फस्टाउँदै बाख्रापालन
धनकुटा : वैदेशिक रोजगारीको क्रममा झण्डै एक दशक विदेशमै बिताएका साँगुरीगढी गाउँपालिका ३ कुसेटारका मणिराज माझीले गाउँमै बाख्रापालन सुरु गरेका छन्। उनको खोरमा उन्नत जातका ३० भन्दा बढी बाख्रा र बोका छन्।
बहराइन बसेका लालवहादुर माझीले पनि अहिले घरमै व्यवस्थित खोर बनाएर बाख्रापालन गरेका छन्। लालबहादुरले २० भन्दा बढी उन्नत बाख्रा पालन गरिरहेका छन्। केही वर्षअघि कतारवाट फर्किएका कुलप्रसाद माझीले पनि बाख्रा पालन व्यवसाय नै गरेका छन्। ‘बाख्रापालनबाट मनग्य आम्दानी हुँदो रहेछ,’ उनले भने, ‘गाउँघरमै उद्यम गरेर परिवारसँगै बस्न पाइएको छ।’ अहिले लगानीकै क्रममा रहेकाले बचतभन्दा पनि आम्दानी रकम लगानी नै गरेको उनले बताए।
कुसेटार तमोर नदी किनारको बस्ती हो। यहाँ अल्पसंख्यक माझी समुदायको बाहल्यता छ। त्यस्तै राई, लिम्बू समुदायकाको पनि बसोबास छ। अरू समुदायका पनि बसोबास गर्छन्।
विदेशबाट फर्किएका युवाहरूले गाउँमै उद्यम गर्ने सोच बनाउन थाले। सम्भावनाहरू पहिल्याउदै जाँदा उत्पादन र बजार पहुँचको हिसाबले बाख्रापालन उपयुक्त देखेपछि सबैले सामूहिक रुपमा बाख्रापालन व्यवसाय सुरु गरेका हुन्। यहाँका हरेक घरपरिवारले बाख्रापालन गरेका छन्। २१ परिवारले त फार्म संचालन गरेर नै बाख्रा पालन गरिरहेका छन्।
घरैपिच्छे व्यवस्थित फार्म छन्। हरेकले उन्नत जातका बाख्रा पालन गरेका छन्। बाख्रा पालन गर्ने घरपरिवारलाई समेटेर रातमाटे घाँसी बोयर बाख्रा समूह गठन गरिएको छ। समूहका अध्यक्ष झप्टमान अधिकारी हुन्। उनी आफंै पनि १२ वर्ष विदेश बसेर फर्किएका हुन्। समूहमा आवद्ध घरपरिवारले बाख्रापालनबाट मनग्य आम्दानी गरिरहेको अध्यक्ष अधिकारीले बताए। समूह गठन गरेर बाख्रापालन सुरु गरेको दुई वर्ष मात्रै पुगेको छ। तर, बाख्रा पालनमा स्थानीयको आकर्षण धेरै छ।
समूहमा आबद्ध सदस्यहरूले वार्षिक न्यूनतम १० हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म बचत गर्छन्। समूहमा बचत भएको रकम आर्थिक रूपमा विपन्न सदस्यहरूलाई सहुलियत ब्याजदरमा लगानी गरिन्छ। त्यस्तै समूहले गोठ सुधार, नश्ल सुधारका काम समेत गर्दै आएको अध्यक्ष अधिकारीले बताए।
उनका अनुसार कुसेटार गाउँलाई उन्नत बोयर बाख्रा पालन गाउँ बनाउने योजना छ। उन्नत बाख्राको मूल्यसमेत समूहको छलफलबाट तोकिएको छ। ५० प्रतिशत बोयरको प्रति किलोे एक हजार, ७५ प्रतिशत बोयरको प्रति किलो १ हजार ५ सय र ८७.५ प्रतिशत बोयरको प्रतिकिलो २ हजार मूल्य निर्धारण गरिएको छ। प्रतिशत बढ्दै जाँदा ५ सय रुपैयाँ थप गरिएको उनको भनाइ छ। उन्नत बोकाको मूल्य न्यूनतम १ लाखदेखि ३ लाख रुपैयाँसम्म पर्छ। गाउँमा सबैभन्दा सुरुमा व्यवसायिक बाख्रापालन गर्ने देवीनारायण नेम्बाङ हुन्। दुई दशकभन्दा बढी शिक्षण पेशाबाट अलग हुँदै बाख्रापालनमा होमिएका हुन्। नेम्वाङकै प्रेरणाले गाउँमा अन्य युवाले बाख्रापालन सुरु गरेका हुन्। पाँच वर्षदेखि बाख्रा पालनमा संलग्न उनी भन्छन्, ‘तीन लाख रुपैयाँ लगानीमा उन्नत बोयर बोका खरिद गरी ल्याउँदा गाउँका कसैले पनि पत्याएनन्। पछि तिनैका उत्पादन महँगोमा बिक्री हुन थालेपछि सबै यसतर्फ होमिन थाले।’
उनका अनुसार कुसेटारमा ७० घरपरिवारको बसोवास छ। प्रायः सबैले बाख्रा पालन गरेका छन्। केहीले आधुनिक तथा व्यवस्थित खोर बनाएर सुरुवात गर्दैछन्। नेम्वाङले बोयर जातका पाठापाठी उत्पादन गर्छन्।
‘आम्दानी सबै यस व्यवसायमा लगानी गरेको छु,’ उनले भने, ‘लगानी नपुगेर सदरमुकामको घडेरीसमेत बिक्री गरियो।’ अहिले ७० लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ। यस क्षेत्रमा उत्पादन भएको पाठापाठीको माग धेरै छ। बजारको समस्या छैन। बाख्रा ब्याउन नपाउँदै बुक भइसक्ने नेम्वाङले बताए।
प्रतिक्रिया दिनुहोस !