गण्डकी प्रदेश र प्रदेश २ बिच धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य
पोखरा : गण्डकी प्रदेश र प्रदेश नं २ सरकार पर्यटन विकास र प्रवर्द्धनका लागि सहकार्य गरेर अघि बढ्ने भएका छन्। दुई प्रदेश बिच आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बिहीबार पोखरामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै दुबै प्रदेशका मुख्यमन्त्रीले पर्यटन विकासका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन्।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणको यो बेला दुबै प्रदेश बिच आन्तरिक पर्यटक प्रवद्धनमा सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अघि बढ्नु पर्ने बताए। पर्यटन क्षेत्र मात्र होइन हरेक क्षेत्रको विकासका लागि सरकारी स्तरबाट इमान्दार प्रयास हुनु पर्नेमा संघीय सरकार र कर्मचारी इमान्दार नभएको उनले बताए।
संघीय सरकारको प्रदेश नं २ लाई हेर्ने दृष्टिकोण सिस्टम नै परिवर्तन नगरेसम्म सकरात्मक हुन नसक्ने अस्था देखिएको उनले बताए। गण्डकी प्रदेश सरकारको निमन्त्रणमा प्रदेश नं २ सरकारका मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा उद्योगी व्यवसायी सहितको टोली बुधबार पोखरा आएको हो। अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री रावतले भारतीय पर्यटकलाई आकर्षण गर्नु पर्नेमा जोड दिए।
विश्वमा अहिले सबैभन्दा धेरै खर्च गर्न सक्ने क्षमता भारतीयमा रहेको बताउँदै भारतीय पर्यटकलाई रंग, भाषा र बोलीचालीका आधारमा गलत व्यवहार भइरहेको बताउँदै यस्ता व्यवहार परिवर्तन गर्नु पर्ने मुख्यमन्त्रीले बताए।
अहिले युरोप, अमेरिकन, कोरियन लगायतका देशका पर्यटककोभन्दा भारतीय पर्यटकको खर्च गर्न सक्ने क्षमता बढेको भन्दै भारतीय पर्यटकलाई आकर्षित गर्न उनीहरुलाई गरिंदै आएको नकरात्मक व्यवहारमा परिवर्तन गरेर आकर्षण गर्नु पर्नेमा मुख्यमन्त्री रावतले जोड दिए। संघीय सरकार व्यवसायी मैत्री नभएको र व्यवसायीलाई चोरको जस्तो व्यवहार गरेर हतोत्साहीत बनाएको बताउँदै प्रदेश सरकार निजी क्षेत्रको साथमा रहेको बताए। लगानीको वातावरण तयार गर्न प्रदेश सरकार अघि बढेको पनि उनले बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग मिलेर पर्यटन विकासमा अघि बढ्ने प्रतिवद्धता जनाए। प्रदेश सरकारले क्षमता अनुसार सहयोग गर्ने पनि उनले सुनाए। दुई प्रदेश बिच धार्मिक, संस्कृतिक, प्राकृतिक सौन्दर्यतालाई आधार बनाएर पर्यटन विकासमा सहकार्य गर्दै अघि बढ्नु पर्नेमा उनले जोड दिए।
विकास र समृद्धिका लागि बाधक बनेका पञ्चायतकालीन कानुन संघीय सरकारले परिवर्तन गर्नु पर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिए। संघीयता अनुसार कानुन नबन्दा र प्रदेशलाई अधिकार दिदा राष्ट्रियता संकटमा पर्छ भन्ने मानसिकताले रहेको उनले बताए। अधिकार दिंदा होइन नदिंदा राष्ट्रियता संकटमा पर्ने पनि उनले बताए। यस्तै कारणले प्रदेश सरकारले चाहेर पनि काम गर्न नसकेको उनले सुनाए। प्रदेश प्रदेश सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिंदै प्रदेश बिचका समझदारीबाटै विकास र समृद्धिको आधार बन्ने बताए।
कार्यक्रममा नाट्टा केन्द्रीय अध्यक्ष अच्युत गुरागाईँले सरकारले विदेशी पर्यटन आउने ढोका बन्द गरेको भन्दै पर्यटन विकासका लागि दुई डोज कोरोना विरुद्धको खोप लगाएका पर्यटकलाई सहज रुपमा आउने व्यवस्था मिलाउन अनुरोध गरे।
कोरोनाका कारण दुई वर्ष ठप्प पर्यटन उद्योगलाई उठ्ने वातावरण बनाउनुको साटो सरकारले थप संकटमा धकल्ने काम गरेको पनि उनले सुनाए। भारतबाट आउने पर्यटकबाट नाकामा जनही ५ सय रुपैयाँ असुली हुने गरको पनि उनले बताए। वीरगञ्ज लगायतका सबै नाकाबाट आउने पर्यटकलाई हतोत्साहित पारिने गरेको उनले बताए।
वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पर्यटन विकासकालागि वीरगञ्ज र पोखरा महानगरपालिका बिच सहकार्य गरेर अघि बढ्नुको साथै दुई प्रदेश बिच सहकार्य गरेर अघि बढुनु पर्नेमा जोड दिए। हवाई सेवा महंगो भएकोले पर्यटक आकर्षित गर्न सडक मार्गको सुधार हुनु पर्नेमा जोड दिए।
सरकारका कारण विदेशी पर्यटक नेपाल आउने वातावरण नबनेको उनले बताए। स्वास्थ्यका मापदण्ड पुरा गरेर र खोप लगाएका पर्यटकलाई सहज रुपमा नेपाल प्रवेश गर्ने अवस्था सरकारले नगर्दा नेपाल आउन चाहेका पर्यटक पनि आउन सक्ने अवस्था नरहेको बताए। पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पनि भारतका नाकाबाट पोखरा जोड्ने राजमार्गका सडक सञ्जाल ध्वस्त हुँदा पर्यटन क्षेत्र पछि परेको बताए। पर्यटन मैत्री वातावरण बनाउन र पोखरा आएका पर्यटक नठगीने वातावरण बनाउन सरकारी संयन्त्र चुस्तदुस्त हुनु पर्नेमा उनले जोड दिए।
पर्यटन विकासकालागि पाँच बुदे अन्तर प्रदेश समझदारी
गण्डकी प्रदेश र प्रदेश नंम्बर २ का नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बिच दुई प्रदेशको पर्यटन विकासकालागि पाँच बुदे अन्तर प्रदेश समझदारी भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको रोहवरमा दुई प्रदेशका नाट्टाका अध्यक्षले पर्यटन
विकासका लागि दुई प्रदेश बिच सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका हुन्। समझदारीमा अन्तर प्रदेश बीच पर्यटकीय गन्तब्यको पहिचान, सम्बुर्द्धन र प्रचारप्रसार बढाउने। दुबै प्रदेशका बीच सिधा हवाई सेवाको निरन्तरता साथै प्रदेश नं २ को जनकपुर देखि पोखरासम्म थप हवाई सेवा बिस्तारमा जोड दिने। धार्मिक संस्कृतिक, पुरातात्विक संस्कृतिहरुको आदानप्रदानका साथै साहासिक खेल पर्यटनका सम्भावनाहरु बढाउने रहेको छ।
यसै गरी जनकुपुरको जानकी मन्दिर देखि त्रिवेणीधाम हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय सर्किटको प्रवद्धनमा जोड दिइएको छ। यसै गरी दुबै प्रदेशका सहकर्यका क्षेत्रहरु पहिचान गरी कार्यान्वयनमा ल्याउने पनि समझदारी भएको छ। समझदारी पत्रमा नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल र नाट्टा प्रदेश २ का अध्यक्ष मोहन प्रसाद शर्माले हस्ताक्षर गरेका छन्।
गण्डकी प्रदेश र प्रदेश नम्बर २ बिच आन्तरिक पर्यटन प्रवद्धन गर्ने लगायतका विषयमा बिहीबार पोखरामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतलाई मायाको चिनो दिंदै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र साथमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली। गण्डकी प्रदेश सरकारको निमन्त्रणमा प्रदेश नं २ सरकारका मुख्यमन्त्री सहितको टोली बुधबार पोखरा आएको हो।
प्रतिक्रिया दिनुहोस !