ताप्लेजुङका पहिरो पीडित भन्छन्ः पहाडसँग अझै डर लाग्छ !

ताप्लेजुङका पहिरो पीडित भन्छन्ः पहाडसँग अझै डर लाग्छ !

ताप्लेजुङ: जब रातभर पानी पर्छ भीमप्रसाद पूरी निदाउँनै सक्दैनन् । झ-झल्को आइरहन्छ २०७२ साल जेठ २७ गते मध्यरातको ।

अविरल वर्षाका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङ र ३ लिबाङमा आएको विपत्तिले ५९ जनाको ज्यान लियो । भीमप्रसादको सहित ६६ परिवारलाई थात्थलो छाड्न बाध्य बनायो ।

मध्यरातमा भीमप्रसादको घरको दुवैतर्फ पहिरो गयो । घरनजिकै रहेको गाईबाख्राका गोठ सबै बगाउँदा घरमात्रै जोगियो । बोली नआउने भाई रुपनारायण पूरी गोठमै सुतेका थिए । कसो कसो भागेर ज्यान बचाए । ‘घरको दुबैतिर पहिरो आयो, गोठमा सुतेको कान्छो भाई चाहिँ भागेर ज्यान बचाएछ,’ भीमप्रसादले भने ‘हामी चाहिँ धन्न बाँच्न सफल भयौँ । पहिरोले दुईवटा भैसीँ, ३५ वटा बाख्रा र २१ वटा कुखुरा सहित घरबारी सबै बगायो ।’

पहिरो जाँदा भीमप्रसाद साउदी अरबबाट घर फर्किएको भर्खर २ वर्ष मात्र भएको थियो । केही पैसा कमाउँ र घरपरिवारलाई खुसी बनाउन साउदी गएका उनी बिरामी भएर फर्कनुपरेको थियो । ‘पैसा कमाउँला, छोराछोरीलाई राम्रो शिक्षा–दिक्षा दिउँला भनेर परदेश हानिएको बिरामी भएर फर्कनुपर्‍यो,’ भीमप्रसादले पुराना दिनलाई सम्झँदै भने ‘साउदी जाँदा कान्छो छोरो भर्खर एक वर्ष पुगेर दुईमा लागेको थियो ।’

उनका पाँच छोरी र दूई छोरा छन् । ‘सानो छोरो छोडेर विदेश गएको बिरामी भएर केही धन ल्याउन पनि पाइएन । आएको दूई वर्षमै पहिरोले सबै लग्यो,’ उनले भने ‘अभागीलाई कहिँ गए पनि सहज नहुँदो रहेछ ।’ उनलाई अझै पनि पहाडसँग डर लाग्छ । ‘पैसा भए त झापातिरै जग्गा किनेर बसाई जान पाए हुनेथियो,’ उनले भने ‘ आकाशमा कालो बादल मडारिन थालेपछि मनमा चिसो पस्छ, पहाडसँग अझै पनि डर लाग्छ ।’

विस्थापित बनेका परिवारहरू अझै पनि पुर्नस्थापित हुन सकेका छैनन् । अहिले उनले फुङलिङ नगरपालिका वडा नं ३ केनिममा सानो झुपडी बनाएका छन् । पहिरोले खेदाएपछि उनीजस्तै धेरै जना फुङ्लिङ नगरपालिकातर्फ बसाइँ सरे, केही झापा झरे । फुङलिङमा आफ्नो घर जग्गा केही नभए पनि चिनेजानेका आफन्त रहेकाले बनिबुतो गरेर जहान छोराछोरीको हातमुख जोड्न फुङलिङतर्फ बसाइँ सरेका हुन् ।

परिवारका सदस्य गुमाएकाहरू ६ वर्ष बितिसक्दा पनि शोकमै छन् । पहिरोका कारण घरबार विहीन भएका परिवारलाई सरकारले अझैसम्म पनि नहेर्दा झनै पीडा थपिदिएको छ । धेरै विस्थापित सरकारले पुनर्वासको व्यवस्था गरिदिन्छ भन्नेमा ढुक्क थिए । तर पहिरो गएको ६ वर्षसम्म ताप्लेजुङको पहिरोपीडितको पीडा सरकारले सम्बोधन गरेन । मृतकका परिवारले २ वर्षअघि प्रतिपरिवार एक लाख रुपैयाँ पाए तर विस्थापितले केही पनि पाएका छैनन् ।

‘मृतकका परिवारले पनि ४ वर्षपछि मात्रै एक लाख रुपैयाँ पाए, अरूले त त्यो पनि पाएका छैनौँ,’ पहिरो पिडित अर्जुन तिवारीले भने ‘पुनस्थापनाका लागि सहयोग माग्दै ज्ञापनपत्र र ध्यानार्कषण पत्र नबुझाएको कुनै संस्था वा निकाय छैनहोला ।’ पहिरो गएको ६ वर्ष बितिसक्दा पनि सो ठाउँमा कोही पनि फर्किएका छैनन् । अहिले पहिरो थापिएको भए पनि घरबनाएर बस्न कसैले पनि आँट नगरेको तिवारी बताउँछन् ।

अझै आशा मरेको छैन

गत साउन १९ गते प्रतिनिधीसभाको बैठकमा योगेश भट्टराईले प्राकृतिक विपत्तिमा परी घरबार विहीन भएकाहरुलाई आवास निर्माणको ५ लाख दिने विषयमा कुरा उठाएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँडले सार्वजनिक महत्वको विषयमा राखेको वक्तव्यमा भट्टराईले प्रश्न गरेपछि गृहमन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई विवरण पठाउन निर्देशन दिएका थिए । संसदमा कुराउठेपछि आफूहरू अझै पनि आशामा रहेको पीडित बताउँछन् ।

‘संसदमा कुरा उठेको रहेछ, अझै पनि आस मरेको छैन’ पहिरो पीडित तिवारीले भने । यता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले विवरण पठाइसकेको बताएका छन् । ‘मन्त्रालयबाट विवरण पठाउन निर्देशन भए बमोजिम खोक्लिङ र लिवाङका सहित जिल्लामा भएका प्राकृतिक विपद्का घटनाको विवरण पठाएका छौँ’ प्रजिअ पाण्डेले भने । उनका अनुसार ०७२ सालमा गएको बाढी पहिरोमा परि विस्थापित परिवारको संख्या ६६ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.