अप्रत्याशित संवाद
![अप्रत्याशित संवाद](https://annapurnapost.prixacdn.net/media/albums/olinepal_20210421145553_xWgAK2iKb8.jpg)
काठमाडौं : बुधबार साँझ एउटा तस्बिर डिजिटल दुनियाँमा छ्यापछ्याप्ती भयो। पहिलाको सामान्य त्यो दृश्य पछिल्लो कालखण्डका लागि ‘दुर्लभ’ थियो। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आमने–सामने थिए। मास्क लगाएका दुवैले आँखा जुधाएर संवाद गरिरहेका थिए (हेर्नुहोस् सँगैको तस्बिर)।
केही घण्टा पहिलासम्म यो परिस्थितिको परिकल्पनासम्म कसैले गरेका थिएनन्। देशको राजनीति ओली–नेपालको तिक्तताको सेरोफेरो घुमिरहेको थियो। केही दिनअघि मात्र कर्णाली प्रदेशमा नेपाल पक्षीय ४ सांसदले ह्विप उल्लंघन गरेका थिए। जसका कारण माओवादी नेतृत्वको प्रदेश सरकार ढाल्ने एमाले रणनीति असफल बनेको थियो।
‘फ्लोर क्रस’ को आत्मघाती रोग एमालेमा देशव्यापी फैलिने सन्त्रास थियो। नेपालको नेतृत्वमा देशैभरि समानान्तर संरचना बनिरहेका थिए। त्यसमा आक्रामक बनेका अध्यक्ष ओलीले अघिल्लो दिन मंगलबार मात्र नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ३२ सांसदलाई ‘किन नहटाउने ?’ भन्ने स्पष्टीकरण सोधेका थिए।
दुई ध्रुव बनेका तिनै दुई नेता बुधबार अचान संवादमा बसेर धेरैलाई चकित तुल्याए। र, ‘राजनीतिमा असम्भव केही हुन्न’ भन्नेलाई चरितार्थ गराए।
अदालतको आदेशले नेकपा फुट्यो। पूर्ववत अवस्थामा फर्किएका दुई दलमध्ये ठूलो एमाले फुटको संघारमा पुग्यो। यसले कार्यकर्तामा निराशा छाएको थियो। जब ओली र नेपाल संवादमा जुटेको तस्बिर बाहिरियो, क्षणभरमै ‘भाइरल’ भयो। एमाले कार्यकर्ता (दुवै पक्षका) सामाजिक सञ्जालमा उत्साही देखिए। ‘यस प्रकारको तस्बिर आज मात्रै होइन, हरेक दिन हेर्न पाइयोस्’ आशयका कामना गरे।
अनुभूति साटासाट
ओली र नेपालबीच मेरियट होटलमा दुई घण्टा वार्तामा ‘अनुभूति साटसाट’ भएको स्रोतले बतायो। ‘दुवै नेताबीच एक वर्ष यताका अनुभूति राख्ने काम भयो’, प्रधानमन्त्री निकट स्रोतले भन्यो।
वार्ताका क्रममा नेता नेपालले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राखेका थिए। प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘विशेष परिस्थितिमा बाधा अड्काउ फुकाएर केही निर्णय गरिएको हो। माओवादीबाट आएका २३ जना साथीलाई स्वागत गर्नु जायज थियो। त्यसैका लागि मिलाइएको हो।’
स्रोतका अनुसार दुवै नेताबीच खुला र सौहार्दपूर्ण कुराकानी भयो। ‘टिकाटिप्प्णीभन्दा समीक्षा बढी भयो’, स्रोतले भन्यो। वार्तापछि दुवै नेता प्रफुल्ल मुद्रामा बाहिर निस्किएका थिए। विभाजनउन्मुख अवस्थामा भएको यो वार्ताले सकारात्मक सन्देश दिएको छ।
वार्ताको सुरुवातमा केही बेर पार्टी नेता तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए। ‘वान–टु–वान’ वार्ताको वातावरण बनाइदिएर उनी निस्किए। वार्ताको व्यवस्थापन भने प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले गरेका थिए।
