सरकार, एउटा बेड पाऊँ, प्लिज !

सरकार, एउटा बेड पाऊँ, प्लिज !

कोरोनाका एक बिरामी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आँगनमा अक्सिजन लिँदै छटपटाइरहेका थिए। मैले तस्बिर खिच्ने क्रममा लेन्स घुमाउँदै गर्दा ती बिरामीले हातको इसाराले आफूतिरै बोलाए। 

म दोधारमा परेँ– जाऊँ कि नजाऊँ ? कोरोना महामारीको यो डरलाग्दो क्षण म कसरी जाऊँ ? जो कोरोना संक्रमणपछि अक्सिजन पाए पनि बेड नपाएर अस्पताल बाहिरै छटपटाइ रहेका छन्।

सोचेँ– जान्नँ। ज्यानभन्दा ठूलो केही छैन।

ती बिरामीले फेरि हातले इसारा गरेर बोलाए। 

मेरा पाइला अन्ततः बिरामी भएतिरै बढे। उनले समस्या बताउन थाले। मैले भौतिक दूरी कायम गरेर भिडियो खिच्न थालेँ। तर, अक्सिजनको एकोहोरो आवाजले राम्रो सुनिएन। 

उनले नजिकै मोबाइलमा रेकर्ड गरेर मलाई सुनाउन चाहे। तर, बोल्न गाह्रो भयो। तब उनले आफ्नो सहयोगीका रूपमा अस्पताल आएका छिमेकी सेख नजमुल हुदालाई इसारा गरे। हुदाले एकान्तमा लगेर बेली विस्तार लगाए।

हुदाका अनुसार कोरोना संक्रमित योगेश केसी रहेछन्। केसी काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा काम गर्छन्। नेपाल सफाइ श्रमिक संघका अध्यक्षसमेत रहेका केसीलाई महानगरमा काम गर्दागर्दै संक्रमण भयो।

उनले भनसुन गर्दा पनि कुनै अस्पतालमा बेड पाएका छैनन्। अक्सिजन नहुँदा सास फेर्न गाह्रो भएपछि सोमबारै टेकु अस्पताल आएका रहेछन्।

कुराकानीकै क्रममा उनका छोरासँग पनि भेट भयो। उनले भने, ‘मेरा बुवाले महानगरमा काम गर्दागर्दै घरमा कोरोना रोग ल्याउनुभयो। हामी परिवारका सदस्य सबै नौ जना नै संक्रमित छौं। मलाई अझै कोरोना निको भएको छैन। परिवार अनि बुवालाई बचाउन सकि नसकि हिँडिरहेको छु।’ 

उनका अनुसार केसी अरूलाई पीरमर्कामा सहयोग गर्थे। ‘साथीहरूको समस्या सुन्दासुन्दै आज उहाँ आफैं संक्रमित हुनुभएको छ। हामीलाई पर्दा कसैले हेरेनन्’, उनले भने, ‘महानगरपालिकमा मेरा बुवाको राम्रो चिनजान छ। स्वयम्भू क्षेत्रमा सबैले चिन्छन्। राम्रो काम गरेको भनेर सबैले प्रशंसा पनि गरेको सुनिन्छ। तर, आज आपत् पर्दा महानगरका पदाधिकारीहरू कसैले वास्ता गर्दैनन्।’

उनका अनुसार बिरामीलाई भुइँमा राखिएको छ। बेड छैन। भने, ‘महानगरपालिकामा कुरा गर्दा हुन्छ हामी मिलाउँछौं भन्छन्। तर, कसैले काम गरिदिँदैनन्।’

केसी केही दिनअघि नेपाल प्रहरी अस्पतालमा भर्ना भएका थिए। तर, बेड नपाएपछि भुइँमा सुताइएको थियो। चिसोले मुटु दुख्न थालेपछि घरमा फर्काइयो। ‘म बुवालाई बचाउन चाहन्छु। उहाँलाई निको भए सबैको सहारा हुन्थ्यो’, छोराले भने।

उनका अनुसार अक्सिजन लेबल ६० देखि ६५ सम्म छ। डाक्टरका अनुसार अक्सिजन ९५ हुनुपर्छ।

छिमेकी हुदाले अप्ठ्यारो अवस्था देखेर सहयोग गर्न आएको बताए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.