताउँछिन् । 'उत्पादन भएको तरकारी दैलेख सहित कालिकोट र अछामसम्म बिक्री हुँदै आएको छ,' उनी भन्छिन्,'तरकारी खेतीबाटै परिवारको गुजारा चल्दै आएको छ ।'

व्यावसायिक तरकारी खेतीबाटै जीवन बदलिएको शान्तिको बुझाइ छ । तरकारी खेती सुरु गरेपछि उनलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोगेकी शान्ति भन्छिन्,'अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ ।'

शान्तिकी छिमेकी सपना शाही गाउँमा गठन भएको चेतनशिल फलफूल तथा कृषक समूहकी कोषाध्यक्ष हुन् । उनी समूहमा बसेर तरकारी खेती गर्न सुरु गरेको चार वर्ष भयो । उनको दिनचर्या चुलोचौको र खेतबारीमै बित्छ । २५ वर्षीया चेली शान्तिले खेतबारीको कामले हातमुख मात्रै जोर्दिनन्, मनग्गे आम्दानी पनि गर्छिन् । 

सपनाले तरकारी खेतीबाटै मनग्य आम्दानी हुने गरेको बताउँछिन् । 'हाल बारी र परिवारको जीवन दुवै हराभरा हुन थालेको छ,' सपना गर्वका साथ भन्छिन्, ‘तरकारी खेती गरेरै परिवारले ताजा तरकारी खान मात्रै पाएको छैन, मनग्य आम्दानी पनि भइरहेको छ ।'

उनीजस्तै आठबीस नगरपालिका–३ कुमालखाडा गाउँका ४० जना कृषकको घर–घरमा तरकारी उत्पादन भइरहेको छ । यो गाउँ कर्णाली नदी किनारको छेउमै रहेको बस्ती हो । 

यो बस्ती हुँदै कर्णाली राजमार्ग जोडिएको छ । यहाँका नागरिकले लामो समयसम्म गरिबी, विपन्नता र पछौटेपन भोगे । झण्डै एक दशक अघिसम्म यहाँ एचआइभी संक्रमितको कहालीलाग्दो अवस्था थियो । 

केही एचआइभी संक्रमितले ज्यान गुमाइसके । केहि नियमित औषधी सेवन गरेर दैनिकी गुजारिरहेका छन् । अहिले रोग, भोक, गरिबी, विपन्नता र पछौटेपनले पिल्सिएको यो गाउँको मुहार फेरिन थालेको छ । 

गाउँका सबै घरपरिवार व्यवसायिक तरकारी खेतीसँगै पशु पालनमा जोडिएका छन् । यहाँका कृषकको व्यवसायिक तरकारी खेतीमा आकर्षण बढेको छ । यसले गाउँलाई आत्मनिर्भर बनाउन मद्धत पुगेको छ । 

गाउँमा दुईवटा फलफूल तथा कृषक समूह सक्रिय छन् । बाँसघारी गौरीशंकर फलफूल तथा कृषक समूह र चेतनशिल फलफूल तथा कृषक समूहमा गरी ४८ जना आवद्ध छन् ।

तीमध्ये ४० जनाले व्यवसायिक तरकारी खेती गरिरहेका छन् भने ८ जनाले बाख्रा पालन गरिरहेका छन् ।  यो गाउँलाई नमुना गाउँ बनाउने अभियान अघि सारिएको छ ।

सोहि अनुरुप यूरोपियन यूनियन, डिसीए नेपालको सहयोगमा सोसेक दैलेखद्वारा सञ्चालित साकार र उत्थान परियोजनाले मौषमी बेमौषमी बीउबीजन, पोली हाउस, सरल थोपा सिचाई, गार्डेन पाइप, पलास्टिक पोखरी सहयोग गरेको स्थानीय रमिता कार्कीले बताइन् । 

गाउँलाई नमुना बनाउन लागिपरेको कार्की बताउँछिन् । पशुपालन गर्ने किसानलाई बाख्रा सहयोग गरिएको छ भने व्यवसायिक तरकारी खेती गर्ने किसानलाई प्राविधिक ज्ञान दिइएको छ । 

परियोजनाले किसानलाई सिंचाईको सुविधा समेत पुर्‍याएको छ । किसानले व्यावसायिक तरकारी खेती गर्न थुप्रै तालिम दिइएको परियोजनाबाट खटिएका कृषि प्राविधिक कमल शाही बताउँछन् । नमुना गाउँ निर्माण गर्ने अभियानअन्तरगर्त किसानले अर्गानिक उत्पादनमा जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.