चिकित्सक आन्दोलित
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयबीच भएको गोप्य सम्झौताको विरोध गर्दै चिकित्सक आन्दोलनमा उत्रिएका छन्। शिक्षा मन्त्रालयले झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयविरुद्ध चिकित्सकले विरोध सुरु गरेका हुन्।
सो कलेजलाई सम्बन्धन दिन मन्त्रालयले क्षेत्राधिकार मिचेको चिकित्सकको आरोप छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालयको सभामा ठाडो प्रस्ताव लगेर बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गराएपछि आइतबारदेखि चिकित्सक विरोधमा उत्रिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री श्रेष्ठले गत बुधबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र विश्वविद्यालयका उपकुलपति डा. भोला थापालाई मन्त्रालयमा बोलाएर समझदारीपत्रमा हस्ताक्षर गराएका थिए।
उक्त पत्र गोप्य राखिएको भन्दै चिकित्सकले उपकुलपति गिरीको कार्यशैलीको विरोध जनाएका छन्। तत्काल काठमाडौं विश्वविद्यालयले बीएन्डसीलाई सम्बन्धन दिने र त्यसको प्राज्ञिक गतिविधि र परीक्षा निरीक्षण प्रतिवेदन प्रतिष्ठानले तयार गर्ने समझदारी भएको बताइएको छ। प्रतिष्ठानको मेडिकल तथा डेन्टल फ्याकल्टी कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेलको नेतृत्वमा चिकित्सकले आन्दोलन सुरु गरेका हुन्। चिकित्सक र कर्मचारीले उपकुलपति गिरीको कार्यकक्ष अगाडि धर्ना दिएका छन्।
गोप्य सहमति खारेज नगरिए आन्दोलन सशक्त बनाउने चिकित्सकहरूले चेतवनी दिएका छन्। सरकारले बीएन्डसीलाई सम्बन्धन दिएर प्रतिष्ठानलाई समेत धराशायी बनाउन खोजेको पोखरेलको आरोप छ। समाजका महासचिव सूर्यप्रसाद रिमालले उपकुलपति गिरीले मोरङको सुन्दरहरैंचामा रहेको प्रतिष्ठानको जग्गासमेत अवैध तरिकाले प्रदेश सरकारलाई दिएको दाबी गरे।
प्रतिक्रिया दिनुहोस !