कलिलैमा बिहे, पढ्नै पाउँदैनन् छोरी!

कलिलैमा बिहे, पढ्नै पाउँदैनन् छोरी!

दैलेख : गुराँस गाउँपालिका-२ डुडापोखरास्थित दलित बस्तिका मोतीकला नेपालीको उमेर ३२ वर्ष। १७ वर्ष हुँदा नै उनको पहिलो सन्तानको रुपमा छोरी जन्मिईसकेको थियो। १२ वर्षको कलिलै उमेरमा उनको विवाह भएको थियो। बिहेपछि उनले पढ्न समेत पाइनन्।

‘छोरी हुर्किदै गएको भन्दै बाबुआमाले राम्रो केटा भनेर मागी बिहे गरिदिए,’ उनी भन्छिन्, ‘सानै उमेरमा बिहे गरेका कारण पढाई छुट्यो, अहिले मेरो स्वास्थ्य असाध्यै कमजोर छ, कमाएको पैसा जति औषधी उपचारमै सकिन्छ।’ उनका अहिले एक छोरा र एक छोरी छन्। दुवै सन्तान शल्यक्रियामार्फत जन्मिएको उनको भनाई छ।

‘कलिलैमा बिहे भयो, बालापनमै आमा बन्नु पर्यो, अहिले स्वास्थ्य अवस्था कमजोर बनेको छ, अर्कोतिर पढ्न पनि पाइँन,’ उनले भनिन्। मोतिकलाको सपना आफ्ना सन्तानलाई उच्च शिक्षा अध्ययन गराउने छ। आफूले उमेर नपुग्दै बिहे गरेकी उनी अहिले बाल विवाह विरुद्धकी अभियान्ता समेत हुन्। 

आमाको दुःखलाई नजिकबाट नियालेकी मोतीकलाकी छोरी १५ वर्षीया सुस्मिता उमेर नपुगी बिहे गर्नुहुँदैन भन्नेमा सचेत छिन्। कक्षा १० मा अध्ययनरत सुस्मिता भन्छिन्, ‘बाल विवाह कानूनी अपराध हो, बाल विवाह गर्दा स्वास्थ्यमा समस्या त आउँछ नै पढाई पनि छुट्छ।’ 

सोहि ठाउँकी यशोदा नेपाली २४ वर्षकी भइन्। उनका ३ सन्तान छन्। उनले कक्षा ५ मा पढ्दा पढ्दै १४ वर्षको उमेरमा बिहे गरेकी थिइन्। कानुनी रूपमा बिहे गर्ने उमेरमा उनी तीन छोराछोरीकी आमा बनिसकेकी थिइन्। बिहेपछि उनको पढाई छुट्यो। बालापनमै आमा बन्नुपर्यो। ‘पढ्ने उमेरमा छोराछोरीको स्याहार सुसारमा लाग्नुपर्यो,’ उनी भन्छिन्, ‘अहिले आएर पछुतो लाग्छ।’

२५ वर्षीया डिलु नेपालीको १५ वर्षको छँदा नै बिहे भयो। अहिले उनका तीन सन्तान छन्। आमाले दोस्रो बिहे गरेको र आर्थिक अवस्था कमजोर भएपछि कलिलै उमेरमा बिहे गर्नुपर्ने बाध्यता भएको डिलुको अनुभव छ। अहिले ३१ वर्ष पुगेकी टिका नेपाली भन्छिन्, ‘त्यतिखेरको बिहे रहर नभएर बाध्यता थियो।’ उनको पनि कलिलै उमेरमा विवाह भएको थियो। 

मोतिकला, यशोदा र डिलु जस्तै कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गरेकाहरु अहिले पछुताउँछन्। बाल विवाह गरेकाहरुको बिहेसँगै पढाईसमेत छुट्ने गरेको अधिकारकर्मीहरु बताउँछन्। 

पहिला मागेर हुने विवाह अहिले आफै गर्ने प्रचलन बढेको छ। कलिलो उमेरमै विवाह गर्ने कारण पारिवारिक संस्कारले पनि प्रभाव पार्ने गुराँस गाउँपालिकाकी जानकी पुनमगर बताउँछिन्। केहिले आर्थिक तथा सामाजिक कारण तथा कोही पढाई बिग्रेपछि कलिलै उमेरमा बिहे गर्र्ने गरेको उनको भनाइ छ। 

विवाह छिटो हुनुमा आर्थिक समस्या पनि एक प्रमुख कारण रहेको सोसेक नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारी बताउँछन्। ‘बाल विवाह नरोकिनुमा गरिबी प्रमुख कारण हो,’ अधिकारी भन्छन्, ‘केही यस्ता परिवार छन् उनीहरुलाई अहिले पनि बिहान खाए बेलुकी छाक टार्नको समस्या हुन्छ।’ अभिभावकले आफ्ना सन्तानको भावना नबुझ्दासमेत बाल विवाह बढिरहेको उनको भनाई छ। 

जिल्लामा बाल विवाह न्यूनिकरणका लागि थुप्रै प्रयासहरु पनि भएका भईरहेका छन्। हालै गुराँस गाउँपालिका–२ स्थित डुडापोखराको दलित बस्तिमा बालविवाह न्यूनिकरणका लागि अन्तरपुस्ता संवादको सुरुवात गरिएको छ। उक्त बस्तीमा २५ घरधुरीका बालबालिका र अभिभावकसँगै बसेर कसरी बालविवाह अन्त्य गर्न सकिन्छ भन्नेबारे संवाद गरिएको थियो। 

संवादमा कलिलै उमेरमा बिहे गरेकाहरुले भोगेको अनुभव सुनाए। संवादमा उपस्थित भएका बालबालिका तथा अभिभावकलाई बालविवाह कानुनी रूपमा दण्डनीय हुने र शारीरिक, मानसिक रूपमा दुर्बल हुने सुझाईएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.