वालिङले बनायो अक्सिजनसहितको आइशोलेशन कक्ष
स्याङजा : नगरबासीमा नयाँ भेरियन्टको कोभिड संक्रमण देखिने क्रम बढेपछि वालिङ् नगरपालिकाले अक्सिजन र नेबुलाइजरसहित ६ शैयाका आइशोलेसन कक्ष सञ्चालनमा ल्याएको छ।
अक्सिजनको अभावमा संक्रमित तथा आश्रित परिवारले दु:ख र हैरानी भोग्न नपरोस् भन्दै आफ्नै नगरभित्र सहज रुपले उपचार गराउने उद्देश्यले अक्सिजनसहितको आइशोलेशन कक्ष तयार पारेको हो।
वालिङस्थित गह्रौ प्राथमिक अस्पतालमा निर्मित आइशोलेशन कक्षमा केही दिनभित्रमै २५ शैया पुर्याउने गरी काम भइरहेको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए।‘नागरिकको स्वास्थ्यभन्दा ठूलो अरु छैन, यसप्रति हामी सजग र सचेत छौं’ प्रमुख खाँणले भने, ‘सङ्क्रमितलाई आवश्यक उपचारसहित अक्सिजनको अभाव हुन नदिने हाम्रो उदेश्य हो।’
आइसोलेसनमा २४ सै घण्टा डाक्टर र स्वास्थ्यकर्मीले उपचार तथा परामर्श दिने गरी व्यवस्था गरिएको अस्पताल प्रमुख डा.सरोज थापाको भनाई छ। उनले थपे ‘अस्पतालले एन्टिजिन परीक्षण पनि गर्दै आएको छ।’ 
वालिङमा मात्र मंगलबार (हिजो) साँझसम्ममा संक्रमितको संख्या १ सय ७३ पुगेको छ। तीमध्ये ९ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। अहिले १ सय ६३ जना सक्रिय संक्रमित छन्। उनीहरुमध्ये १ सय ५९ जना होम आइसोलेसनमा र ४ जनाको पोखरामा उपचार भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए।
अन्य पालिकाकोभन्दा वालिङ्मा संक्रमित बढ्ने दर तीव्र छ। मंगलबार साँझसम्ममा जिल्लाभर कोरोना संक्रमितको संख्या २ सय ७८ छ। संक्रमितमध्ये २ सय ५९ होम आइसोलेशनमा छन भने १९ जना विभिन्न स्वास्थ्य संस्थामा र ७ जना क्वारेन्टाइनमा उपचाररत छन्। जिल्लाभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !