रहरले बनेकी रानुदेवी
अघि बढौं हातमा क्रान्ति झन्डा लिई
नेपाली नेपाली...
अघि बढौं हातमा क्रान्ति झन्डा लिई
आज देशको क्रान्ति युद्धमा हाम्रो एक प्रकाश होस्
लड्दा लड्दै मरे मरौंला यो नै एउटा नारा होस्...
निरंकुश राणाशाहीका विरुद्धमा २००६ सालदेखि भएको सशस्त्र आन्दोलनका सिलसिलामा विराटनगर कब्जा भएको थियो। त्यसपछि त्यहाँको मिल्स एरियामा नेपाली कांग्रेसको मुक्ति सेनाले अड्डा जमाएको थियो। यो मुक्ति अड्डामा स्थापित प्रजातन्त्र रेडियोको सञ्चालन गर्ने जिम्मा तारिणीप्रसाद कोइरालाले पाएका थिए। उनले भारतीय साहित्यकार तथा नेपाली क्रान्तिका सहयोगी फणीश्वरनाथ रेणु, विजयालक्ष्मी कोइरालासहित एउटी राम्री किशोरीको सहयोगमा रेडियो सञ्चालन गरेका थिए। तारिणी र विजयालक्ष्मीले क्रमशः नेपाली र अंग्रेजी भाषामा समाचार भन्थे भने ती किशोरीले माथि उल्लिखित गीत बडो क्रान्तिकारी जोश र उल्लासका साथ गाउँथिन्। हरेक युवा श्रोताहरूको रगत उमाल्ने गीत गाउने ती किशोरी गायिका थिइन् स्वर्गीय रानुदेवी अधिकारी।
२००६ साल अर्थात् रेडियो नेपालको स्थापना हुनुअघि नै प्रजातन्त्र रेडियोबाट जागरण गीत गाएकी थिइन् रानुदेवीले। त्यो जमानामा गानाबजाना गर्नु भनेको खाली दलित जातिको काम हो भन्ने मान्यता रहेका बेला एउटी ब्राह्मण किशोरीले बडो उत्साहका साथ गीत गाएर आममान्छेका सोचाइमै क्रमभंग गरिन्। बाबु र्ईश्वरीप्रसाद र आमा इन्दिरा उपाध्यायकी सन्तान रानुका बाबु स्वयं नै संगीतका पारखी थिए। जसले गर्दा घरपरिवारबाट उनको गायनयात्रामा निकै ठूलो भरथेग हुन पुुग्यो। बाल्यकालदेखि नै सुरिलो स्वरमा गीत गाएर सुनौलो सम्भावना देखाएकी रानुको गायन गतिविधिलाई नियालेका उनका नजिकका नातेदार र अग्रज तारिणीप्रसाद कोइरालाले प्रजातन्त्र रेडियो स्थापना हुनेबित्तिकै उनलाई रेडियोमा ल्याएर माइक्रोफोन अघि उभ्याएका हुन्। क्रमशः सात सालमा भएको जनक्रान्तिले मुलुकमा प्रजातन्त्र ल्यायो। त्यसपछि काठमाडौंमा स्थापना भएको सरकारी संस्था रेडियो नेपालको प्रमुख पनि उनै तारिणी बने। उनले रानुदेवीलाई रेडियोमा ल्याएर नेपालकै इतिहासमा पहिलोपटक नारीस्वरमा उनको गीत रेकर्ड गरे।
रेडियो नेपालको स्थापना हुनुअघि २००६ सालमै प्रजातन्त्र रेडियोबाट जागरण गीत गाएकी थिइन् रानुदेवीले। त्यो जमानामा गानाबजाना दलित जातिको काम हो भन्ने मान्यता रहेका बेला ब्राह्मण किशोरीले बडो उत्साहका साथ गीत गाएर आममान्छेका सोचाइमै क्रमभंग गरेकी थिइन्।
यसअघि भारतको कलकत्तामा गएर मेल्वादेवी लामिछाने गुरुङले पहिलोपटक गीत रेकर्ड गरी प्रथम महिला गायिका बनेकी थिइन् भने नेपालभित्रैको रेडियो नेपालमा पहिलोपटक गीत रेकर्ड गर्ने सौभाग्य पाएकी हुन् रानुले। उनले केही गीत रेडियोमा रेकर्ड गराइन्। बसाई विराटनगर भएका कारण र अहिलेको जस्तो यातायातको सुविधा नभएका कारण पनि चाहेजति रेकर्ड गराउन पाइनन्। यसै क्रममा जब राजा महेन्द्रले १७ सालको निरंकुश कदम चाले त्यसपछि गीत रेकर्ड गर्न के सम्भव हुन्थ्यो ? रेकर्ड गरिएका गीतहरू समेत नष्ट गरिए। यसरी उनको गायन यात्रामा पूर्ण विराम लाग्न पुग्यो। उनै तारिणीको सहयोगमा राणाकालमा नै रानुका एकमुष्ट छवटा गीतहरू कलकत्ताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा रेकर्ड भएका थिए। राणाकालकै घटना थियो त्यो। बाबुआमा उनी सानै छँदा बनारस बसाई सरेकाले उनको बाल्यकाल पनि त्यतै बितेको थियो।
प्राथमिकदेखि आईएसम्मको पढाइ बनारसमै गरेकी रानुदेवी आफ्नो अध्ययनलाई स्नातकसम्म शास्त्रीय संगीतमा लान चाहन्थिन्। विभिन्न कारणले उनले शास्त्रीय संगीतको साटो इतिहास विषय लिएर पढ्नु प¥यो। उनले त्यहाँबाट नै स्नातकोत्तर गरिन्। उनले नेपाल रेडियो प्रथम गायिका भए पनि शोख र राजनीतिक मिसनका लागि गीत गाएकी थिइन्। त्यसैले उनी पेशेवर गायिका हुन सकिनन्। उनको सारा घरपरिवार नै नेपाली कांग्रेससित सम्बद्ध रहेकाले उनमा पनि राजनीतिक चेतना पूर्ण रूपले हावी त भयो नै तर उनले पूर्णकालीन राजनीतिभन्दा शिक्षण पेशा नै रोजिन्। पति तीर्र्थप्रसाद अधिकारीको गायन क्षेत्रलाई अघि बढाउनमा पूर्ण सहयोग भएर पनि राजनीतिक परिस्थितिका कारण उनको गायनयात्रा रोकिन पुग्यो। यति भएर पनि विद्यालयका कार्यक्रम र अन्य सानातिना समारोहहरूमा उनी गाइरन्थिन्। सुरुमा क्रान्तिकारी गीतहरू गाएर चर्चामा आएकी उनले एक्कासि मुलुकमा माओवादी सशस्त्र युद्धको समाप्ति र त्यसपछि प्राप्त लोकतान्त्रिक वातावरणमा शान्तिगीत गाउन पुगिन्। गायकी जीवनको ५६ वर्षको अन्तरालपछि उनलाई पुनः गीत लिएर सार्वजनिक हुने सौभाग्य जुरेको थियो।
विराटनगरनिवासी पत्रकार शंकर खरेलको सत्प्रयासमा निर्मित ५६ वर्षपछि नामक एउटा वृत्तचित्रमा उनले आफ्नै रचनाका केही गीतहरू गाएको पाइन्छ। आफूभन्दा निकै कनिष्ट सुमित खड्कासितको यो उनको युगल गायन सुनेपछि उनका समकालीनहरू तीन छक्क परेका थिए। अघि नै भनियो जीविकाका लागि शिक्षण पेशा अपनाएकी रानु वीरगन्जमा जन्मिन्। वाराणसी, भारतमा हुर्किइन्, बढिन्, पढिन् र अन्तमा कर्मथलो विराटनगरलाई बनाइन्। प्रायः तारिणीप्रसाद कोइरालाका रचना तथा सियालाल मण्डल र कालुरामका संगीतमा उनले गीत गाएको पाइन्छ।
जुनेली रात हजुर
गम्किन्छ बास हजुर
फागुनको सितल बतास।
एक जमानामा निकै लोकप्रिय रहेको यो गीत पनि तारिणीकै रचना थियो। विराटनगरको आदर्श बालिका विद्यालयकी कुशल शिक्षिका रानुले विद्यालयका विद्यार्थीलाई सांगीतिक ज्ञान पनि बाँडेकी छन्। हिन्दी सिनेमाका चर्चित संगीतकार एसएम त्रिपाठीले बम्बैमा रहेर हिन्दी सिनेमामा गाउन गरेको अफरलाई उनले त्यागेकी थिइन्। आकाशवाणी दिल्लीबाट नेपाली गीत गाउने अनुरोलाई पनि उनले दुत्कारिन्। उनलाई नेपालमै रहेर नेपालकै उन्नयनमा लाग्नु थियो भने अर्कातिर पेशा र घरपरिवारलाई पनि सन्तुलनमा राख्नु थियो। तेह्र वर्षमै विवाह भए पनि मायालु पति पाएकीले उनलाई आफ्नो यात्रामा विचरण गर्न निकै सहयोग पुगेको थियो।
प्रजातान्त्रिक उद्देश्य प्राप्तिका लागि उनको गायन भएकाले उनमा संगीतको सैद्धान्तिक र व्यावहारिक ज्ञान खोज्नुभन्दा उनको स्वरको श्रुतिमधुरता, मुक्तिका लागि गरिएको आह्वान र शान्तिका लागि दिइएका सन्देशको अर्थमा पर्गेल्नु राम्रो हुन्छ। विशेष राजनीतिक, सामाजिक र सांस्कृतिक परिस्थितिमा उनले गायनका माध्यमबाट गरेको योगदानको भने निर्भिकताका साथ प्रशंसा गर्न सकिने आधार प्रशस्त बनेका छन्। नातिकाजी र शिवशंकरको संयुक्त संगीतमा रेडियो नेपालमा रेकर्ड भएका गीतहरू हराएकोमा भने उनलाई ठूलो पिरोलो थियो। तैपनि राजनीतिक प्रतिकूलताका कारण यस्तो परिस्थिति आएकाले उनले चित्त बुझाइन्।
जीवनको उत्तराद्र्ध अर्थात् मुलुकमा लोकतन्त्र आएपछि यी आदिगायिकाको सम्मान केही मात्रामा भएको पाइन्छ। एक एफएमबाट लाइफ टाइम एचिभमेन्ट, कलानिधि मथुरादेवी राष्ट्रिय संगीत सम्मान तथा बलबहादुर राई स्मृति प्रतिष्ठानबाट उनलाई विशेष सम्मान प्राप्त भएको थियो। अमेरिकामा रहेका छोरासित कहिले र कहिले काठमाडौमा रहेकी छोरीसित बस्दै आएकी रानु विभिन्न आन्दोलनमा समेत सहभागी भइन्। १९९३ मंसिर १८ गते जन्मेकी रानु ९० वर्ष पार हुँदा पनि केही भजनहरू गुन्गुनाउँथिन्। अध्यात्म चेतसमेत प्रवल रहेकी उनी २०७७ वैशाख १८ गते सदाका लागि भौतिक रूपमा संसारबाट अस्ताइन्।
प्रतिक्रिया दिनुहोस !