दिनदिनै खस्किँदै वायुको गुणस्तर

दिनदिनै खस्किँदै वायुको गुणस्तर

काठमाडौं : मुलुकका धेरै स्थानमा डढेलो लागेपछि फैलिएको धुवाँले काठमाडौं उपत्यकासहित धेरै भेगमा वायुको गुणस्तर खस्किएको छ। वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) हरेक दिन बढिरहेको छ।

शुक्रबार ४ सय ७० र शनिबार साँझसम्म २ सय ९ स्थानमा डढेलो लागेपछि त्यसको असरले वायु गुणस्तर मानव स्वास्थ्यका दृष्टिले हानिकारक तहमा पुगेको छ। सबैभन्दा बढी प्रदूषणको मात्रा बाराको सिमरा र ललितपुरको भैंसेपाटीमा देखिएको छ। शनिबार बिहान ती स्थानको एक्यूआई क्रमशः ३८६.०३ र ३५५.८९ देखिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ।

‘शुक्रबारको तुलनामा शनिबार धेरै ठाउँमा डढेलो घटेको विवरण प्राप्त भएको छ। डढेलो घटे पनि प्रदूषणको मात्रा भने घटेको देखिँदैन’, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘प्रदूषण बढ्नुमा डढेलो मुख्य कारक रहेको हाम्रो ठहर छ।’

बिहीबार सिमराको २४ घण्टाको एक्यूआई ३४८, भैंसेपाटीमा २३६, भक्तपुरमा २०७, कीर्तिपुरमा १९९ र रत्नपार्कमा १८३ थियो। बिहीबारको तुलनामा शुक्रबार सिमरासहित अधिकांश भेगमा एक्यूआई बढेको छ। सिमरामा ३६३, भैंसेपाटीमा ३१४, भक्तपुरमा ३११, कीतिपुरमा २९०, रत्नपार्कमा २०० र पोखरामा २०० मापन भएको वातावरण विभागको तथ्यांक छ। जमिन र वायुमण्डलबीचको वायुलाई छेक्ने तह (इन्भर्जन लेयर)ले अधिकांश भेगमा तुवाँलो बढेपछि मध्य हिउँदझैं ‘भिजिबिलिटी’ कमजोर भएको छ।

जमिनको सतहबाट ३–४ सय मिटरमाथि विकसित हुने ‘इन्भर्जन लेयर’ले जमिन र वायुमण्डलको वायु स्थिर रहने विज्ञ बताउँछन्। धुलो, धुवाँ र प्रदूषणले ढाकिएको वायु धकेल्ने पश्चिमी मौसमी प्रणाली विकास नहुँदा तुँवालो बढेको विज्ञहरूको ठहर छ। वायुमण्डलमा धुलो, धुवाँ र बालुवा मिश्रित ‘हेज’को मात्रा धेरै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘सामान्यतः जमिनभन्दा माथिल्लो भेगको तापक्रम घट्दो क्रममा हुन्छ तर अहिले वायुमण्डलको तापक्रम बढेको पाइएको छ।’ पश्चिमी वायुको प्रभाव कमजोर रहेकाले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको उनले प्रस्ट्याइन्।

कँडेलले भनिन्, ‘तत्कालै वर्षा गराउने गरी पश्चिमी वायु भित्रिने सम्भावना देखिएको छैन।’ सोमबार पश्चिमी वायु केही सक्रिय हुने भए पनि त्यसले अहिलेको प्रदूषित वायु धकेल्छ भनेर सुनिश्चित गर्न नसकिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.