उत्तरी गोरखाको बाटो खुलाउन हेलिकोप्टरबाट तारजाली ढुवानी
गोरखा : विगत तीन सातादेखि अवरुद्ध रहेको उत्तरी गोरखा जाने बाटो खुलाउन पहल भएको छ । बूढीगण्डकीले क्षति पुर्याएको चुमनुब्री गाउँपालिका ३ जगत खण्डको बाटो खुलाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले हेलिकोप्टर चार्टर गरी तारजाली ढुवानी गरेको छ ।
बूढीगण्डकीले कटान गरेर क्षति पुर्याएको बाटोमा तार जालीले बाटो बनाइ हिँड्न मिल्ने बनाउन लागिएको डिभिजनल इञ्जिनियर रमेशराज शर्माले जानकारी दिए । ‘असार लागेदेखि नै चुमनुब्री गाउँपालिका प्रवेश गर्ने जगतमा हिडडुल गर्न नमिल्ने भयो भन्ने गुनासो आयो’, शर्माले भने, ‘त्यसैले बूढीगण्डकीबाट कटान तथा डुबान भएको बाटोमा तत्कालका लागि हिड्न मिल्ने बनाउन एकसय थान तारजाली त्यहाँ पुर्याइएको छ । अब गाउँपालिका र वडा कार्यालयले ग्याभिन भरेर हिँड्न मिल्न बनाउनेछ ।’
तत्कालका लागि ५० मिटर बाटो हिँड्न मिल्ने बनाउन एकसय थान तारजाली हेलिकोप्टरबाट ढुवानी भएको उनले बताए । जिल्ला विपत व्यवस्थापन समितिको पहल र गण्डकी प्रदेश सरकारको सहयोगमा तार जाली ढुवानी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले बताए ।
‘सिचाइँ डिभिजन कार्यालयमार्फत आरुघाटको मंगलटारसम्म गाडीमा ढुवानी गरियो । त्यहाँबाट हेलिकोप्टरबाट चारखेप गरेर एकसय थान तारजाली जगतमा राखिएको छ’, उनले भने, ‘अब वडा कार्यालयले गाउँपालिकासँग समन्वय गरी डुबान क्षेत्रभित्र दुई तला बनाएर ग्याभिन भर्ने काम गर्नेछ । तत्कालका लागि त्यही ग्याभिनमा टेकेर हिड्न मिल्नेछ ।’
तारजाली खरिदका लागि चारलाख रुपैयाँ, दुईहजार केजी सो तारजाली हेलिकोप्टरबाट ढुवानीका लागि दुईलाख रुपैयाँ र ट्रकबाट ढुवानीका लागि २५ हजार रुपैयाँ खर्च भएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।
जगत खण्डको करिब एकसय मिटर बाटोमा गण्डकी फैलिएर बाटो डुबाएको चुमचुब्री मिलन समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए । ‘नहिडी नहुने कोही–कोही मान्छे लुगा फुकालेर हातमा लिएर डुब्दै–डुब्दै हिँड्ने गरेका छन्’, उनले भने, ‘कोही लहरा र घाँसमा झुण्डिएर भित्ताभित्तै हिड्ने गर्छन् । तीनहप्ता भइसक्यो राज्यको ध्यान गएको छैन ।’ बूढीगण्डकीले धार परिवर्तन गरी क्याण्टिलिभर पुलनेर पनि बाटोको क्षेत्र ढाक्न आइपुगेको उनले बताए ।
हिमाल पारिको चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन । खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान खच्चडले बोक्ने गर्छ । लामो समयसम्म बाटो अबरुद्ध हुँदा खाद्यान्न संकट समेत हुनसक्ने स्थानीयको आशंका छ । ‘यता खासै उत्पादन हुदैन । अलिअलि हुने मकै पनि खाने बेला भएको छैन’, गाउँपालिकाको कार्यपालिका सदस्य विशाल हिमाली घलेले भने, ‘पूरै बजारको खाद्यान्नको भर पर्ने हो । अब एकहप्तासम्म पनि बाटो खुलेन भने भोकमरी पो लाग्ला भन्ने डर छ । अहिले नै चामल खोज्न यताउता दौडिन थालिसकेका छन् ।’ दुर्गममा ठूलो मान्छेको नजर नपर्ने उनले गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस !