घाँस काट्न जाँदा बलात्कार प्रयास
राजविराज : घाँस काट्न जाँदा बलात्कार गरेको उजुरीलाई बलात्कार प्रयासमा परिणत गर्दै बुधबार अदालतले सप्तरीका एक आरोपितलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलाशले सुरुङ्गा नगरपालिका–२ का ४३ वर्षीय चलितर भनिने चलिम सदालाई कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
घाँस काट्न सुरुङ्गा नगरपालिका–१ स्थित चुरे जंगल गएका बेला आरोपितले २०७५ वैशाख २३ गते साँझ बलात्कार गरेको भन्दै ३५ वर्षीया महिलाले इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा उजुरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय, कडरबोनाले उजुरी दिएकै दिन आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित ०७५ जेठ १७ गतेदेखि राजविराज कारागारमा थुनामा छन् ।
पीडितले बलात्कारको उजुरी दर्ता गरे पनि अदालतले बलात्कार प्रयास भएको ठहर गर्दै तीन वर्ष कैद सजायको फैसला गरेको हो ।
प्रतिक्रिया दिनुहोस !