भ्रष्टाचारविरुद्ध नगरपालिकाको प्रवेशद्वारमा रिले अनशन

भ्रष्टाचारविरुद्ध नगरपालिकाको प्रवेशद्वारमा रिले अनशन

ढल्केवर(धनुषा) : धनुषाको सबैला नगरपालिका भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप लगाउँदै स्थानीय आन्दोलित भएका छन्। नगरपालिका भ्रष्टाचारको अखडा बनेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन्। भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समिति गठन गरेर केहिदिनदेखि उनीहरु भ्रष्टाचारविरुद्ध जागरण अभियान नै चलाएका छन्।

जागरण अभियान अन्तर्गत संघर्ष समितिले गत भदौं ४ गतेदेखि रिले अनशन शुरु गरेको छ। उनीहरु भ्रष्टचारविरुद्ध सबैला बजारस्थित रहेको नगरपालिका कार्यालयको प्रवेशद्वारमै टेन्ट बनाएर चार दिनदेखि रिले अनशनमा बस्दै आएका छन्। भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका सबैला नगरपालिका–१२ रघुनाथपुरका सुरेशकुमार यादवले गत जेठ २३ गते सूचनाको हक प्रयोग गर्दै विभिन्न ९ शीर्षकमा नगरपालिकासंग सूचना मागेका थिए। तर नगरपालिकाले महिनौंदिन वित्दा पनि सूचना दिन मानेन।

सूचना दिनुको साटो जनप्रतिनिधि र कर्मचारीहरु उल्टै धाँधली गरेपछि बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक यादवले बताए। नगरपालिकामा विभिन्न शीर्षकमा करोडौं रुपैयाँ अनियमितता भएको उनको आरोप छ। परामर्शकै नाउँमा नक्कली कागजात बनाएर बजेट निकासा गरी एक करोड रुपैयाँ जनप्रतिनिधि र कर्मचारीहरुले बाँडेर खाएको यादवले आरोप लगाए। उनका अनुसार गत असारमा बासमती धानको बीउ वितरण गरेको भन्दै फर्जी कागजात तयार गरेर १९ लाख रुपैयाँ निकासा गरेको छ। त्यसमा भने ५० ग्राम पनि बीउ वितरण नगरिएको संयोजक यादवको दावी छ।

यस्तै गत आर्थिक वर्षमा सबैलादेखि खरिहानीसम्म(दुर्गा पथ)को सडक निर्माणका लागि सर्लाहीको डीपीआर बुझाएर नगरपालिकाबाट ५५ लाख रुपैयाँ निकासा गरेको संघर्ष समितिका अर्का संयोजक रामबहादुर साहको दावी छ। उनले अर्कोतर्फ नगरपालिकाका जनप्रतिनिधिहरु बसेको एक घण्टाको गोष्ठीमा मात्रै ४० लाख रुपैयाँ खर्चिएको दावी गरे। ‘हामी हसहिसाब माग्दै चारदिनदेखि रिले अनशनमा बसेका छौं। मेयर सा’ब हाम्रो अगाडसबाटै जानुहुन्छ तर हामीलाई केही सम्बोधन गर्नुभएको छैन,’ आक्रोशित हुँदै साहले भने ‘हरहिसाब पार्दर्शी नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’

यीनै विषयहरुसहित विभिन्न शीर्षकमा आवश्यक अनुसन्धान र कारबाहीका लागि संघर्ष समितिका तर्फबाट संयोजक सुरेशकुमार यादवले गत भदौं २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय बर्दिवास महोत्तरीमा उजुरी गरेको छ। तर अख्तियारले पनि आफूहरुको उजुरीमाथि अहिलेसम्म कुनै कामकारबाही सुरु नगरेको यादवले गुनासो गरे। अब २–४ दिनमै सर्वदलिय बैठक बसेर भ्रष्टाचारविरुद्ध थप शसक्त भएर अघि बढ्ने संयोजक यादवको भनाइ छ।

भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समिति सबैलाका संयोजक सुरेशकुमार यादव। 

नगरपालिकाको सूचना सम्पूर्ण नगरवासीले पाउनुपर्ने अधिकार रहेकोले वेबसाइटमार्फत नै सूचना उपलब्ध गराउने तयारी रहेको नगरपालिकाका सूचना अधिकारी रंजित यादव बताउँछन्। उनले आइटी अफिसरको अभावमा हालका लागि वेबसाइटमा सूचना उपलब्ध नरहेको बताए। ‘सूचनाको हक सबैलाई छ। सबै सूचनाहरु वेबसाइटमा अपलोड गर्ने काम हुँदैछ। सम्भवत दशैसम्म सबै सूचना सहज रुपमा उपलब्ध हुन्छ,’ सूचना अधिकारी यादवले भने। उनले नगरपालिकाको प्रवेशद्वारमा किन र केका लागि रिले अनशन बसेको हो भन्नेबारे आफूलाई केहि थाहा नभएको जिकिर गरे।

यता नगरपालिकाकी उपमेयर निलु देवी कापरले आनदोलनरत पक्षको माग जायज रहेको बताइन्। नगरपालिकाको हरहिसाब खोज्नु सबै नगरबासीको हकअधिकार रहेको उनी बताउँछिन्। ‘हरहिसाब पार्दर्शी हुनुपर्छ। नगरबासी जो कोहीले मागेको सूचना दिनुपर्छ। अब नगरप्रमुख र कार्यालय प्रमुखले किन त्यो सूचना दिनखोज्नु भएन त्यो उहाँहरुलाई थाहा होला,’ उपमेयर कापर भन्छिन् ‘मलाई जहाँसम्म लाग्छ हरहिसाबमा ठूलो घोटाला भएको होला। त्यसैले हरहिसाब दिन डराउँदैछ।’ नगरपालिकाको अवस्था अस्तव्यस्त रहेको उनले सुनाइन्।

यता नगरपालिकाका मेयर विजय शंकरप्रसाद साहले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप निराधार रहेको बताए। आफूले नगरपालिकाको कुनै पनि शीर्षकमा अनियमितता नगरेको उनले जिकिर गरे। आन्दोलनरत पक्षले सुरु गरेको रिले अनशनको औचित्य नरहेको मेयर साहको भनाइ छ। आन्दोलनरत पक्षसँग वार्ताको माध्यमबाट निराकरण गर्नेतर्फ आफ्नो प्रयास रहने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.