शुक्रलाई गल्फ उपाधि
धरान : प्रथम धरान खुला गल्फ प्रतियोगिताको उपाधि स्थानीय गल्फर शुक्रबहादुर राईले जितेका छन्। धरान–१८ स्थित निर्वाणा कन्ट्री क्लबको पार ७० को गल्फ कोर्षमा शुक्रबार सम्पन्न फाइनलमा शुक्रबहादुरले नेपालका नम्बर एक गल्फर भुवन नगरकोटीलाई सात स्कोरले पछि पार्दै पहिलो उपाधि जितेका हुन्।
पहिलो उपाधिमाथि कब्जा जमाएसँगै शुक्रको व्यावसायिक गल्फमा उदय पनि भएको छ। शुक्रले नगद ९० हजार रुपैयाँ प्राप्त गरे। शुक्रबहादुरले तीन दिनको खेलमा कुल चार अन्डर दुई सय ६ स्कोर खेल्दै उपाधि हात पारेका हुन्। पहिलो दिन इभनपार ७० खेलेका शुक्रले दोस्रो दिन तीन अन्डर ६७ स्कोर खेले।
शुक्रबार भएको फाइनलमा उनले एक अन्डर ६९ स्कोर खेलेका थिए। फाइनलमा फ्रन्ट नाइनमा एक अन्डर ३५ स्कोर खेलेका शुक्रबहादुरले ब्याक नाइनमा इभनपार ३४ खेलेका थिए। देशभर सञ्चालन भएका ६ वटा व्यावसायिक प्रतियोगितामा सहभागिता जनाएका शुक्रबहादुरको यो पहिलो उपाधि हो। उनले पहिलो उपाधि प्राप्त गरेपछि व्यावसायिक गल्फ खेल्न हौसला बढेको बताए। प्रतियोगितामा तीन ओभर दुई सय १३ स्कोर खेलेका नम्बर वान गल्फर भुवन नगरकोटी, बलबहादुर राई (मणि) र कृष्णमान राजबाहक संयुक्त रुपमा दोस्रो भए। पहिलो दिन तीन अन्डर ६७ स्कोर खेलेका भुवनले दोस्रो दिन एक अन्डर ७९ र तेस्रो दिन सात ओभर ७७ स्कोर खेले। बलबहादुरले पहिलो दिन इभनपार ७०, दोस्रो दिन दुई ओभर ७२ र तेस्रो दिन एक ओभर ७१ स्कोर खेले।
कृष्णमानले पहिलो दिन दुई ओभर ७२, दोस्रो दिन चार ओभर ७४ र तेस्रो दिन तीन अन्डर ६७ खेले। तीनै जनाले जनही ४३ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पाए। यस्तै निरज तामाङ र रामे मगरले कुल चार ओभर दुई सय १४ स्कोर खेलेर संयुक्त पाँचौ स्थान प्राप्त गरे।
प्रतिक्रिया दिनुहोस !