स्थानीय तहको अनियमितता हेर्न अख्तियारको टोली कैलालीमा
धनगढी : कैलालीको गोदावरी नगरपालिकासहितका स्थानीय तहमा भएको अनियमितता छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली सुदूरपश्चिम आएको छ । आयोगका डिभिजनल इन्जिनियर राजेश कुमार दास नेतृत्वको टोली सुदूरपश्चिम आएको हो । मंगलबार आएको टोलीले, यस क्षेत्रका स्थानीय तहहरुमा भएको विकास निर्माणको अनुगमन गर्नेछ ।
'उजुरी परेर आएको होइन, हामीहरुको स्थानीय तहमा नमूना अनुगमन पनि हुन्छ, त्यसैका लागि आएको हो,' डिभिजनल इन्जिनियर दासले भने । उनले कुन कुन स्थानीय तहमा के के कामको परीक्षण हुनेबारे भने बताउन चाहेनन ।
‘अहिले म त्यो बताउन सक्दैन, हामीसँग उजुरी होइन, केही निर्माण कामको गुणस्तर र त्यसमा भएको अनियमितताको चेकजाँचका लागि आएका हौं, यो सबै जानकारी प्रवक्ताले दिने चलन छ,'दासले भने ।
अख्तियारको कञ्चनपुर कार्यालयका प्रवक्ता हरिश चन्द्र जोशीले पनि अख्तियारको केन्द्रको टोली आएको बताए । ‘हामीहरुलाई आएको मात्रै जानकारी छ, तर कुन कुन योजनामा अनियमिता भएको हो र कुन कुन तहमा छापा मार्छ भन्नेबारे कुनै पनि जानकारी छैन,' उनले भने ।
कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले पनि अख्तियारको टोली आएको बताए । ‘अख्तियारको नियमित कार्यक्रम हुन्छ, त्यस कार्यक्रमअन्तर्गत, टोलीले ‘रेन्डमली’ केही हेर्छ, मलाई त्यत्ती मात्रै जानकारी भएको छ, 'प्रमुख प्रशासकीय अधिकृत जोशीले भने ।