थिमिमा अक्सिजन उत्पादन

थिमिमा अक्सिजन उत्पादन

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन ग्यास उत्पादन सुरु गरेको छ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरेको हो। प्लान्टबाट अहिले अक्सिजन उत्पादन भई बिरामीलाई उपलब्ध गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा ज्ञानकृष्ण कायस्थले जानकारी दिए।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. कायस्थले अस्पतालको प्लान्टबाट अहिले दैनिक ८ हजारदेखि १२ हजार लिटरसम्म अक्सिजन उत्पादन भइरहेको जानकारी दिए। उत्पादित अक्सिजनले गर्दा अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा सहज भएको उनको भनाइ छ।

अस्पताललाई अहिले दैनिक ९० वटा अक्सिजन ग्यासको सिलिन्डर आवश्यक पर्छ। जबकि प्लान्टबाट मुस्किलले १६ वटा सिलिन्डर प्रयोग हुन्छ। कुल ९० शय्याको अस्पतालमा अहिले आधामा कोरोनाका संक्रमितको उपचार भइरहेको छ। भेन्टिलेटरसहितको ७ शय्याको आईसीयूसमेत कोरोना भाइरस संक्रमितले ओगटिरहेका छन्। अस्पतालमा संक्रमितको चाप बढेपछि आइतबार मात्रै काठमाडौं महानगरपालिकाले अस्पताललाई तीन वटा भेन्टिलेटर सहयोग गरेको छ।

अक्सिजन उत्पादन सुरु भएकाले कोरोना भाइरस संक्रमितलाई लक्षित गरी १५ शय्या थप्ने तयारी भइरहेको डा. कायस्थ बताउँछन्।

अस्पतालले हावामा आधारित अक्सिजन प्लान्ट जडान गर्न ५० लाखभन्दा बढी बजेट खर्च गरेको छ। त्यस्तै, नेपाल विद्युत् प्राधिकरणबाट थ्रीफेज लाइनको लागि छुट्टै ट्रान्स्फर्मरको व्यवस्था गर्नुपरेको अस्पतालले जनाएको छ। अक्सिजन प्लान्टको लागि छुट्टै भवनसमेत बनाउनुपर्दा सोचेभन्दा ढिलो अक्सिजन उत्पादन सुरु भएको बताइएको छ।

अस्पताल सञ्चालक मध्यपुर थिमि नपाका सूचना अधिकारी केशव सिलवालले संक्रमितको उपचारलाई लक्षित गरी अस्पताललाई १० लिटर क्षमताको ४० थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग प्राप्त हुन लागेको जानकारी दिए। हाल अस्पतालसँग पाँच लिटर क्षमताका नौ वटा अक्सिजन कन्सन्ट्रेटर रहेका छन्। त्यसैगरी भक्तपुरको लागि कोरोना हब अस्पताल भक्तपुर अस्पतालमा पनि अक्सिजन प्लान्ट जडान हुने भएको छ। 

बागमती प्रदेश सरकारको सहयोगमा करिब पाँच करोड लागतमा अमेरिकी प्रविधिको तरल अक्सिजन ग्यास उत्पादन गर्ने प्लान्ट जडान गर्न लागेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्। उनले कम्तीमा एक महिनाभित्र उक्त प्लान्ट जडान हुने दावी गरिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.