बार्टी र पिर्लोस्कोभा फाइनलमा
लन्डन : अस्ट्रेलियाकी विश्व नम्बर एक अस्लेइघ बार्टी र चेक रिपब्लिककी क्यारोलिन पिर्लोस्कोभा विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। लन्डनमा बिहीबार राति भएको सेमिफाइनलमा बार्टीले जर्मनीकी एन्जलिक कर्बर र पिर्लोस्कोभाले बेलारुसकी दोस्रो वरीयताकी आर्यना सब्लेन्कालाई पराजित गरेका हुन्। बार्टी र पिर्लोस्कोभा दुवै विम्बल्डनको फाइनलमा पहिलो पटक पुगेका हुन्। उनीहरूले शनिबार राति उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
२५ वर्षीया बार्टीले कर्बरलाई ६–३, ७–६ (७–३) को सेटमा पराजित गरिन्। यसैगरी २९ वर्षीया पिर्लोस्कोभाले बेलारुसकी आर्यना सब्लेन्कालाई ५–७, ६–४, ६–४ ले पाखा लगाइन्।
जितपछि बार्टीले शनिबार आफ्नो ठूलो सपना साकार पार्ने अवसर मिलेको बताइन्। ‘शनिबार मलाई आफ्नो ठूलो सपना पूरा गर्ने मौका मिलेको छ’, उनले भनेकी छन्, ‘यसका लागि मैले निकै मेहनत गर्नुपर्नेछ। म आफ्नो तर्फबाट उत्कृष्ट खेल पस्किनेछु।’ विम्बल्डनको यस संस्करणमा बार्टीले जम्मा एक सेटमा मात्रै पराजय बेहोरेकी छन्। विम्बल्डनको पहिलो चरणको खेलमा स्पेनकी कार्ला स्वारेज नवारोससँग एक सेट गुमाएकी थिइन्। निकै प्रतिस्पर्धात्मक खेलमा बार्टीले ६–१, ६–७(१–७),६–१ को जित निकालेकी थिइन्। नवारोससँग दोस्रो सेटमा निकै संघर्ष गरेकी बार्टीले त्यसयता सहज जित निकाल्दै आएकी छन्।
विश्व नम्बर एक बार्टीले क्वार्टरफाइनलमा आफ्नै देशकी अजिला टोमलजानोभिचलाई पराजित गरेकी थिइन्। बार्टीले टोमलजानोभिचलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गरेकी थिइन्। यसैगरी पिर्लोस्कोभाले स्विट्जरल्यान्डकी भिक्टोरिजा गोलुविकलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्। पूर्वविश्व नम्बर एक खेलाडी क्यारोलिन यसअघि फ्रेन्च ओपनमा भने दोस्रो चरणबाटै बाहिरिएकी थिइन्।
शनिबार बार्टी र पिर्लोस्कोभा उपाधिका लागि कोर्टमा उत्रिँदा निकै प्रतिस्पर्धात्मक खेल हुने विश्वास गरिएको छ। अहिलेसम्म यी दुईबीचको भिडन्तमा बार्टी हावी देखिएकी छन्। यी दुईबीच भएका सात भिडन्तमा बार्टीले पाँच खेलमा जित हात पारेकी छन्। यसै वर्षको स्टुटगार्ड क्वार्टरफाइनलमा बार्टीले पहिलो सेट हारेर पनि पुनरागमन जित निकालेकी थिइन्। सन् २०१६ मा यूएस ओपनमा उपविजेता बनेयता पिर्लोस्कोभा पहिलो पटक फाइनलमा पुगेकी हुन्। सन् २०१९ की फ्रेन्च ओपन च्याम्पियन बार्टी दोस्रो उपाधिको खोजीमा छिन्।
विम्बल्डनबाट अमेरिकी टेनिस स्टार सेरेना विलियम्स, रोमानियाकी टेनिस स्टार सिमोना हालेप, जापानी खेलाडी नाओमी ओसाका र बेलायतकी नम्बर एक टेनिस खेलाडी जोहन्ना कोन्टाले विभिन्न कारणले प्रतियोगिताबाट बाहिरिएपछि बार्टी र पिर्लोस्कोभा उपाधि नजिक पुगेका हुन्। सेरेना विम्बल्डनको पहिलो चरणको खेलमा बेलारुसकी अलेकसान्द्रा सासनोविचविरुद्धको खेलमा चोट बोकेपछि प्रतियोगिताबाट बाहिरिएकी थिइन्। विश्व वरीयतामा तेस्रो स्थानमा रहेकी साविक विजेता हालेपले चोटको कारण र २३ वर्षीया ओसाकाले डिप्रेसनका कारण टेनिसबाट केही समय विश्राम लिने बताउँदै विम्बल्डन नखेल्ने निर्णय लिएका थिए। आफूसँगै रहेका खेलाडीमा कोरोना पोजेटिभ देखिएका कारण आइसोलेसनमा बस्नुपर्ने भएपछि कोन्टाले विम्बल्डन गुमाएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !