जनता उठाउने गायक
भारत, हङकङ तथा कोरिया लगायतका केही देशमा उनले प्रस्तुतिहरू दिए भने केही एकल प्रस्तुति स्वदेश र विदेशमा दिए।
२०३६ सालतिरको कुरा हो। झापा जिल्लाको बुधबारेमा बसाइ थियो। बाल्यकालीन कालखण्डका केही कुरा सम्झना आउँछन्। गाउँमा बहुदलको नाटक बुधबारे बजारमा हुँदैछ भनेर गुच्चा खेल्ने साथीले भने। त्यतिखेर गीति कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमलाई पनि नाटक भन्ने चलन थियो। आज सोच्दा लाग्छ, तत्कालीन पञ्चायती व्यवस्थाको विरोधमा कलाका माध्यमबाट जनजागरणको बिगुल फुक्ने कार्य त्यो कार्यक्रममा गरिएकाले त्यस्तो कार्यक्रमलाई बहुदलको नाटक वा बहुदलीय नाटक भनिएको हुनुपर्छ।
बुधबारे बजारको चोकमा राति आठ बजेदेखि सुरु भयो कार्यक्रम। नाटक भनेर आएका हामी भुराले गीतैगीतको त्यो कार्यक्रमलाई चाख मानेर हेर्यौं र सुन्यौं। र्दुइ महिला कलाकार थिए, तिनको नाम सम्झनामा छैन। बाँकी पुरुष कलाकार थिए। ती पुरुष कलाकारले गाएका केही गीत जान्नेसुन्ने भएपछि पनि त्यत्तिकै चर्चित भएकाले ती मध्येका दुई कलाकार जे.बी. टुहुरे र शम्भु राई थिए भन्ने कुरा चार वर्षपछि ज्ञात भयो। कृतिगत रूपमा चिनजान भएको थियो जे.बी. दाइसित। त्यतिखेर ईलामको घरबाट हामी जाडो छल्न झापा झरेका थियौं। जाडो सकिएपछि ईलाम फर्कियौं। सुखद् सञ्जोग नै भनौं, जे.बी. दाइको टोली जनताका गीत गाउँदै इलाम पनि आयो।
इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको प्रांगणमा पुनः त्यो कार्यक्रम हेर्न पाएका थियौं।
गीतसंगीत भन्नु मायाप्रीतिको खेल र यौवनको उन्माद मात्र होइन। यो त समाजलाई अग्रगति दिने माध्यम पनि हो भन्ने कुरा जे. बी. टुहुरेले परिभाषित गर्न पुगे।
कार्यक्रममा गाइएका गीतको अन्तर्य त पाँच वर्षपछि मात्र बुझें। हामी स्कूले ठिटा बाटोमा हिँड्दा पनि आमा दिदी बहिनी हो... सारंगी बजाउँदै गाउँदै गीत सुनाउँदै (रचना/संगीत शम्भु राई) तथा स्नेहका मुहान नारीका मन अचानो बन्दछन्... (रचना मञ्जुल र संगीत रामेस) आदि गाउँदै वा गुन्गुनाउँदै बजार र गाउँबस्ती हिँड्थ्यौं। एउटा दुःखद् घटना त्यसको केही महिनापछि तत्कालीन नेकपा (माले) का लोकप्रिय नेता रत्नकुमार बान्तवाको इलामको चित्रे गाउँमा हत्या भएछ। हामी भुराभुरीले थाहा पाउने कुरा थिएन र पाए पनि बुझ्ने कुरा भएन। त्यसपछिको ईलाम क्षेत्रमा भएको भयानक दमनले धेरै मान्छे जेलमा जाकिए। एकदिन हामी तिनै जे.बी. र शम्भु दाइको गीत गाउँदै बाटोमा हिँड्दै थियौं, एक जना क्याम्पसका प्राध्यापकले भने, ‘एकान्तमा बोलाएर त्यस्तो गीत गाएको पुलिसले थाहा पायो भने जेलमा थुन्छ।’
