अलपत्र यो भवन कोभिड उपचारमा सदुपयोग किन नगर्ने ?

अलपत्र यो भवन कोभिड उपचारमा सदुपयोग किन नगर्ने ?

भक्तपुर : काठमाडौं–भक्तपुर भएर ओहोरदोहोर गर्ने जोसुकैले वर्षौंदेखि अपूर्ण हालतमा ठडिएको १७ तले भवन देखेकै हुनुपर्छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधेराधेमा रहेको यो घरको बेला–बेला अनेक परिचर्चासमेत हुन्छन्। किन यो अलपत्र रह्यो भन्ने जिज्ञासा पनि धेरैमा पाइन्छ। 

त्यसको कथा भिन्दै छ। यहाँ चर्चा गर्न खोजिएको विषय भने हो– कोभिड महामारीमा उपचार प्रयोजनका लागि यो घरलाई सदुपयोग किन नगर्ने ? राज्य वा निजी क्षेत्रले वा सार्वजनिक–निजी साझेदारी (पीपीपी) ढाँचामा स्वास्थ्योपचार केन्द्र यसलाई किन नबनाउने ?

नेपालमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा छ। अघिल्लो ‘भेरियन्ट’ भन्दा यसपालि चिकित्सकको निगरानीमा उपचार गर्नैपर्ने बिरामीको दर र संख्या बढी छ। राजधानीका अस्पताल भरिभराउ छन्। नयाँ बिरामीलाई सिट पाउन महाभारत छ। त्यसमाथि यो ‘भेरियन्ट’ मा अधिकांशलाई अक्सिजनको आवश्यकता परिरहेको छ। 

आईसीयू, सीसीयू र भेन्टिलेटर चाहिनेको संख्या बढ्दो छ। साविक अस्पतालले यो परिस्थितिलाई धान्नै धौ–धौ परेको छ। संक्रमितको संख्या बढ्दो छ। अस्पतालका भुइँ, बेञ्च र ह्विलचियरमा समेत उपचार भइरहेको छ। 

यस्तो अवस्थामा वैकल्पिक उपचार केन्द्र अत्यावश्यक भएको छ। तर, त्यसका लागि उचित भौतिक संरचनाको पनि राजधानीमा अभाव छ। विज्ञहरूको सुझाव छ, ‘यो घरलाई सदुपयोग गर्ने हो भने निकै ठूलो समस्या हल हुनेछ।’ यहाँ चर्चा गरिएको यो घर शुभश्री जगदम्बा डेभलपर्सको स्वामित्वमा छ। करिब ८ रोपनी क्षेत्रफलको उक्त जग्गामा दुई भवन छन्। एउटा पश्चिमतर्फको ७ तले गोलाकार, अर्को १७ तले टावर।

१० वर्षदेखि यो भवन यही हालतमा छ। यस कम्पनीका अंकुर न्यौपाने प्रमुख सञ्चालक र विवश न्यौपाने तथा उत्सव न्यौपाने सञ्चालक हुन्। शुभश्री जगदम्बा डेभलपर्सका हर्ताकर्ता भने विष्णुप्रसाद न्यौपाने हुन्। उनी आफैं यो भवन निर्माण गर्न खटिएका थिए।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार पाँच तल्लाको मात्र अनुमति लिएर यसले १७ तल्लाको संरचना ठड्यायो। राजकुलोमै घर बनाइएको समेत पाइयो। संरचनागत समस्यासमेत देखिएकाले उतिबेलैदेखि यसको नक्सा पास नदिई रोकिएको छ। 

 उक्त डेभलपर्सका विष्णु न्यौपाने यसको नक्सा पास गराउन आफैं नगरपालिका धाउँदै आएका छन्। २ वर्षअघि पुनः नक्सापासका लागि निवेदन दर्ता गराएका थिए। तर, टुंगोमा पुर्‍याउन सकेनन्। त्यसमाथि कोरोना भाइरस संक्रमणले सबै क्षेत्र प्रभावित छ।

अघिल्लो वर्ष कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न उक्त भवनमा नेपाली सेनाले आपतकालीन खाद्यान्न भण्डारण गरेको थियो। नेपाली सेनाको अनुरोध घरधनीले स्वीकार गरी भवन प्रयोग गर्न दिएका थिए। अहिले पनि कोही कसैले प्रस्ताव ल्याएमा भवन खुसीखुसी दिन तयार रहेको यसका धनी विष्णुप्रसाद न्यौपाने बताउँछन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई पछिल्लो समय सबैजसो संक्रमितलाई अक्सिजन अनिवार्य भएकाले राज्यकै तर्फबाट उक्त भवनको प्रयोगतर्फ कुनै योजना नबनाइएको बताउँछन्। सदुपयोगको उचित प्रस्ताव आएमा स्थानीय प्रशासनको सहयोग रहने उनको भनाइ छ। ‘अक्सिजनको व्यवस्था कतैबाट हुन्छ भने त्यहाँ आइसोलेसन वा उपचार केन्द्र बनाउने विचार गर्न सकिन्छ’, उनले भने। 

अहिले भक्तपुरमा भएका अस्पतालहरू ठाउँ अभावको समस्या झेलिरहेका छन्। भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम दोस्रो लहरमै चरम ठाउँ अभाव रहेको अवस्थामा तेस्रो लहर आए हात उठाउनुको विकल्प नभएको बताउँछिन्। त्यसैले तेस्रो लहर नआउँदै अस्पतालको भौतिक पूर्वाधारसँगै अक्सिजन प्लान्ट, आईसीयू र जनशक्ति बढाउन ढिलाइ गर्न नहुने उनको भनाइ छ। त्यस्तै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक प्राडा ज्ञानकृष्ण कायस्थले उपकरण र जनशक्ति व्यवस्थापन गर्न सकिए उक्त भवनमा गर्न नसकिने केही पनि नभएको बताए। 

अस्पतालमा ठाउँ अभाव भएर संक्रमितलाई आकस्मिक कक्षमा समेत राखेर उपचार गर्नुपरिरहेको उनको भनाइ छ। उनले हुँदाहुँदा ह्विलचियरमा राखेर समेत संक्रमितको उपचार गरिरहेको सुनाए।

के हो नक्साको समस्या ? 
मध्यपुर थिमि नगरपालिकाको नक्साशाखा प्रमुख इञ्जिनियर सन्तोषकुमार अधिकारीका अनुसार २०६७/६८ सालमा गोलाकार भवन नक्सापास गरेरै बनाइएको थियो। उक्त भवन पूर्ण नहुँदै त्यहीं साल १७ तले भवन पनि बनाउन सुरु गरियो तर नक्सापास गरिएन।

निर्माण अघि बढाएर नक्सापासको निम्ति नगरपालिकामा निवेदन दिइयो। निवेदन परेअनुसारनगरपालिकाको वडा ९ बाट सर्जमिन गर्न जाँदा संधियारहरूसँग कुरा मिलेन। संधियारहरूले निर्माण रोक्का गर्न नगरपालिकामा उजुरी दिए। नगरपालिकाले तत्काल निर्माण रोक्न आदेश दियो। 

स्थानीयसँग विभिन्न चरणको वार्तापछि सहमतिअनुसार स्थानीयले उजुरी फिर्ता लिए। पछि धमाधम निर्माण कार्य अघि बढाइएको थियो। वडाबाट नक्सापासको सिफारिस पनि भयो। नगरपालिकाले भवनको मापदण्ड जाँच गर्दा नपुगेपछि भवनको नक्सापास अल्झेको हो। जुन अल्झाइलाई २०७२ सालको भूकम्पले थप बल पुर्‍यो। भूकम्पको २/३ वर्ष घरधनीले पनि वास्ता गरेनन्। 

यसैबीच उक्त भवनको ठीक सामुन्ने भाटभटेनी सुपरमार्केट आउने भयो। त्यसपछि विष्णु फेरि एकपटक उक्त भवनको नक्सापास गर्न जुर्मुराए। तर, टुंगोमा पुगेको छैन। ‘नगरपालिकाको ऐनकानुनले जहाँ जे मिल्ने हो त्यो गर्न तयार छौंभन्दा पनि प्रक्रिया अघि बढेन’, उनले भने। 

नगरपालिकाले चाहेर पनि तत्काल उक्त भवनको नक्सापास गर्न सक्ने अवस्था छैन। नक्सा शाखा प्रमुख इञ्जिनियर सन्तोषकुमार अधिकारीले उक्त भवन संस्थागत भएकाले नगरपालिकाको बोर्ड बैठकले नीतिगत निर्णय नगरी नक्सापास नहुने बताए।

‘बनिसकेको भवन उहाँहरूले अहिले संस्थागत पास गर्न खोज्नुभएको छ। संस्थागत भवनको नक्सापास गर्न स्थानीय तह सञ्चालन ऐनको कुनै दफाले बोलेको छैन’, उनले थपे, ‘बाहिरी अभ्यासमा नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेर नक्सापास भएको देखिन्छ।’

नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष राम थापामगरले पनि मध्यपुर थिमि नगरपालिकाले संस्थागत एवं उच्च तलाको भवनको नक्सापास गर्ने कुनै ऐन कानुन तथा मापदण्ड तयार गरिनसकेको बताए। उनले अहिलेको महामारीमा भवन प्रयोग गर्न नगरपालिकाको निर्णय आवश्यक भए बोर्ड बैठक बसेर गर्न सकिने भने स्पष्ट पारे।

त्यस्तै मध्यपुर थिमि नगरपालिका–९ का वडा अध्यक्ष रामकाजी चक्रधरले उक्त भवनको नक्सापास गर्ने सम्बन्धमा आवश्यक/अनावश्यक धेरै टिकाटीप्पणी भए पनि पारदर्शीपूर्ण ढंगले काम गर्न सकिने बताए।

नगरपालिकाले उक्त भवनको नक्सापास गर्न भएका प्राविधिक समस्या समाधान गर्न इञ्जिनियर सत्यनारायण साहको संयोजकत्वमा समिति बनाउँदा पनि अहिलेसम्म सुल्झाउन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.