उत्सवमय मिथिला : जताततै रङ अबिरको पर्व होलीको रौनक

उत्सवमय मिथिला : जताततै रङ अबिरको पर्व होलीको रौनक

जनकपुर : स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त। सबैका हातमा विभिन्न रङका अबिरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन। घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका। घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त। आज सोमबार प्रदेश नं २ को मिथिला क्षेत्र रङ र अबिरको खेलसँगै मिष्ठान्न परिकारको स्वादमा उत्सवमय छ।

‘बुरा नमानो होली है’ रङ, अबिर खेल्दा उमेर, यही क्रम नाघिएछ भने माफी माग्दै भनिने यति हो। पर्वमा रङ, अबिर खेल्दा शिष्टताको ख्याल गर्ने मैथिल संस्कृति छ। घरका  होउन् वा आफ्नो समाजका, श्रेष्ठजनले अबिरको टीका लगाइदिएर इर्ष्या, अहङ्कार त्यागेर सबैप्रति सम्मान र आदर दर्शाउन अर्ति दिन्छन्। सानाले बडालाई आदर गर्दै अबिरले पाउ पुजेर अबिर ग्रहण गर्न आग्रह गर्छन्। समाजमा, नाता सम्बन्धमा श्रेष्ठजनप्रति दर्शाउने शिष्टताको स्थापित परम्परा छ।

यो पर्वमा रङ, अबिर खेल्नुसँग नाता, सम्बन्धको सरोकार देखिन्छ। मिथिलामा सालासालीरभिनाजु, सरोजनी (जेठान, सालाका पत्नी)सँग आमाजूदाजु र नन्देभाइ एवं देवररभाउजूबीच छिल्लिएरै रङ, अबिर खेल्ने चलन छ। यसबाहेक सम्धीलाई सम्धिनीले लुकेर रङले लच्छ्रप्पै बनाएको देख्दा हाँस्नेहरुको रमाइलो झनै रोमाञ्चक र मनोरञ्जक बन्ने गर्छ। समान उमेरका मोस्तमहिम (इष्टमित्र) पनि मन खोलेर होली खेल्छन्। यी सम्बन्धमा घोलिएको रङ छ्यापाछ्याप गर्नुले सांस्कृतिक मान्यता पाए पनि श्रेष्ठजनलाई यसरी रङ छ्याप्न नहुने मान्यता छ। श्रेष्ठजनसँग अदवसाथ झुक्दै अबिर अर्पण गरेर आशीर्वाद लिनुपर्ने परम्परा रहेको पाका मैथिल बताउँछन्।

मैथिल संस्कृतिमा होली पर्वका दिन भाङ खाएर लठ्ठिनुले सामाजिक स्वीकृति नै पाएको छ। भाङको नशामा लठ्ठिएर होली गीत गाउँदै आ–आफ्ना वयमा रङ, अबिर खेल्दै छिल्लिएर हिँडेका युवायुवतीको छुट्टाछुट्टै समूहलाई देख्दा जोसुकै रोमाञ्चित हुने गर्छन्। ‘बुरा नमानो होली है’ पर्वमा सुनिने साझा स्वर हो।

महोत्तरीसहितका मिथिला क्षेत्रमा आज होली (फगुवा, फागु) पर्वको रौनक उत्कर्षमा छ। फागुन शुक्ल पूर्णिमाका भोलिपल्ट होली पर्व मनाउने मैथिल परम्पराअनुसार आज मिथिला होलीमय बनेको हो। पर्वको मिथिला माध्यमिकी परिक्रमासँग तादात्म्यता जोडिन्छ। मिथिला माध्यमिकी परिक्रमा १४ दिनको यात्रा सकी फर्केर जनकपुरधाम आएपछि पूर्णिमाका दिन जनकपुर अन्तरगृह परिक्रमा पूरा गरेको भोलिपल्ट होली पर्व मनाउने मैथिल परम्परा छ। होली जनजन परिचालित हुने मिथिलाको उत्सव र उमङ्गको पर्व हो। आफ्नो सावगासअनुसार सबै मैथिल यो पर्व मन फुकाएर मनाउँछन्।

राक्षसी (तामसी) प्रवृतिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा मनाइने होली पर्व मित्रता, भाइचारा र आपसी सद्भाव बढाउने  रिसराग बिर्साउने अवसर मानिन्छ। रङ, अबिरको प्रयोगले यो पर्व उमङ्ग र उल्लासमय बनेको मैथिल संस्कृति र परम्पराका ज्ञाता महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ)का नेपाली भाषा साहित्यका उपप्राध्यापक धु्रव राय बताउँछन्। पर्वका दिन आज मिथिला क्षेत्रका प्रत्येकजसो गाउँनगर, बस्तीमा होली गीत गुञ्जिएका छन्। जताततै रङ अबिरको माहोल छ। पर्वले मानिसमात्र होइन, सडक, बाटा, घरआँगन सबै रङ, अबिरले राताम्य भएका छन्।

यस पर्वको परम्परासँग कतिपय पौराणिक प्रसङ्ग गाँसिएका छन्। अघि त्रेतायुगमा विवाहपश्चात फागुन शुक्लपक्षमा मिथिलाका विभिन्न क्षेत्रमा बिहार गर्दै कञ्चनवन पुगेर मिथिलाबिहारी (श्रीराम) र जनक नन्दिनी किशोरीजी (सीताजी) ले फागुन शुक्ल सप्तमीका दिन एकापसमा रङ अबिर खेलेर वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरमा स्वजनसहित फागु खेलेका सम्झनामा होली पर्व सुरु भएको मानिने एउटा मत रहेको छ। 

त्यस्तै होली पर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न विभिन्न जालझेल र षड्यन्त्र गरेका कथासँग जोडिएका छन्। हिरण्यकशिपुले आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर अग्निकुण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवान्को नाम जप्तै शान्त मुद्रामा रहेका विश्वाससँगै जोडिएको कथा पर्व परम्परासँग जोडिएको छ। 

यो प्रसङ्ग श्रीमद् भागवत महापुराणमा पनि वर्णित छ। यसै कथा प्रसङ्गबाट नै राक्षसी प्रवृत्ति नास भएको खुशीयालीमा यस पर्व  परम्परा सुरु भएको मिथिला परम्पराका ज्ञाता महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा पूर्वप्रशासक ८० वर्षीय महेश्वर रायको भनाइ छ। यसै सन्दर्भलाई मिथिलाको हकमा पर्वप्रति अपनत्व बढाउन मिथिलावासीले मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यस पर्वको ओज बढाएका मैथिल बुद्धिजीवी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.