स्रोतका अनुसार पार्टी एकता जोगाउन वार्ताका क्रममा दुवै नेताले चिन्ता जाहेर गरेका थिए। बाहिरिने क्रममा दुवै नेताले होटल पुगेका सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिन चाहेनन्। प्रधानमन्त्रीका सल्लाहकार दुगडले ‘दुवै नेता प्रफुल्ल देखिएकाले छलफल सकारात्मक भएको’ अनुमान गरेका छन्।
‘दुई ठूला नेता मिलेमा देशका लागि राम्रो हुन्छ,’ उनले भने, ‘दुवै जना खुसी मुद्रामा निस्किएको तपाईंले पनि हेर्नुभयो। संकेत राम्रै देखेको छु।’ नेपालले आफनो गुटका अन्य नेतासँग छलफलपछि मात्रै प्रतिक्रिया दिने मनस्थिति बनाएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई नेताबीच फेरि छलफल गर्ने सहमति भएको छ। ‘सम्भवतः बिहीबारै अर्को बसाइ हुनेछ’, उनले भने।
संवादको पृष्ठभूमि
प्रधानमन्त्री ओलीले बुधबार दिउँसो युवा नेता योगश भट्टराईलाई बालुवाटार बोलाए। दुईबीच करिब डेढ घण्टा कुराकानी भयो। भट्टराई पार्टी बचाउन प्रधानमन्त्री ओलीलाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे। त्यसअघि मंगलबार साँझ भट्टराई र ओली पक्षीय नेता पृथ्वी सुब्बा गुरुङबीच लामो कुराकानी भएको थियो। दुई नेताले एकताका लागि उपल्लो तहमा दबाब दिने अवधारणा बनाएका थिए।
भट्टराईसँगको भेटकै बीचमा प्रधानमन्त्रीले नेता नेपाललाई फोन गरेर भेट्न प्रस्ताव राखे। नेपालले बालुवाटार आउन इन्कार गरे। बरु आफ्नो निवास कोटेश्वर आउन आमन्त्रण गरे। अन्त्यमा होटलमा भेट्ने निचोड निस्किएको हो।
यअघि चैत २ गते एमाले मुख्यालय धुम्बाराहीमा ओली र नेपालबीच वार्ता भएको थियो। त्यसपछि विवाद झन् चर्किदै गएको थियो। पुष्पकमल दाहालको १९ बुदे आरोपपत्रमा साथ दिएदेखि नै ओली–नेपाल चिसोपन बढदै गएको थियो। पुस ५ को संसद विघटनपछि दुवै नेताबीच तिक्तता थपिदै गयो। दाहालसँग मिलेर नेपालले ओलीलाई पटक–पटक पार्टीको साधारण सदस्यबाट निकालेको घोषणा गरेका थिए। फागुन ११ मा संसद् पुनस्थापनापछि प्रचण्ड र नेपालले खुसीयाली साट्दै लड्डुसमेत खाए। यस्ता घटनाले कटुता झन् बढायो।
फागुन २३ एमाले नब्युतिएपछि पनि ओली नेपालबीच दुरी घटेन। एमाले मुख्यालय धुम्बाराहीमा जानुको साटो नेपाल पक्ष पेरिसडाँडा पुग्यो। पेरिसडाँडाबाट फर्किएर नेपाल पक्षले होटलमा बैठक ग¥यो। उता ओलीले फागुन २८ मा माओवादी केन्द्रबाट आएका २३ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाए। अध्यक्ष र महासचिवबाहेक नेताहरूलाई जिम्मेवारी विमुख गर्दै पार्टी कमिटीलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरे। त्यसलाई रद्द गर्न नेपाल पक्षले माग राख्दै आएको छ।
नेपाल पक्षका नेताले बुधबार मात्रै ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको १४ बुँदे मागसहितको रिटमा आफूहरूलाई गर्न लागिएको निष्कासनको कारवाही बदर गर्न भनिएको थियो। बुधबार रिट भने दर्ता भएन।
दाहाललाई टेलिफोन
यसैबीच प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बुधबार अपराह्न टेलिफोन गरका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार उनीसँग समसामयिक राजनीतिक विषयमा संक्षिप्त कुराकानी भयो। नेकपा विभाजनयता प्रधानमन्त्रीले दाहाललाई टेलिफोन गरेको यो तेस्रोपटक हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)