‘कार्यपालिकामा भाग खोज्नु न्यायिक इतिहासकै लज्जास्पद घटना’
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले आन्दोलन जारी राखेका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा बुधबार पनि कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा धर्ना दिएका हुन्।
धर्ना कार्यक्रममा बोल्दै ललितपुर जिल्ला बार अध्यक्ष अर्जुन महर्जनले कार्यपालिकामा भाग खोज्न न्यायिक इतिहासकै लज्जास्पद घटना भएको दाबी गरेका छन्। उनले नेतृत्वको आचरण, नैतिकता,स्वछताको प्रतिकुल भएको आरोप लगाएका छन्। उनले भने, 'न्यायिक इतिहासकै लज्जास्पद घटना हो। सहेर बस्न सक्दैनौ। न्यायपालिकाको गरिमा जोगाउन उहाँले निकास दिनुको विकल्प छैन।'
उनले राजनीतिक बलमा टिक्ने प्रयास गरे झन घातक हुने धारणा राखेका छन्। उनले भने, 'ठूलो ठूलो मुद्दामा सेटिङ छ। उहाँ बस्न लायक हुनुहुन्न। सिघ्र बहिर्गमन हुनुपर्छ। राजनितिक बलमा टिक्ने प्रयास गरे झन घातक हुन सक्छ।'
अधिवक्ता चुडामणि पौडेलले अहिलेको आन्दोलन न्यायमा सहज पहुँचको निम्ति गरिएको आन्दोलन भएको बताए। उनले भने , '२३ गतेदेखि थप कार्यक्रम गर्छौ। बिदा अवधिभर सम्मानजनक बहिर्गमन गर्नुस्।' उनले न्यायलयको नेतृत्वले प्रतिवेदन कार्यान्वयन नगर्नु गम्भीर चासोको विषय भएको स्पष्ट पारे।
अधिवक्ता टिकाराम भट्टराईले न्यायालयमा मुद्दा र न्यायाधीश तोक्ने ठोस मापदण्ड र पारदर्शिता नभएको उल्लेख गरे। उनले बिचौलियाको प्रभाव, दबाब र त्रास कायमै रहेको धारणा राखे। उनले न्यायालयभित्र आर्थिक विचलन र भ्रष्टाचार मौलाएकाले आन्दोलन गर्नुपरेको बताए।
प्रतिक्रिया दिनुहोस !