लिभरपुल शीर्ष स्थानमा
लन्डन : लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसमाथि सहज जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।
एकपक्षीय खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले हरायो। घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने, मोहमद सलाह र नेवी केइटाले एक÷एक गोल गरेका थिए। खेलको ४३औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ७८औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए। त्यसपछि ८९औं मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए।
जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले पाँच खेलबाट १३ अंक जोडेको छ। क्रिस्टल प्यालेस पाँच खेलमा पाँच अंक जोड्दै १४औं स्थानमा छ।
यसैगरी अर्को खेलमा एस्टनभिल्लासँग एभर्टन स्तब्ध बनेको छ। एस्टनभिल्लाले घरेलु मैदानमा एभर्टनलाई ३–० गोलले पराजित गरेको हो। खेलको ६६औं मिनेटमा म्याटी क्यासले गोल गर्दै एस्टनभिल्लालाई अग्रता दिलाएका थिए। ६९औं मिनेटमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि एस्टनभिल्लाले २–० को अग्रता बनाएको थियो। त्यसपछि खेलको ७५औं मिनेटमा लियोन बेलीले गोल गर्दै एस्टनभिल्लालाई ३–० को सहज जित दिलाए। जितसँगै एस्टनभिल्लाले पाँच खेलमा सात अंक जोड्दै १०औं स्थानमा छ। एभर्टन १० अंक जोडेर पाँचौं स्थानमा छ।
इङ्लिस प्रिमियर लिग फुटबलकै अन्य खेलमा म्यानचेस्टर सिटी र साउथह्याम्टनले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा ब्रेन्टफोर्डले उल्भलाई २–० र वाटफोर्डले नर्विच सिटीलाई ३–१ ले पराजित गर्यो।
प्रतिक्रिया दिनुहोस !