त्यसपछि हामीले ती गीत गाउन छाड्यौ। ती क्याम्पसका प्राध्यापक पछि बुझ्दै जाँदा वामपन्थी विचारका र तत्कालीन नेकपा माले निकटका रहेछन् भन्ने थाहा भयो। अझ त्यसको तीन चार वर्षपछि थाहा भयो त्यो गीतियात्रा संकल्प परिवारको आयोजनामा भएको रहेछ। जो त्यतिबेलाको नेकपा मालेको सांस्कृतिक मोर्चा रहेछ। जे.बी. दाइसित अनौठो तर अभौतिक चिनजान भएको थियो। संकल्प परिवारले प्रकाशन गरेका जनताका गीत हामीले छ भागमा पनि पढ्यौं। त्यसपछि जे.बी. दाइको थप परिचय मिल्यो। २००१ कात्तिक १५ गते धरानको पुतलीबजारमा बाबु कृष्णबहादुर र आमा दानदेवीको कोखबाट जन्मेका जे.बी.को वास्तविक नाम जुठबहादुर खड्गी थियो। उनीअघिका पाँच सन्तान अल्पायुमै ज्यान गुमाएकाले गाउँघरको अन्धविश्वासी चलनले उनी जन्मेपछि उनलाई घरको जुठेल्नोमा राखिएको रहेछ।
यसरी उनको नाम जुठबहादुर खड्गी रहन गएको हो भनेर जे.बी. आफैं भन्थे। अर्काे अन्धविश्वासी चलन के पनि रहेको थियो भने धेरै सन्तान मरेपछि जन्मेको सन्तानको नाम समाजले हरदम नपचाउने किसिमको राख्नुपर्छ भन्ने थियो। १७/१८ वर्षमा उनी भागेर काठमाडौं आए। रेडियो नेपालमा गीत रेकर्डिङ गरी गायनयात्रा सुरु गरे पनि उनी क्रमशः रेडियो छाडेर वामपन्थी विचारधारातिर ढल्किएका थिए। तत्कालीन झापाली समूह पूर्वकोशी प्रान्तीय कमिटि कोर्डिनेसन केन्द्रमा विलय भएपछि जे.बी. दाइ पनि त्यसै पार्टीतिर ढल्किए। ३५/३६ सालको जनसंघर्षमा गीतसंगीतको माध्यमबाट जनताका घरआँगनमा पुगे। गीतसंगीत भन्नु मायाप्रीतिको खेल र यौवनको उन्माद मात्र होइन। यो त समाजलाई अग्रगति दिने माध्यम पनि हो भन्ने कुरा टुहुरेले परिभाषित गर्न पुगे।
एकदेव ज्ञवालीको रचना रहेको गीत आमा दिदी बहिनी हो..., बसाइँ हिँड्नेको ताँतीले..., छोराहरू हो छोरीहरू हो..., आमा तिम्रो माया कञ्चन पानी जस्तो..., सानो नानी सानो नानीजस्ता युगान्तकारी गीत आफ्नो सांगीतिक जीवनमा उनले दिए। कतिपय गीतरचना र संगीतको संयोजन पनि गरेका छन्। उनको प्रतिनिधि गीत आमा दिदी बहिनी हो... को रचनागर्भमा जनगायक रामेस र बम देवानका पनि शब्द परिमार्जन गर्न ठूलो योगदान छ। आफ्ना झन्डै साढे पाँच दशकको जागरणमूलक सांगीतिक अभियानमा उनले १५० जति गीतको सिर्जना गरे। उनका गीतमा संगीतको शास्त्रीय विधिपद्धति खोज्नुभन्दा समाजलाई अग्रगमनतिर लैजान गरेको योगदान खोज्नुपर्छ। राजनीति र घरायसी कारण उनको औपचारिक अध्ययन धेरै माथि पुगेन। फेरि त्यतिखेरको बुर्जुवा शिक्षा बहिस्कारको नाराले पनि उनलाई तान्यो होला।
जीवनको विश्वविद्यालयका जनतारूपी विद्यार्थीलाई उनले आजन्म जनचेतनाको शिक्षादिक्षा दिए। जे.बी. दाइको सम्झनलायक पाटो यो हो। उनले मात्र तीन कक्षा औपचारिक रूपमा पढे। बरु बाबुको व्यापारव्यावसायलाई भरथेग गर्दै पूर्वका धेरै सहरबजारमा डुले। धेरैपटक पञ्चायती जेलमा परे। तत्कालीन व्यवस्थाबाट धेरै भौतिक आक्रमण पनि सहे। धरान छाडेर लेटाङ शनिश्चरे, मोरङको बेलबारी हुँदै विराटनगरको ट्राफिक चोकमा लज व्यवसाय पनि गरे जे.बी.ले। कामरेडहरू लजमा सुत्न बस्न आउने र उधारोमा सुतेर जाने तर जिन्दगीभर त्यो उधारो तिर्न नसम्झने कारणले उनले त्यो लज छाडे।
२०३९ सालमा त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा हाम्रो गीत हाम्रो आवाज नामक गीति कार्यक्रम उनै टुहुरेको नेतृत्वमा भएको थियो। त्यसको केही समयअघि पञ्चायती शासकहरूले सिन्धुपाल्चोक जिल्लाको पिस्करमा ठूलो नरसंहार मच्चाएका थिए। त्यो नरसंहारमा शहादत प्राप्त गर्ने कर्णबहादुर र इले थामी बन्धुहरूको स्मरणमा उनको रचना, संगीत र स्वरमा प्रस्तुत भएको गीत जाडो याम माघको महिना जून पनि लुकेछ नामक विचारोत्तेजक गीतले त्यहाँका दर्शकको रगत उमालेको थियो। मुलुकमा बहुदलीय व्यवस्थाको आगमनपछि हिजो जसको विरोधमा टुहुरेले गीतमार्फत विरोधका स्वर उराले, तिनै पात्रहरू नेताको धुपौरे हुँदै सत्ताको चास्नीमा मार्न पुगेपछि उनी केही मर्माहत पनि बने।
चुनावका बेलामा नेतालाई जिताउन हरेक कार्यक्रममा गाइनेका रूपमा कलाकारको उपयोग गरिएको महसुस उनलाई हुन थाल्यो। तर, नेकपा माओवादीले दोस्रो संविधान सभामा समेत पुर्यायो। यसरी टुहुरेको जीवनमा पहिलो पटक उनको इतिहासको मूल्यांकन भयो। यसरी एमाले नेताहरूले गाइने बनाएका टुहुरेलाई माओवादीले संविधान सभामा पुर्याएको थियो। हुन पनि हो पहिलो संविधान सभामा माओवादीप्रति प्रतिवद्ध जनयुद्धको
भट्टीबाट खारिएर आएका गायक संगीतकार खुसीराम पाख्रिन सभासद भए। यसअघि एमालेको कोटाबाट उनी सांस्कृतिक संस्थानको अध्यक्ष तथा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य भएका थिए।
भारत, हङकङ तथा कोरिया लगायतका केही देशमा उनले प्रस्तुतिहरू दिए भने केही एकल प्रस्तुति स्वदेश र विदेशमा दिए। दुई वर्षअघि पनि काठमाडौंको प्रज्ञा भवनमा उनको एकल प्रस्तुति टुहुरेको निरन्तरता आयोजना भएको थियो। दुई वर्षअघि छोरी निर्भिकाले जे.बी. टुहुरे फाउन्डेसनको आयोजनामा आगामी असोजमा उनको जन्मस्थान धरानमा एकल प्रस्तुतिको आयोजना हुँदै थियो। जसलाई उनले आफ्नो अन्तिम एकल प्रस्तुति बनाउने इच्छा गरेका थिए। स्वर्गीय नेता मदन भण्डारीको सम्झनामा उनको रचना, संगीत र स्वर रहेको गीत ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ, देशभक्त छोरो मर्दा देशै रुँदो रैछ...’ नामक गीत त्यतिबेला बौद्धिक वर्गका बीचमा पनि चर्चाको विषय बनेको थियो। बीस वर्षको छँदै बाबु गुमाएका उनले टुहरे उपनाम राखेका थिए। र, अन्तमा २०७८ भदौ १० गते श्रमजीवी जनतालाई टुहुरो बनाउँदै अनन्तमा बिलाए। अलविदा जे.बी. दाइ तिम्रो ऋण मुलुकले आजन्म तिर्न सक्दैन।
प्रतिक्रिया दिनुहोस !