नारायणी अस्पताललाई दिए ५ थान अक्सिजन कन्सन्ट्रेटर
![नारायणी अस्पताललाई दिए ५ थान अक्सिजन कन्सन्ट्रेटर](https://annapurnapost.prixacdn.net/media/albums/birjungoxygenconcentrator_20210618094737_LUryjpsl99.jpg)
वीरगन्ज : स्कटल्याण्डमा बस्दै आएका नेपालीहरुले वीरगन्जको नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।
स्कटल्याण्डमा बस्दै आएका नेपालीले गठन गरेको कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले खरिद गरेर पठाएको पाँच थान अक्सिजन कन्सन्ट्रेटर शुक्रबार नारायणी अस्पताललाई प्रदान गरिएको हो ।
जर्मनमा निर्माण भएको १० लिटर क्षमताको ५ थान अक्सिजन कन्सन्ट्रेटर, कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डका प्रतिनिधि प्रकाश अर्यालले शुक्रबार नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिडेण्टेड(मेसु) डाक्टर वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरेका हुन् ।
अर्यालका अनुसार, कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले नेपालका लागि २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको थियो । ती मध्येको ५ थान अक्सिजन कन्सन्ट्रेटर नारायणी अस्पताललाई प्रदान गरिएको अर्यालले बताए ।
नारायणी अस्पतालका निमित्त मेसु डाक्टर प्रधानले स्कटल्याण्डका नेपाली संघसंस्था तथा व्यक्तिहरुले गरेको सहयोग प्रति अस्पताल निकै आभारी भएको बताए ।
उनले सहयोग स्वरुप प्राप्त अक्सिजन कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने पनि बताए ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, एम्बुलेन्स चालक संघका केन्द्रीय सदस्य राजु अर्याल लगायतको पनि उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)