पाल्पामा विजय उत्सव
तानसेन : तत्कालीन नेपाली सेनाले अंग्रेजलाई युद्धमा पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव मनाईएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको २०३औँ पाल्पाको ऐतिहासिक भगवती जात्रा मन्दिर परिसरभित्रै मनाईएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भगवती मन्दिर गुठी व्यवस्थापन समितिले परम्परा इतिहास नटुटोस भनी मंगलबार जात्रा निकालेको हो । गत वर्षदेखी कोभिड-१९ को कारण सिमित व्यक्तिहरुको सहभागितामा परम्परा, इतिहास जोगाउन मन्दिर परिसरभित्रै भगवती विजय उत्सव गरिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राजेश्वर उदयले बताए । विजय उत्सवको मुर्ति मंगलबार १२:३० बजे निकालिएको लियो ।
वि.स. १८७१ देखी १८७२ सम्मको अंग्रेजसँगको युद्धमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झना स्वरुप वि.स. १८७६ देखी यो विजय उत्सव मनाउन थालिएको हो ।
तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा रहेका नेपाली सेनाले जितगढी नुवाकोट युद्धमा विजय प्राप्त गरेको थियो । लडाईमा जानुअघि कर्णेल सिंहले युद्ध जितेमा भव्यताकासाथ भगवतीको सिंदुरजात्रा गर्ने भाकल अनुसार प्रत्येक भाद्र कृष्णपक्षको नवमी दिन विजयउत्सव मनाउने परम्परा रहदै आएको संस्कृतीविद निर्मल श्रेष्ठले बताए।
गत वर्ष पनि कोभिड-१९ संक्रमणको कारण रथजात्रा नगरी भगवतीको मुर्ति मात्र मन्दिर वरीपरी घुमाईएको थियो । पाल्पालीहरुले भगवतीजात्रालाई ठुलो उत्सवको रुपमा मनाउँदै आएका छन् । राष्ट्रियता महत्वको ऐतिहासिक भगवतीजात्राको दिन लुम्विनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा दिएको छ ।
साईतमा विजय उत्सवको मुर्ति मन्दिर बाहिर निकाली ३ पटक भगवती मन्दिरको परिक्रमा गरी निशान, नेपाली सेना, प्रहरी बाट सलामी दिएर निशान भगवती मन्दिरमा परिक्रमा गराईएको थियो । कोभिडभन्दा पहिले भगवतीको विजय रथ तानसेन नगर परिक्रमा गरी साझ ६ बजे सम्म विर्सजन गर्ने परम्परा रहेको थियो ।
गत वर्ष देखी पाल्पामा मनाईने सबै किसिमका जात्राहरु मन्दिर तथा घर घरमा सिमित रहे । कोभिडको कारण कला, संस्कृती लोप हुने होकि भन्ने चिन्ता पाल्पालीहरुमा परेको शिक्षाविद बुद्धिप्रसाद शर्माले बताए । पाल्पामा श्रावण महिना देखी भाद्र महिना सम्म विभिन्न किसिमका जात्रा निकाल्ने परम्परा रहेको छ ।
प्रतिक्रिया दिनुहोस !