महँगिए हिमाली भेडा–च्याङग्रा

महँगिए हिमाली भेडा–च्याङग्रा

पोखरा : दसैं लागेसँगै हिमाली जिल्लाबाट पोखरामा भेडा–च्याङ्ग्रा भित्रिन्छन्। सोह्र श्राद्ध सकिएसँगै भित्रिने भेडा–च्याङ्ग्रा किन्न पोखराको हेमजा, यमदी, टुँडिखेलमा मेला नै लाग्छ। 

यतिबेला पोखरामा दसैं लक्षित गरेर आइतबारसम्म ८ हजार दुई सय भेडा–च्याङ्ग्रा भित्रिएको पोखरा महानगरपालिकाका पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए। ७ हजार च्याङ्ग्रा र १२ सय भेडा आइतबारसम्म पोखरा भित्रिएका छन्। 

पोखरामा भेडा–च्याङ्ग्रा भित्रिने क्रम नवमीसम्म हुन्छ। गतवर्ष दसैंमा २५ हजार भेडा–च्याङ्ग्रा भित्रिएको पनि उनले बताए। मुस्ताङ, दार्चुला, डोल्पा, बजाङलगायतका हिमाली क्षेत्रबाट पोखरामा भेडा–च्याङ्ग्रा भित्रिएको अधिकारीले जानकारी दिए। 

दसैंका लागि खसीबोका भने अहिलेसम्म ६ हजार ५ सय मात्रै भित्रिएको र अझै भित्रिने क्रम जारी रहेको अधिकारीले बताए। यो वर्ष भेडा–च्याङ्ग्रा किनेर खानै नसक्ने गरी महँगो भएको उपभोक्ताले बताएका छन्। गतवर्ष प्रति च्याङ्ग्रा रोजेर ३१ हजार रुपैयाँसम्म पाइएकोमा यो वर्ष भने मुल्य बढेर २२ हजारदेखि ४५ हजार रुपैयाँ पुगेको पोखरा लामाचौरका गुप्तबहादुर थापाले बताए।  यही मुल्य हिसाव गर्दा च्याङ्ग्राको मुल्य प्रतिकिलो २ हजार रुपैयाँ बढी हुने उनले सुनाए। पोखरा ८ सिमलचौरका गमबहादुर पुनले पोखरेलीको दसैंमा च्याङ्ग्रा खाने संस्कृति महंगीको मारमा परेको तथा १० वर्षअघि प्रति गोटा ६–७ हजारमा पाइने च्याङ्ग्रा प्रत्येक वर्ष मुल्य वृद्धि हुँदै अहिले त किनेर खानै नसक्ने गरी मुल्य बढेको बताए। 

मुस्ताङमा भेडा–च्याङ्ग्रा खरिदमै यस वर्ष महंगो भएकोले मुल्य बढेको व्यवसायी ईन्द्रप्रसाद ढकालले सुनाए। ८३ वटा च्याङ्ग्रा मुस्ताङबाट ल्याउँदा गाविस, स्थानीय क्लब, भेटनेरीलगायतलाई कर तथा अन्य शुल्क तिर्दा १५ हजार बढी परेको उनले सुनाए। चीनको तिब्बतबाट मुस्ताङ हुँदै पोखरासम्म भेडा–च्याङ्ग्रा आइपुग्थे। 

यस वर्ष चीनबाट भेडा–च्याङ्ग्रा नभित्रिनुले मूल्य बढेको व्यवसायीले बताएका छन्। मुस्ताङमै एउटा च्याङ्ग्रालाई ३८ हजार ५ सयसम्म परेको र विभिन्न ठाउँमा लाग्ने कर समेत तिर्नुपर्दा मुल्य बढेको उनले सुनाए। मुस्ताङमा खान बस्न महंगो हुनु, बाटैपिच्छे चौरमा तथा खर्कमा च्याङग्रा चरेको भन्दै छुट्टै रकम तिर्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन्। 

पोखरामा दसैं लक्षित गरेर करिव ७ हजार खसी बोका भित्रिएको समय संसार पोखरा मिलिजुली कृषि फर्मका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए। नवमीसम्म खसीबोका आउने भएकाले यस वर्ष पोहोरभन्दा केही बढी खासीबोका भित्रिने उनले सुनाए। यस वर्ष खसीबोकाको मूल्य गत वर्षभन्दा केही मात्रामा मात्र बढ्ने उनले बताए। गत वर्ष जिउँदो प्रतिकेजी ६ सयदेखि ६ सय ४० रुपौयाँमा कारोबार भएकोमा यस वर्ष प्रति खसीबोका ६ सय २० देखि ६ सय ६० रुपौयाँसम्म कारोबार भइरहेको उनले बताए। 

च्याङ्ग्रा खाने संस्कृति करिब सय वर्षदेखि हिमाली क्षेत्रमा चरेर जडिबुटी खाएका भेडा–च्याङ्ग्रा स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ भन्ने विश्वास पोखरेलीमा छ। यसैले पनि पोखरेली माझ वर्षको एकपटक दसैंमा हिमाली क्षेत्रबाट ल्याइएका भेडा–च्याङ्ग्रा खाने संस्कृति नै बनेको स्थानीय बताउँछन्।  

पोखरामा भेडा–च्याङ्ग्रा दसैंमा भित्रिन थालेको इतिहास करिब सय वर्ष जति भएको कवि तथा संस्कृतिविद् तीर्थ श्रेष्ठ बताउँछन्। ‘हामी सानो छँदा नै दसैंमा भेडा–च्याङ्ग्रा खाने चलन थियो’ संस्कृतिविद श्रेष्ठले भने, ‘त्यति बेला ३–४ घर परिवार मिलेर एउटा च्याङ्ग्रा किन्ने चलन थियो।’ ‘यसरी किनेको च्याङ्ग्रा सबै मिलेर तयार पारिन्थ्यो। एक–एक खुट्टा खाने भन्ने चलन त्यतिबेला थियो’, उनले सम्झिए। अहिले भने दसैंमा मात्र होइन तिहारमा पनि हिमाली च्याङ्ग्रा भित्रिन थालेका छन्। बुचरले भेडा–च्याङ्ग्रा किनेर बिक्री गर्न थालेको पनि ४–५ वर्ष भइसकेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.