कानुन व्यवसायी बुधबार पनि आन्दोलनमा, सेवाग्राही मारमा
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले आन्दोलन जारी राखेका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर पहिलो चरणको अन्तिम दिन सर्वोच्च अदालत परिसरमा धर्ना दिएका हुन्। उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार र सर्वोच्चमा विरोध जनाएका हुन्।
यसअघि नेपाल बारले प्रधान्यायाधीशलाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटमको सकिदैछ। जबराले पदबाट राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने कानुन व्यवसायीहरुले बताउँदै आएका छन्। 
प्रधानन्यायाधीश जबराले अदालतको गरिमा कायम राख्न नसकेको भन्दै गत कार्त्तितक १४ गतेदेखि उनीहरु आन्दोलित छन्। जबराले भने सडकबाट राजीनामा दे भन्दैमा आफूले राजीनामा नदिने बताएका छन्। उनले सोमबार आन्दोलित न्यायाधीशसँगको छलफलमा आफूलाई वैशाखसम्म काम गर्न दिन प्रस्ताव राखेका थिए।
अदालतमा इजलास नचल्ने भएपछि कानुन व्यवसायी पक्ष-विपक्षमा उत्रिएका छन्। केही दिनअघि नेपाल बार एसोसिएसनका पदाधिकारीबीच विवाद हुँदा कुटाकुट समेत भएको थियो। आन्दोलित न्यायाधीशहरुलाई घिसारेरै भएपनि इजलासमा लैजानुपर्ने केही कानुन व्यवसायीहरुले माग गरेका थिए। हातमा सेतो पट्टी बाँधेका कानुन व्यवसायी र कानुनका विद्यार्थीहरुले यथाशीघ्र इजलास सूचारु गर्नुपर्ने माग राखेका थिए।
नागरिकको विवाद निरुपण गर्ने अदालत आफैं विवादमा रुमल्लिएको छ। वर्षौंदेखि थाति रहेका मुद्दाको सुनुवाइ नहुँदा सेवाग्राही मर्कामा छन्। न्यायाधीश र वकिल/ कानुन व्यवसायी आन्दोलनमा उत्रिएपछि सेवाग्राही मारमा परेको भन्दै आलोचना हुन थालेको छ।
प्रतिक्रिया दिनुहोस !