डढेलोले वन सखाप : बस्ती असुरक्षित

डढेलोले वन सखाप : बस्ती असुरक्षित

महोत्तरी : चैत मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ। पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण) का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई-तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो। डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको हो। बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा सधैँजसो देखिने डढेलोले वन क्षेत्रका रुख, बुटा खरानीमा परिणत भएका छन्। डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने र वयस्क रुख आगो लागेर सुक्दै गएपछि वनक्षेत्र उजाड हुने क्रम बढेको हो।

अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ। वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन्।

यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको बर्दिवास–५ गणन्ताका सामाजिक कार्यकर्ता कहरमान स्याङ्वाले बताए। हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैतमध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन्।

जिल्लाको सघन वन क्षेत्रमा चार ठाउँ वन सुरक्षा पोष्ट र बाँके मरहा साझेदारी वनको कार्यालय नै भए पनि डढेलो नियन्त्रणमा भने उदासिनता देखिएको सर्वसाधारणको गुनासो छ। फागुन मध्यदेखि नै वनमा डढेलो देखिन थाल्छ। घाँसे, दाउरे र गोठालाले डढेलो लगाउने गरेका वनसम्वद्ध सरकारी सेवाबाट अवकास लिएका हाल बर्दिबास–१ कै बासिन्दा चन्देश्वर यादव बताउँछन्। फागुन-चैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने बिश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेको सहायक वन अधिकृतको सेवाबाट अवकास लिएका यादवको अनुभव छ।

पूर्वपश्चिम राजमार्गको भव्सी नदीदेखि पश्चिममा बाँके नदीसम्मको १६ किलोमिटर दूरीको दुवैतिर सघन वन क्षेत्र छ। वनसँगै जोडिएका बर्दिवासका हाथिलेट फार्लाइन, लटियानी, भव्सी, माईस्थान, वरडाँडा, चेरु, गणन्ता, ढुङ्ग्रे, सोनापेटी, खयरमारासहित दर्जनभन्दा बढी बस्ती छन्। त्यसैगरी गौशाला नगरपालिकाका पनि ढल्केवर, बेलगाछी, भण्टाबारी, लक्ष्मीनियाँ, कालीपुरसहितका बस्ती पनि वनसँगै जोडिएका हुँदा डढेलोले गर्दा यी बस्ती आगलागीको उच्च जोखिममा रहेका गौशाला–१० बटौवाका २५ वर्षीय युवा विवेककुमार कुशवाहाको चिन्ता छ। 

जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ। वनक्षेत्रमा बढेको अनधिकृत अतिक्रमण र डढेलोले गर्दा अहिले मुस्किलले १६ हजार हेक्टरको सेरोफेरोमा मात्र वन बाँकी रहेको कार्यालयका अधिकृत नै बताउँछन्। 

पछिल्ला केही वर्षयता सुरक्षा तरलताले वन क्षेत्र रुखबिहीन बन्दै गएका वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउँछन्। वनका रुख मानव प्रयोगका भएका र यी बुढा भएर धोद्रिएपछि उपयोगविहीन हुने यादवको भनाइ छ। त्यसैले पाका रुख काटने र नयाँ रुख रोप्ने वैज्ञानिक प्रणाली नबसालेसम्म साँचो अर्थमा रुखको उपयोग र वन संरक्षण हुन नसक्ने यादवको ठहर छ। 

यसैबीच प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले वन क्षेत्रको नियमित गस्ती र कारवाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा तथा जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली परिचालन गरिने जानकारी दिनुभयो। कुनै पनि निहुँमा वन क्षेत्र सखाप पार्ने कामले छुट नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.