प्रदेशस्तरीय भलिबलको उपाधि धनुषालाई
मलंगवा : सर्लाहीको हरिपुर ७ चिताईनमा जारी तेस्रो प्रदेश नं. २ स्तरीय भलिबल प्रतियोगिताको उपाधि धनुषाले चुमेको छ।
हरिपुर नगरपालिका र लक्ष्मीनाथ महादेव विकास समितिले संयुक्तरुपमा महाशिवरात्रिको अवसरमा आयोजना गरेको प्रतियोगितामा धनुषाले नवलपुर जिल्लालाई हराउँदै उपाधि जितेका छन्। मंगलवार भएको फाइनल खेलमा धनुषाले नवलपुरलाई ३-० को सिधा सेटमा पराजित गरेको छ।
पहिलो सेट २५-२२, दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-२३ ले जितेको खेलकुद समितिका सदस्य चेतनारायण धामीले जानकारी दिए। जितसँगै धनुषाले नगद ५० हजारसहित विजेताको कप हात पारेको छ।
उपविजेता बनेका नवलपुरले ३० हजारमा चित बुझाएका छन्। प्रतियोगितामा सर्लाहीको तर्फबाट राम्रो खेल्ने खेलाडीलाई मनोज आचार्य फाउन्डेशनको तर्फबाट ३० हजार समेत प्रदान गरिएको छ।
प्रतियोगिताका म्यान अफ द सिरिज धनुषाको सरोज हायु, बेष्ट लिफ्टर धनुषाको बिनय यादव, बेष्ट ब्लकर धनुषाको रोशन यादव, बेष्ट लिबेरो नवलपुरका रामनिवास चौधरी, बेष्ट स्पाइकर नवलपुरका महेश चौधरी र सर्लाहीका सर्वोत्कृष्ट खेलाडी लक्ष्मीनाथ युवा क्लवका धिरेन्द्र चौधरी भएका छन्।
धिरेन्द्रलाई प्रशिक्षण लिनका लागि प्रत्येक महिना ५ हजारको दरले मनोज आचार्य फाउन्डेशनले ३० हजार प्रदान गरिएको छ।
धनुषाले नेपाल प्रदेश प्रहरीलाई र नवलपुरले आयोजक लक्ष्मीनाथ युवा क्लबलाई हराएर फाइनलको यात्रा तय गरेको थियो।
चैत्र २८ गतेदेखि सुरु भएको प्रतियोगितामा सर्लाहीका ५ टिम सहित १२ टिमको सहभागित रहेको थियो। सप्तरी, धनुषा, महोत्तरीका दई, रौतहट, प्रदेश नेपाल प्रहरी र सर्लाहीको ५ ओटा टिमको सहभागिता रहेको थियो।
बिगत १३ वर्षदेखि महाशिवरात्रिको अवसरमा चिताईनमा भलिबल प्रतियोगिता हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !