दैलेखको दुई प्रदेशसभामा देउवा पक्षीय उम्मेदवारको जीत
दैलेख : सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तरगर्त प्रदेश निर्वाचन क्षेत्रमा हालै अधिवेशन सम्पन्न भएको छ । दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन भएको छ।
प्रदेशसभा क्षेत्रीय अधिवेशनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षबीच चुनावी प्रतिष्पर्धा भएको थियो । निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छ ।
दैलेखका चार प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये दुईमा संस्थापन र दुईमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । दैलेख निर्वाचन क्षेत्र नम्बर एकका दुई वटै प्रदेश निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि सहित पौडेल पक्ष विजयी बनेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ (क) मा बखतबहादुर सापकोटाको प्यानल नै विजयी बनेको छ । निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरको प्यानल निर्वाचित भएको छ ।
निर्वाचन क्षेत्र नम्बर दुई (क) मा संस्थापन पक्षका टंक रिमाल निर्वाचित भएका छन् । नेपाली कांग्रेस प्रदेश अधिवेशनमा दैलेखको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा संस्थापन पक्षकै उम्मेदवार खगेन्द्रबहादुर शाही ‘राउटे’ विजयी बनेका छन् ।
प्रतिक्रिया दिनुहोस !