९ सय रोपनीको न धान रह्यो, न खेत
धनकुटा : चौबिसे गाउँपालिका–४ छब्बिसेका भीमबहादुर भुजेलले नावा खोलाछेउ ६ रोपनी खेतमा अधियामा धान रोपेका थिए। तर, बाढीले बाली त नष्ट गर्यो नै। खेतसमेत बगरमा परिणत भयो। जहाँ वर्षभरि खान पुग्ने धान फल्थ्यो। बाढीले नष्ट गरेपछि अब अन्नको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको भुजेल बताउँछन्।
‘बगर बनेको खेत हेर्दा विरक्त लाग्छ’, भुजेल भन्छन्, ‘वर्षमा धान तीन बालीसम्म पाक्ने खेत बगरमा परिणत भयो।’ अर्का स्थानीयवासी रवीन्द्र आचार्यको १३ रोपनी खेतको नामोनिशान छैन। ‘खेतमा रहेको धानको बाला हेर्दा यसपालि उत्पादन राम्रै होला जस्तो लाग्थ्यो’, आचार्य भन्छन्, ‘तर, अहिले नामोनिशान छैन।’

बाढीले क्षति गर्नुअघिको तमोर नदी र नावा खोलाको दोभानमा रहेको छब्बिसे फाँट। तस्बिर : हरिबहादुर लम्जेल
धनकुटा र पाँचथरको सीमाक्षेत्रमा रहेको नावा खोला तमोर नदीमा मिसिन्छ। तमोरसँग मिसिने ठाउँमा उब्जाउ बेंसी फाँट छ। साहूटार, खलंगे, सार्के, गाउँजे, बडारे हुँदै छब्बिसेसम्म धान फल्ने बेंसी फाँट छन्। त्यहाँ धनकुटा, पाँचथरसहित तेह्रथुमका किसानले धान खेती गर्थे। ती सबै फाँट कात्तिक पहिलो साता बाढीले पुरिदिएको हो।
धान पाकेर लहलह हुने बेला करिब ६० घरपरिवारको ९ सय रोपनी खेतमा बाढी पसेको चौबिसे–४ का वडाध्यक्ष नगेन्द्र तामाङ बताउँछन्। त्यहाँ उत्पादन हुने धानले किसानको वर्षदिन धान्थ्यो। तर, बाढीले मरुभूमिजस्तो बनाइदियो। खेत बालुवा नै बालुवाले भरिएको छ। नावाको खोलामा उर्लेको बाढी तमोरले छेकिदिँदा खेतमा पसेको वडाध्यक्ष तामाङको भनाइ छ।
२०२५ सालमा पनि बाढीले बगाइदिएको स्थानीय मानबहादुर आचार्य सुनाउँछन्। भन्छन्, ‘त्यो बेला पनि क्षति धेरै भएको थियो। पुन: ५३ वर्ष फेरि उस्तै नियति भोग्न पुग्यौं।’
वडाध्यक्ष तामाङका अनुसार यहाँको खेतमा वर्ष ३ बाली फल्थ्यो। किसानले धान, मकै, गहुँ, आलुलगायत खेती गर्थे। साउनको सिजनमा एक रोपनी क्षेत्रफलमा ६ मुरीसम्म धान उत्पादन हुन्थ्यो। मंसिरको बालीमा एक रोपनीमा ४ मुरीसम्म धान उत्पादन हुने उनी सुनाउँछन्। यसपटक भोकमरि हुने सम्भावना रहेको उनको भनाई छ।
छब्बिसेको बेंसी फाँटभन्दा माथिल्लो भाग डिहिटारमा धान रहे पनि सिँचाइ अभावमा सुक्न थालेको छ। यस फाँटमा बाढीले क्षति नपुर्याए पनि फाँटमा ल्याइएको करिब डेढसय मिटर कुलो बाढीले बगाएको छ। धान पसाएको बेला सिँचाइको आवश्यकता थियो। तर, कुलो भत्किएको कारण यो पटक बाली माया मार्नुपर्ने स्थिति रहेको पाँचथर तुम्मेवा–१ आङनाका सीताराम पौडेल बताउँछन्। उनका अनुसार डिहिटारमा दुई बाली धान र एक बाली गहुँ तथा तरकारी खेती हुन्थ्यो।
चौबिसे–२, ३, ४, ५ र ८ वडामा धान खेती हुन्छ। गत कात्तिक पहिलो साताको वर्षाले धानबालीमा मात्रै २ करोड ५ लाखबराबरको क्षति पुर्याएको चौबिसे गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक घनेन्द्र घिसिङ बताउँछन्। ‘वर्षाले बेंसी फाँटको धान बालीमा क्षति पुर्यायो भने माथिल्लो भेगमा अलैंची र तरकारी बालीमा’, उनी भन्छन्। धानबाहेक अलैंची, तरकारीजस्ता अन्य कृषिजन्य बालीमा ३ करोड ५० लाख रुपैया बराबरको क्षति पुर्याएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !