जीवनदानमा एउटा क्रान्ति
नेपालमा रक्तसञ्चारको इतिहास झन्डै आठ दशक पुरानो छ। २००० सालबाट रक्तसञ्चार सेवाको इतिहास थालनी भएको उपलब्ध अभिलेखले देखाउँछ। तत्कालीन समयमा स्वयंसेवी रक्तदाताहरू नगन्य मात्रामा थिए। त्यो पनि परोपकार संस्थाका स्वयंसेवक अस्पतालमै पुगी रक्तदान गर्ने गर्थे। यसरी गरिएको रक्तदानबाट धेरै बिरामीको अकालमा मृत्यु हुनबाट जोगाउन सफल पनि भए। वीर अस्पतालको प्याथोलोजी बिभागबाट देशमा सञ्चालित रक्तसञ्चार सेवाले ७८ वसन्त पार गरिसकेको छ।
स्वयंसेवी तवरले सञ्चालनमा आइरहेको रक्तसञ्चार सेवालाई थप मानवीय भावका साथ प्रभावकारी तवरले सेवाकार्यलाई विस्तार गर्न २०२३ साउन १२ गतेबाट नेपाल रेडक्रस सोसाइटीअन्तर्गत लक्ष्मी ब्लड बैंक नामद्वारा रक्तसञ्चार सेवा सुरु गरिएको थियोे। हालको ‘ट्रमा सेन्टर’ रहेको स्थानमा ५५ वर्षअघि सानो झिँगटीको छानो रहेको कोठाबाट रक्तसञ्चार सेवाको शुभारम्भ गरिएको थियो। राज्यको खासै आर्थिक र प्राविधिक सहयोगबिना सीमित स्रोतसाधनले देशको ७३ जिल्लाका १२० स्थानबाट सेवा प्रदान गरिरहेको छ। यिनै सेवा प्रदायक निकायबाट गत आर्थिक वर्ष २०७७/७८ मा २ लाख ३८ हजार ८३६ युनिट रगत संकलन गरी ३ लाख २१ हजार ७७६ युनिट रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू पीडित पक्षलाई उपलब्ध गराउन सकिएको थियो। सयौंको संख्यामा रक्तदान आयोजक संघ/संस्थाहरूले रक्तदान शिबिरको आयोजना गरिरहेका छन् भने हजारौंको संख्यामा नियमित स्वयंसेवी रक्तदाताले रक्तदान गर्दै आइरहेको अवस्था छ।
रक्तदान उत्प्रेरणा आजको आवश्यकता
रक्तसञ्चारको महत्वपूर्ण पक्ष र जटिलता भनेकै सर्वसाधारणमा रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको विषयमा जानकारी दिलाउनु नै हो। समयको कालखण्डमा मानव जगत्भित्र देखिएको नयाँ नयाँ रोगका संक्रमणले रक्तसञ्चार सेवा क्षेत्रलाई महंगोसमेत बनाइदिएको छ। आज बिरामीका लागि स्वस्थ, स्वच्छ र सुरक्षित वा रोगमुक्त रगत उपलब्ध गराउनु स्वयंसेवी रक्तदाताहरूको नैतिक र इमान्दारितामा भर पर्नुपर्ने सर्वविदितै छ। यस अर्थमा स्वयंसेवी रक्तदाताहरूको भूमिका र सहयोग अपरिहार्य देखिन्छ। हालसम्म बेलाबखतमा गरिएका अनुगमन, अनुसन्धान अध्ययनले के देखाएको छ भने कुनै प्रकारको लाभ नलिइकन स्वयंसेवी तवरले स्वेच्छिक रूपमा गरिने रक्तदान नै सबैभन्दा बढी स्वस्थ, स्वच्छ र सुरक्षित हुनुका साथै लागत खर्च पनि कम साबित भएका छन्।
‘रक्त व्यवस्थापनमा सबैको सहभागिता’ यो नारा वा भनाइलाई सार्थक सिद्ध गर्न सकेमा मात्र रक्तसञ्चार सेवाले पूर्णता पाउने छ। जबसम्म प्रत्येक बिरामीको उपचारमा चाहिने ‘स्वस्थ, स्वच्छ र सुरक्षित’ अर्थात् ‘रोगमुक्त रगत र रगतबाट तयार पारिएका रक्ततत्व’ चाहिएको समयमा आवश्यकता अनुसार सर्वसुलभ अनि निःशुल्क प्राप्त गर्ने वातावरण बन्दैन, तवसम्म रक्तदान उत्प्रेरणा कार्यक्रमले लक्ष्य प्राप्तिको चरमबिन्दुमा पुगेको ठहर्ने छैन। नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरू उत्प्रेरित गराई रक्तदान गराउन तयार पारिएको ‘स्टार्ट एटिन स्टार्स टिम’को अवधारणालाई जतिसक्दो चाँडो नेपाल सरकार र सम्बन्धित निकायले कार्यान्वयन गर्न सक्नु भएन।
बाधक तत्वहरू
मूलतः आमजनमानसमा व्याप्त आधारहीन डर, त्रास र भय नै रक्तदानप्रति उदासीनताका प्रमुख कारण हुन्। स्वयंसेवी रक्तदाता उत्प्रेरित बनाई रक्तदान गराउन आवश्यक उत्प्रेरणा कार्यमा हालसम्म भए देखिएका कठिनाइ एवं बाधक तत्वहरू यस्ता छन् ः मानव जीवनमा कतिपय घातक रोग (हेपाटाइटिस, एनिमिया, मलेरिया र एड्स) हरूको आतंकका कारण रक्तदान गर्न अप्ठ्यारो तथा हिच्किचाउने गरेका छन्। जसरी मानव शरीरमा नियमित र निरन्तर रगतको प्रवाह भइरहेको हुन्छ, त्यसरी नै उत्प्रेरक प्रशिक्षण कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुनु अत्यावश्यक छ। रक्तदान कार्यलाई व्यापक बनाउन प्रचारप्रसारका सामग्रीको पनि उतिकै आवश्यकता हुन जान्छ। यसका लागि आर्थिक पक्षले प्रमुख भूमिका खेल्नेमा दुईमत छैन। स्वयंसेवी आधारमा सञ्चालित यो रक्तसञ्चार सेवा कार्यक्रम प्रभावकारी एवं कम खर्चालु छ। राज्यले निःशुल्क भनिएको रक्तसञ्चार सेवा क्षेत्रमा सरकारी अनुदान नगन्य रूपमा रहेको छ।
रक्तदान स्थलमा स्वयंसेवी रक्तदातालाई गरिने नकारात्मक व्यवहारले पनि रक्तदातालाई निरुत्साहित बनाउँछ। रगत झिक्ने बेला सुईले घोच्दा हेलचेक्र्याइँ गर्ने, एक ठाउँबाट सफलताका साथ रगत तान्न नसकी अर्को ठाउँमा घोच्नेजस्ता कारणले रक्तदातामा डरत्रास पैदा हुनु स्वाभाविक हो। स्वयंसेवी रक्तदानबारे सरकार र सम्बन्धित निकायको विद्यमान उदासिनता, पारिवारिक असन्तुष्टि, धार्मिक अबरोध, असुविधाजनक व्यवहार, रक्तसञ्चार सेवालाई हेर्ने र बुझ्ने दृष्टिकोण र धारणामा परिवर्तन वा सुधार ल्याउन जरुरी छ। जनसाधारणमा व्याप्त अन्धबिश्वास, कुरीति, अशिक्षा र अज्ञानतालाई हटाउन ढिलो भइसक्यो।.रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू आवश्यक पर्दा समयमै उपलब्ध नहुनु, रक्तदाताप्रति अशिष्ट व्यवहार हुनु, पीडित पक्षलाई रगत लिन र दिनमा धेरैबेर समम कुराउने प्रवृत्तिलाई पूर्णरूपमा निरुत्साहित पार्नुपर्छ।
दीर्घकालीन समस्या समाधानार्थ दीर्घकालीन योजनाको रूपमा माध्यमिक, उच्च माध्यमिक, कलेज र बिश्व विद्यालय स्तरको पाठ्यक्रममा रक्तदान र रक्तसञ्चार सेवासम्बन्धी विषय समावेश गरिनु जरुरी देखिएको छ। स्वयंसेवी तवरले नियमित रक्तदान गर्दै आउनुभएका स्वयंसेवी रक्तदातालाई थप उत्साह र हौसलाका साथै नयाँका निमित्त प्रेरणा हुने गरी दानमा दिएको रगतलाई उच्च मूल्यांकनकोे व्यवस्था गर्न सकिएमा अझ बढी रक्तदाताहरूको संख्यामा वृद्धि हुन सहज हुने देखिन्छ। प्रचारप्रसारको सशक्त माध्यम रेडियो, टेलिभिजन, अनलाइन खबर र पत्रपत्रिकामा रक्तदान र रक्तसञ्चार सेवा व्यापकता दिन सकेमा रक्त संकलन वृद्धि नहोला भन्न सकिन्न। विभिन्न संघ/संस्थाबीचमा रक्तदान र रक्तसञ्चार सेवा विषयक शीर्षकमा प्रतियोगिताहरू सञ्चालन गर्दै रक्तदानसम्बन्धी चेतना प्रवाह गर्नमा सहजता मिल्ने छ। स्टार्ट एटिन स्टार्स टिमको अवधारणा अनुसार माध्यमिक, उच्च माध्यमिक, विश्व बिद्यालयमा अध्ययनरत विद्यार्थी वा सोसरह उमेरका व्यक्तिबाट जन्मदिनको १८ औं वर्षमा रक्तदान गर्न/गराउन र रक्तदान र रक्तसञ्चार सेवाबारे केही ज्ञान बोध गराउन सकेमा भविष्यमा तिनीहरू नै प्रतिवद्ध स्वयंसेवी रक्तदाता बन्न सक्छन्।
रक्तसञ्चार सेवा केन्द्रमा देशव्यापी कार्यरत जनशक्तिमा लगनशीलता, इमान्दार, योग्यका साथै साहसिक हुन आवश्यक छ। स्वयंसेवी रक्तदाताहरूको जन्मदिन, जात्रा, चाडपर्व, उत्सव र समारोहबीच शुभकामना आदानप्रदानले पनि सकारात्मक सन्देश प्रवाह हुनसक्छ। सरकारी अस्पतालमा पर्याप्त दक्ष जनशक्तिको अभाव छ भने अत्याधुनिक प्रबिधिहरूको खडेरी देखिन्छ। निजी अस्पतालमा स्वयंसेवी रक्तदाताहरूको रगत पीडित पक्षसँग चर्काे मूल्यमा असुल्नमा रमाएका छन्। यस्तो प्रवृत्तिलाई नेपाल सरकार र सम्बन्धित निकायले उपेक्षित बनाइरहेको देख्दा हरेक स्वयंसेवी रक्तदाता रक्तदान कार्यक्रम आयोजक संघ/संस्था, रक्तदान कार्यप्रति साथ सहयोग गर्नुहुने महानुभाव जोकोही उदेकका पत्र बन्न विवश छन्। ७८औं बसन्त पार गर्दा समेत देशले राष्ट्रिय रक्तसञ्चार सेवालाई सम्बोधन गरेको छैन। अबका दिनमा यो क्षेत्रलाई उपेक्षित नबनाई बजेट विनियोजन गर्न सकेमा सरकारले आफ्नो कर्तव्य र दायित्व ठानेको ठहर्ने छ।
- लेखक नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन्।