पत्रकार मेहताको निधन
राजविराज : सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको सोमबार ६७ वर्षको उमेरमा निधन भएको छ। द पब्लिक मेमो र सण्डे टाइम्स साप्ताहिकमा सम्वाददाता तथा पूर्व प्रभात दैनिकमा व्यवस्थापकका रुपमा कार्यरत राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताको घरमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
परिवारका सदस्यकाअनुसार आइतबार राति पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहताले बिहान नुहाएपछि नास्ता खाएर सुतेका थिए। सुतेकै अवस्थामा उनको निधन भएको हो।
पञ्चायतकालदेखि नै प्रेस मजदुर रहेका मेहता पत्रिकाको हकर, व्यवस्थापक हुँदै पछिल्लो दुई दशकदेखि विभिन्न पत्रिकामा सम्वाददाताका रुपमा कार्यरत थिए।
समकालीन पत्रकारहरु मेहताको निष्ठा र स्वाभिमानीलाई अद्वितीय मान्छन्। प्रेस चौतारी सप्तरीको गत चैत १४ गते गठित सप्तरी जिल्ला कार्यसमितिमा उनी सदस्य चयन भएका थिए। उनको मृत्युमा सोमबार नेपाल पत्रकार महासंघ सप्तरी र प्रेस चौतारी नेपाल सप्तरीले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।
उनको दाह संस्कार हिन्दु धर्मअनुसार गाउँमै सोमबार राति गरिएको छ। मेहताको श्रीमती, तीन छोरी र एक छोरा छन्।
प्रतिक्रिया दिनुहोस !