भक्तपुरमा खुकुरी प्रहार गरी साथीको हत्या

भक्तपुरमा खुकुरी प्रहार गरी साथीको हत्या

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित गाई फार्ममा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ। ती युवकको टाउको, घाटीलगायत विभिन्न ठाउँमा खुकुरी प्रहार गरिएको थियो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोलुखुम्बु घर भई हाल मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी २० वर्षीय ईश्वर राईको बिहीबार हत्या गरिएको हो।

राईको हत्या आरोपमा भक्तपुर प्रहरीले काठमाडौंका कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटार स्थायी घर भई हाल सर्यूविनायक नपा ८ सिपाडोलस्थित गाईफार्ममा बस्दै आएका २० वर्षीय आशिष खुलाललाई पक्राउ गरिएको छ।

मृतक राई र प्रहरीले नियन्त्रणमा लिएका खुलाल साथी–साथी रहेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनका अनुसार राई साथी खुलाललाई भेट्न भनी अरु दुई साथी लिएर बिहीबार सिपाडोलस्थित गाई फार्ममा आएका थिए। उनको साथमा महोत्तरी घर भई हाल मनोहरा सुकम्बासी बस्तीमै बस्ने युनिस योञ्जन र सुनिल बल गाईफार्म पुगेको प्रहरीले जनाएको छ।

आशिष खुलालका बाबु गोकुल बहादुरले स्थानीय कविराज बस्नेतको जग्गा भाडामा लिएर जस्ताको टहरा बनाई गाईफार्म सञ्चालन गर्दै आएका थिए। 

आमाबुबासँगै गाईफार्ममा बस्दै आएका आशिषलाई भेटेपछि चारजना युवाहरु गाईफार्मको एक कोठाभित्र पसेका थिए। भित्रबाट चुकुल लगाएर कुराकानी गर्ने क्रममा आपसी विवादबीच आशिषले ईश्वरमाथि खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

ईश्वरमाथि खुकुरी प्रहार भएपछि युनिस र सुनिल झ्यालबाट भाग्न सफल भएका थिए। उनीहरु दुवैजना सम्पर्कमा नआएको उनको भनाइ थियो। उनीहरु सम्पर्कमा नआएकाले उनीहरुसमेत घाइते भए नभएको खुल्न बाँकी रहेको बुझिएको छ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार साथीलाई खुकुरी प्रहारपछि भाग्दै गरेका आशिषलाई प्रहरीले चारैतिरबाट घेरा हाली तत्कालै नियन्त्रणमा लिएको थियो।

‘गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एउटा युवकको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको छ भन्ने सूचना प्राप्त हुनासाथ नजिक गस्तीमा रहेको प्रहरी टोली र महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी नायब उपरीक्षक राजेश थापाको टोलीले घेराबन्दी गरी अभियुक्तलाई तत्कालै नियन्त्रणमा लिन सफल भएका हौं’, उनले भने।

लगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापासमेत घटनास्थल पुगेर अनुसन्धान गरेकी थिइन्। अनुसन्धानको क्रममा जस्ताको टहरामा भित्रबाट चुकुल लगाएको हुँदा चुकुल फुटाई हेर्दा झ्याल खुला रहेको र भूईमा धारिलो हतियारले घाँटी, टाउकोलगायतका स्थानमा काटेको अवस्थामा राईको लास फेला परेको थियो।

‘गाईफार्मको टहराभित्रबाट चुकुल लगाएर चारैजना बसी कुराकानीको क्रममा वादविवाद भई झैझगडा हुँदा आशिष खुलालले कोठामा भएको खुकुरीले ईश्वर राईलाई प्रहार गर्न थालेपछि युनिस र सुनिल झ्यालबाट भाग्न सफल भएको देखिन्छ’, प्रहरी नायब उपरीक्षक गिरीले थपे, ‘ईश्वर राईको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।’

प्रहरीका अनुसार लागूपदार्थको विषयमा विवाद हुँदा आशिष र ईश्वरबीच झैझगडा भएको थियो। प्रहरीले उनीहरुलाई लागूपदार्थसम्बन्धी मुद्दामा यसअघि पनि नियन्त्रणमा लिने र छाड्ने गर्दै आएको बुझिएको छ।

प्रहरीले घटनास्थलमा रगत लागेको खुकुरी फेला परेको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.