पुराना नेता जसपामा फर्किए
![पुराना नेता जसपामा फर्किए](https://annapurnapost.prixacdn.net/media/albums/jasapa_20211113115637_Fiw3vvvXB5.jpg)
विराटनगर : मधेश आन्दोलनका नेतृत्वकर्ता मृतुञ्जय झा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। झासहित पूर्व सभासद रमानन्द मण्डल र दिनेश यादव लगायतका प्रभावशाली युवासमेत गरी तीनसय जना विभिन्न पार्टीका अगुवा नेता तथा कार्यकर्ता जसपमा प्रवेश गरेका हुन्।
केही वर्षअघि मधेश आन्दोलनको अगुवा रहेका झा नेकपामा प्रवेश गरेका थिए। मधेशी जनअधिकार फोरम नेपालको संस्थापनाकालदेखि नै लागेका झाले मोरङ जिल्ला सचिव, केन्द्रीय सदस्य र मोरङको इन्चार्जको जिम्मेवारी समालेका थिए। पार्टी पद्धतीमा चल्न छोडेको र संगठनात्मक रुपमा गतिरोध उत्पन्न भएको भन्दै उनी तीन वर्षअघि नेकपामा प्रवेश गरेका थिए।
नेकपाले झालाई प्रदेश कमिटीको सचिवालय सदस्यको जिम्मेवारी दिएको थियो। नेकपाको एक समुहले मधेश आन्दोलनबाट प्राप्त उपल्ब्धी संघीयता र धर्मनिरपेक्षालाई समाप्त गर्न दुईपटक चालेको प्रतिगमनको कदमले पुन: जसपामा फर्किएको उनले बताए। 'ढेड दशकको संघर्षले एकात्मक संरचनाको व्यवस्थालाई परिर्वतन गरेर संघीयतामा ल्याएको अवस्थामा फेरि उपल्बधीलाई नै सखाप पार्न लागेकाले प्राप्त उपलब्धी जोगाउन जसपामा सक्रिय भएको हुँ', झाले बताए।
'व्यवस्था परिवर्तन गरेर नहुने भयो', झाले भने , 'अब अवस्था परिवर्तन गरेर उपलब्धी संस्थागत गर्न फर्किएको हुँ। संघर्ष गरेर निर्माण गरेको पार्टीलाई वैकल्पिक शक्तिको रुपमा बनाएर बाँकी रहेको मधेश आन्दोलनको माग संस्थागत गर्न फर्किएको हुँ।' झालाई पार्टीमा ल्याउन केन्द्रीय अध्यक्ष र जिल्ला अध्यक्ष राजकुमार यादवको विशेष पहल रहेको थियो। झालाई केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यको जिम्मेवारी दिने तयारी गरेका छन्।
त्यसैगरी पूर्वसभासद रमानन्द मण्डल पनि जसपमा प्रवेश गरेका छन्। पूर्व मन्त्री बुद्धी मण्डलका छोरा प्रकाश मण्डल पनि जसपामा प्रवेश गरेका छन्। नयाँ चिराबाट संगठन सुदृढीकरणको अभियान सञ्चालन गरेको छ। नयाँ चिराबाट संगठन सुदृढीकरणको अभियान सञ्चालन गरेको सुज अभियान अन्तर्गत पुराना नेता तथा कार्यकर्तालाई जसपाले पार्टीमा प्रवेश गराएको हो।
केन्द्रीय कमिटिले संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान भदौदेखि मंसिरसम्म चार महिनाभित्र सम्पन गर्ने नीति बनाएको थियो। अभियान अन्तर्गत वडा स्तरबाटै निर्माण भएको कमिटिहरुलाई चलायमान बनाउँदै अझै बलियो बनाउने योजना रहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)