कोरोनाको दोस्रो लहर : कुश्माका विद्यालय वैशाख १७ सम्म बन्द
कुश्मा : कोभिड–१९ को नयाँ भेरियन्ट फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै कुश्मा नगरपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु एक साताका लागि बन्द गर्ने निर्णय भएको छ। कुश्मा नगरपालिकामा बिहीबार बसेको सरोकारवालाको बैठकले भोलि शुक्रबारदेखि लागू हुनेगरी १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
छिमेकी जिल्लामा कोरोना संक्रमण दर उच्चरुपमा बढेकाले सदरमुकाम तथा आसपासमा समेत फैलन सक्ने अवस्थालाई हेरेर नगरपालिका भित्रका नीजि तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु तिवारीले जानकारी दिए ।
एक सातासम्म विद्यालय बन्द गरेर वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्ने निर्णय भएको हो । १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएपनि १८ गते शनिबार परेकाले अब १९ गते मात्रै अवस्था हेरेर विद्यालय खुल्ने भएका छन् ।
यसअघि कुश्मा नगरपालिकाको कार्यालय एक साता बन्द गर्ने निर्णय भएको थियो । नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृतलाई एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि बिहीबारदेखि एक साताका लागि सबै सेवाहरु ठप्प पार्ने निर्णय भएको थियो ।
कार्यालयबाट सम्पादन हुने नियमित सेवाहरु योजना सम्झौता, योजना फरफारक, राजश्व संकलन भुक्तानीलगायतका कार्यहरु पूर्णरुपमा बन्द गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार अत्यावश्यक सेवाहरु जस्तै स्वास्थ्य, फोहोरमैला संकलन, दमकललगायतका सेवाहरु भने नियमित रुपमा संचालन हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस !