भीरकोटमा कोभिडका बिरामीलाई अक्सिजनसहितको सेवा सुरु
स्याङजा : भीरकोट नगर अस्पतालले सोमबारदेखि अक्सिजनसहितको सेवा सुचारु गरेको छ। राष्ट्रिय आविष्कार केन्द्रले वैकल्पिक प्रविधिबाट स्याङजाको भीरकोटमा मिनी अक्सिजन प्लान्ट निर्माण गरेपछि सेवा सुचारु भएको हो।
अक्सिजन सेवा सूचारु गर्दै गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले आफना नागरिकका स्वास्थ्यप्रतिको भीरकोट नगरपालिकाको काम उदाहरणीय भएको बताए। प्लान्ट निर्माणपछि अक्सिजनको अभावमा अब कसैले ज्यान गुमाउनु पर्दैन भन्ने सन्देश भीरकोट र आविश्कार केन्द्रले दिएको बताउदै अस्पताल विकासका लागि सदैव सहयोग गर्नेमा जोड दिए।
कोभिडका बिरामीलाई अक्सिनसहितको उपचार अत्यावश्यक भएकाले अस्पतालमै अक्सिजन प्लान्ट राखिएको नगर प्रमुख छाँयाराम खनालले बताए।
महावीर पुनद्धारा संचालित केन्द र भीरकोट नगरपालिकाको संयुक्त आयोजनामा भीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट राखिएको हो। करिब २० लाखको लागतमा स्थापित प्लान्ट निर्माणका लागि आविश्कार केन्द्र र नगरपालिकाको ५०/५० प्रतिशत लगानी छ।
प्रति मिनट ६५ लीटर क्षमताको अक्सिजन उत्पादन हुने र एकैपटक १२ वटा शैयाका बिरामीले अक्सिजन सेवा पाउने मेकानिकल इन्जिनियर रितेश देवले जानकारी दिए। ‘७ वटा कन्सन्ट्रेटर प्रयोगगरी अक्सिनज उत्पादन भएको र बिजुली गए पनि सेवा रोकिदैन,' उनले थपे, ‘बढी अक्सिजन आवश्यक परे कन्सन्ट्रेटर र एअर कम्प्रेसर थपगरी बढाउन सकिन्छ। ’
आविश्कार केन्द्रवाट आएका ८ जनाको प्राबिधिक सहितको टोलीले ३ दिनमा मिनी अक्सिजन प्लान्ट तयार पारेको वायो-मेडिकल इन्जिनियर उमेश किराती भन्छन। राष्ट्रिय आविष्कार केन्द्रले भीरकोट नगर अस्पतालमा निर्माण गरेका मिनी अक्सिजन प्लान्ट नेपालमै पहिलो मिनी अक्सिजन प्लान्ट भएको इन्जिनियर द्धयको भनाइ छ।
कार्यक्रममा छिमेकी पालिका अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दिर्घनारायण अर्याल, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, भीरकोट नगर अस्पताल व्यवस्थापन समितीका अध्यक्ष तोयानाथ अर्याल, नगर प्रवक्ता दिपेन्द्र केसी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल, अधिकृत यामप्रसाद रेग्मी, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देललगायतले कोरोनाले आक्रान्त पारेका बेला नगरपालिका र केन्द्रले गरेको मानवीय सहयोगीप्रति आभार व्यक्त गर्दै दिर्घकालिन सेवा सुचारु गर्न सुझाव दिए।
यसैगरी, मेकानिकल इन्जिनियर रितेश देवले भीरकोट नगरप्रमुख छायाराम खनाललाई मिनि अक्सिजन प्लान्ट पुरा भएको जानकारी गराउदै हस्तान्तरण गरे। जिल्लाको मध्यभागमा रहेको र सिद्धार्थ राजमार्ग नजिकै रहेको यो अस्पताल यसअघिको कालिका सामुदायिक अस्पतालबाट परिचित थियो।
समुदायबाट संचालित यस अस्पताललाई केही महिनाअघि सम्पन्न अधिवेशनले भीरकोट नगरपालिकालाई हस्तान्तरण गरेपछि भीरकोट नगर अस्पताल नामाकरण भएको हो।पहिलो चरणको कोरोना संक्रमणका बेला पनि यस अस्पतालमा आइसोलेशन कक्ष संचालन गरी एकैदिन ६० जनासम्मको उपचार भएको थियो।
प्रतिक्रिया दिनुहोस !