बेसहारा बने बालबालिका
पर्वत : अभिभावकले छाडेपछि पर्वतको एक दलित बस्तीका पाँच बालबालिका सहाराविहीन बनेका छन्। पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा पाँच जना अभिभावकविहीन बालबालिका बिचल्लीमा परेका हुन्। गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालक र एक बालिका आफन्तविहीन बनेका हुन्।
कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याए। नौ महिना कोखमा पालेर संसार देखाउने आमाले नै साथ छोडेपछि उनले बुवाको समेत माया पाउन सकिनन्।
अहिले मामाघरमा बसेर विद्यालयमा जाने गरेकी छन्। आशाकै विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ। आमा र बुवाले दोस्रो विवाह गर्दा उनी पनि बेसहारा बनिन्। जलजला–२ रातढुंगाका विवश परियार कक्षा ४ मा पढ्छन्। विवशका बुवाको मानसिक सन्तुलन गुमेपछि आमाले दोस्रो विवाह गरिन्।
बेनी नगरपालिका–५ पुलाचौरकी शनिशा परियारको बुवा सिकिस्त बिरामी छन्। बुवा लगातार बिरामी हुन थालेपछि आमाले दिनुपर्ने साथ र सहयोगको विकल्पमा दोस्रो विवाह रोजिन्। अहिले घरमा बुवा बिरामी छन्, खाने—बस्ने र पढ्ने वातावरण नभएपछि ठूली आमाको घरमा बसेर उनी सोही ठाउँको विद्यालयमा जाने गरेकी छन्।
विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्तीक्षेत्रीले अभिभावकविहीन पाँच बालबालिकाको बिजोग रहेको बताए। ‘उनीहरूलाई पढ्न वर्षभरि आवश्यक पर्ने सामग्रीकै अभाव छ, प्रअ घर्तीक्षेत्रीले भने, ‘सबै आफन्तको घरमा बसेका छन्।’ वडाध्यक्ष गोविन्द खत्रीले दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरेको बताए। गरीब परिवारका बालबालिकालाई अभिभावकले छोडेर गए पछि शिक्षादीक्षामा ठूलो संकट परेको छ। शैक्षिक सामग्रीदेखि ओढ्ने–ओछ्याउने लुगा र अँगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्था छ। भोकभोकै बस्न बाध्य विद्यार्थीलाई सहयोग जुटाउने अभियान सुरु भएको स्थानीय युवा नवीन जीसीले बताए।
बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा सहयोगको जरुरी भएको स्थानीय रविन जीसीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !