४९ परिवार विस्थापित, जगन्नाथ गाउँपालिका कार्यालय बगायो
बाजुरा : निरन्तर वर्षापछि आएको बाढीबाट जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका १ माझ गाउँका ४७ परिवार र त्रिवेणी नगरपालिका ४ का २ परिवार गरी ४९ परिवार विस्तापित भएका छन् । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डी पुरै बगाएको छ ।
जगन्नाथ गाउँपालिकाको केन्द्रको वडा नम्बर २ र ३ को सीमानामा पर्ने जुड्डी खोलामा आएको बाढीले गाउँपालिकाको कोरोना अस्थायी अस्पताल, गाउँपालिकाले प्रशासनिक काम संचालन गर्दै आएको टिनको टहरालगायत बगाएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले जानकारी दिए।
मानवीय क्षति नभए पनि भौतिकरुपमा ठूलो मात्रामा क्षति भएको अध्यक्ष शाहीले बताए । बुधबार राति आएको जुड्डी खोलाको बाढीले गाउँपालिकाको केन्द्रतिरको भाग कटान गरेपछि गाउँपालिकाको भवन बगाएको अध्यक्ष शाहीले बताए ।
बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका ७ कोठामा क्षति पुगेको रोजगार संयोजक लक्ष्मण जोशीले बताए। त्यस्तै, ५ शैयाको अस्थायी कोरोना अस्पताल गाउँपालिकाको सभा हल पनि बगाएको छ । कार्यालयका फर्निचर, श्रेष्ता, औषधि, उपकरण, कम्प्युटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, लुगाकपडा, गाँउपालिकाको खेल मैदान, जुड्डीखोला लघु जलविधुत योजनाको तार, पोल खोलाले बगाएको छ।
गाउँपालिका कर्णाली र जुड्डीखोलाको उच्च जोखिम छ। गाउँपालिकाको कार्यालयमा क्षति पुगेपछि कार्यालयको सम्पूर्ण काम प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत कुम्भराज जोशी बताए। कार्तिक १ गतेदेखि आएको अविरल वर्षाका कारण गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछि स्वामीकार्तिक खापर गाउँपालिका १ माझगाउँका ४७ परिवार विस्थापित भएका हुन् । त्रिवेणी नगरपालिका- ४ को मालागाड खोलाले कटान गर्न थालेपछि २ परिवार गरी ४९ परिवार बाढी पहिरोबाट विस्तापित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिए।
स्वामीकार्तिक खापर गाउँपालिकाका ४७ परिवारलाई स्थानीय जनप्रतिनिधि र स्थानीयले उद्दार गरी खोलीको आधारभूत विद्यालयमा राखेको माझगाउँका स्थानीय सतल विकले जानकारी बताए। प्रहरी नायब उपरीक्षक महराले दुई दिनदेखि सञ्चार सेवा विच्छेद भएका कारण जिल्लाको दुर्गम क्षेत्रको क्षतिको विवरण आउन नसकेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !