सम्झौता अनुमोदन नगरेकामा एमसीसी ‘निराश’
काठमाडौं : अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नगरी संसद् अधिवेशन अन्त्य गरिएको भन्दै एमसीसी मुख्यालयले निराशा व्यक्त गरेको छ। अधिवेशन अन्त्य भएको कात्तिक १२ गते नै अमेरिकाको वासिङ्टन डिसीस्थित मुख्यालयले यो विषयमा विज्ञप्ति जारी गरी प्रतिक्रिया जनाएको हो।
उसले एमसीसी सम्झौतालाई अघि बढाउने/नबढाउनु अब नेपालकै हातमा रहेको स्पष्ट गरेको छ। उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमणका बेला संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले जनाएको विज्ञप्तिमा उल्लेख छ। ‘एमसीसी अनुमोदन नहुँदा लाखौं नेपाली यसबाट पाउने लाभबाट बञ्चित हुँदै छन्’, विज्ञप्तिमा लेखिएको छ। एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल सेप्टेम्बरमा नेपाल आएको थियो। सुमारले प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्ता गठबन्धनका सबै नेतासँग भेटवार्ता गरेकी थिइन्। उपाध्यक्ष सुमारसँगको भेटमा सरकारले एमसीसी संसद्बाट अनुमोदन गर्ने विश्वास दिलाएको थियो।
‘यद्यपि, गठबन्धन नेताहरूले कम्प्याक्ट (सम्झौता)लाई अनुमोदन गर्न आवश्यक कदमहरू बुझेका छन्, जुन नेपालको कानुनअनुसार आवश्यक छ’, विज्ञप्तिमा लेखिएको छ।
संसद्बाट सम्झौता अनुमोदनमा ढिलाइले २ करोड ३० लाखभन्दा बढी नेपालीलाई भरपर्दो ऊर्जा र सुरक्षित सडक पहुँच पुर्याउने महत्वपूर्ण ५० अर्बको अनुदान सहयोग नै जोखिममा परेको विज्ञप्तिमा उल्लेख छ।
सम्झौता अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनका दल नै विभाजित देखिएका छन्। कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्झौता संशोधन गरेर मात्रै अनुमोदन गर्नुपर्ने पक्षमा छन्।
जनता समाजवादी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि अनुमोदनका पक्षमा छन्। राष्ट्रिय जनमोर्चा भने एमसीसीको विरोधमा छ। प्रमुख प्रतिपक्ष एमाले भने सत्ता गठबन्धनको निर्णयअनुसार अघि बढने बताइरहेको छ।
तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २०७४ भदौ २९ मा नेपालका तर्फबाट वासिङटन डीसीमा एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए। एमसीसी मुख्यालयले ७० वर्षभन्दा बढी समयदेखि अमेरिका र नेपालले साझा मूल्य मान्यता, लोकतान्त्रिक आदर्श र विश्वासमा आधारित साझेदारी कायम गर्दै आएको जनाएको छ। उसले २०७२ सालमा विनाशकारी भूकम्पदेखि कोभिडसम्म सहयोग गरेको कुरालाई सम्झाएको छ।
विज्ञप्तिमा लेखिएको छ, ‘अमेरिकाले सन् २०१५ को भूकम्पपछिको विपद् सहायतादेखि हालसम्म १६ लाख कोभिड–१९ खोपको सहयोगसहित कोरोना भाइरसको महामारीमा अमेरिकाले नेपाललाई ठूलो सहयोग गरेको छ।’ एमसीसीबाट ५० करोड डलर अनुदान आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्न अमेरिका र नेपालबीचको बलियो साझेदारीको निरन्तरता हुने पनि विज्ञप्तिमा उल्लेख छ।