कोभिड अस्पताल सञ्चालनको तयारीमा
![कोभिड अस्पताल सञ्चालनको तयारीमा](https://annapurnapost.prixacdn.net/media/albums/cov-as-100_20210324104717_OpfSVPRhtk.jpg)
विराटनगर : विराटनगर १० स्थित प्रदेश सरकारको कोभिड १९ अस्पताल पुन: सञ्चालनमा आउने भएको छ। विराटनगरसहित आसपासको क्षेत्रमा कोरोनाको संक्रमण देखिन थालेपछि सो अस्पताल पुन: सञ्चालनको तयारीमा छ।
केही महिनादेखि बिरामीबिहीन बनेको सो अस्पतालमा कार्यरत्त करारका कर्मचारीको करार अवधि नथपी प्रदेश सरकारले हटाएको थियो । करारका कर्मचारी हटाएको केहि दिनपछि प्रदेश १ को राजधानी विराटनगरसहित आसपासमा कोरोना संक्रमण भेटिन थालेपछि सञ्चालनको लागि मन्त्रालयले छलफल सुरु गरेको हो ।
प्रदेश १ को समाजिक विकास मन्त्रालयका उपसचिव एवम प्रशासन महाशाखा प्रमुख अमिका प्रसाद चौलागाईंले दोस्रो चरणमा कोरोनाको संक्रमण देखिएपछि मन्त्रालयले सञ्चालनको तयारी गरेको जानकारी दिए ।
उनले अस्पताल सञ्चालनमा रहेका बेला बिरामी नभएका कारण प्रदेश सरकारले नियुक्त गरेका करारका कर्मचारीको म्याद नथपेको जानकारी दिए । उनले भने, 'संक्रमण देखिएपछि मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको हो ।'
आवश्यक जनशक्ति परिपूति गर्ने विषयमा मन्त्रालय छलफल चलाएको उनले बताए । अस्पतालमा कार्यरत चिकित्सक , नर्स र परामेडिकललाई करार अवधि नथप्दै फागुन २८ गते हटाएको थियो ।
अस्पतालमा चिकित्सकतर्फ मेडिकल अफिसर ८ जना , स्टाफ नर्स ८ जना , एचए ८ जना , स्वीपर ३ , ईलेक्ट्रिकल र पल्मबर ४ जना , वायोमिकल इन्जिनियर १जना , कास ९ सहित १ जना गार्ड रहेका छन् ।
उनीहरुलाई प्रदेश सरकारले नियमित तलब खुवाइरहेको थियो। चिकित्सक , नर्स र परामेडिकलको अवधि सकिए पनि स्वीपर र कार्यालय सहयोगी करार अवधि चैत्र २८ सम्म रहेको थियो ।
प्रदेश १ मा कारोनाका बिरामी दिनादिन बढ्न थालेपछि प्रदेश सरकारले सञ्चालन गरेको सो अस्पतालमा अहिले बिरामीविहीन छ । अस्पतालका निमित संयोजक एपोलो कुमार भगतले मङलाबार मन्त्रालयका सचिवसहित टोली अस्पतालमा आएर जनशक्तिको विषयमा समेत छलफल गरेको सुनाए । उनले बिरामीबिहीन हुँदा हटाएको कर्मचारीलाई नै बोलाउने कि फेरि प्रक्रिया पूरा गरेर भर्ना गर्ने विषयमा छलफल भएको बताए ।
उनका अनुसार तत्काल सञ्चालन गर्ने विषयमा मुख्यमन्त्रीसँग समन्वयन गरेर अघि बढ्ने छलफल भएको हो।
ठूलो लगानीमा सञ्चालन भएको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले ४१ जना विभिन्न तहका कर्मचारी नियुक्त गरेको थियो। गएको चैत्र २१ गते देखि सञ्चालनमा आएको सो अस्पतालमा वैशाख ५ गते देखि बिरामी भर्ना भएका थिए । नेशनल ट्रडिकको भवनमा प्रदेश सरकारले सुरुमा ८० वेडको कोभिड १९ अस्पताल सञ्चालन गरेको थियो ।
आइसीयु ८ वेड , एच डि २२ बेड र रिकोभरी १२ वेड सहितको सो अस्पतालमा कोभिड महामारीको बेला दैनिक ४० देखि ६० जना कोरोना पोजेटिभ बिरामी आउने गरेका थिए ।
अस्पतालका निमित्त संयोजक एपोलो कुमार भगतलगायतका चिकित्सक एवमं प्राविधिक अहिले पनि अस्पतालमा दैनिक रुपमा आउने गरेको बताए । सरकारको अर्को सूचना नआएसम्म नियमित रुपमा अस्पतालमा आएर बस्ने गरेको उनीहरुले बताएका छन् ।
समाजिक विकास मन्त्रालयले भारतमा फेरि कोरोना महामारी बढ्न थालेको र विराटनगरमा समेत संक्रमण देखिएकाले सञ्चालमा मन्त्रलय केन्द्रीत भएका छन् । यसअघि पनि प्रदेश सरकारले अस्पतालमा कार्यरत जिल्ला अस्पतालका कर्मचारी पुरानै स्थानमा फर्कोएको थियो। प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजीक्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल सञ्चालनमा आएको हो । सो अस्पतालबाट ३ सय महिलासहित ८ सय २९ जना भर्ना भएका थिए। जसमध्ये ३७ पुरुषसहित ५६ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)