महाधिवेशनमा आएका ज्येष्ठ नागरिक भन्छन्-‘भत्ता दिने नेता हेर्न आएका हौं’

महाधिवेशनमा आएका ज्येष्ठ नागरिक भन्छन्-‘भत्ता दिने नेता हेर्न आएका हौं’

चितवन : एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उद्घाटनसत्रको भीडमा भेटिइन् ९० वर्षीया तुलसी पौडेल। पर्वत घर भएकी पौडेल देवघाटमा बस्छिन्। भत्ता दिने नेता हेर्न र उनीहरूले भन्ने कुरा सुन्न आएको उनले बताइन्। एकपटक कांग्रेसलाई भोट दिए पनि कुनै काम नगरेको गुनासो उनले गरिन्। 

‘माले हुँदाबाटै यस पार्टी (एमाले)लाई भोट दिँदै आएकी छु, बाचुञ्जेल दिइरहन्छु’, उनले भनिन्, ‘भत्ता दिन सुरु गरे, पछि बढाए। वृद्धभत्ता दिने पार्टीका नेता भनेर हेर्न आएकी हुँ।’ 

नवलपुरको मुक्तिचोक बस्ने कली सुनार बगरको चिसो भुइँमा बदाम खाँदै चासोका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्दै थिइन्। उनी ओलीलाई राजनेता  मान्छिन्। ओली गरिब दुःखी र असहायको सहारा बनेको उनको बुझाइ छ। उमेरले ६० वर्ष पुग्न लागेकी उनी अर्को सालदेखि भत्ता खाने पाउने आशामा खुसी छिन्। 

अर्घाखाँची चिदिकाबाट दुई दिन लगाएर चितवन आइपुगेकी छन्, मनकला न्यौपाने। उनी पानीको व्यवस्था नभएको भन्दै कार्यक्रमस्थलमा भौतारिइरहेकी थिइन्। तर,ओलीको भाषण सुनेर मक्ख थिइन्। ‘हाम्रो केपी ओलीको कार्यक्रम भनेर आइयो। भोकप्यास छैन। महाधिवेशनमा जिताएर फेरि नाच्ने हो’, उनले भनिन्। ओलीको काम, व्यवहार र देशलाई माया गर्ने शैली मन पर्छ उनलाई। ‘उहाँले वृद्धवृद्धा त पाल्नुभयो। अब एउटै बिन्ती छ– युवाहरूलाई पनि स्वदेशमा रोजगारको अवसर जुटाइदिनु पर्‍यो’, उनले भनिन्, ‘उहाँकै आशा र भरोसा छ।’ 

ओलीको स्वर सुन्न भन्दै नवलपुर पिठुवाबाट छोरासँग मोटरसाइकल चढेर महाधिवेनस्थलमा आएकी छन्, ७३ वर्षीया विष्णु श्रेष्ठ। वृद्धाभत्ता दिने नेता यिनै भएकाले भाषण सुन्न आएको उनले बताइन्। ‘उहाँ मलाई निकै मनपर्ने नेता हो। अहिलेको नेतामध्ये सबैभन्दा मन पर्छ’, उनले भनिन्। पर्वतकी हरिकला सुनारले ओलीलाई भेट्न/सुन्न नारायणगढ आएको बताइन्। ‘उहाँको भाषण निकै मन पर्छ’, उनले भनिन्। ओली ज्येष्ठ नागरिकलाई माया गर्ने नेता भएको उनले बताइन्। 

सञ्जोग ठाकुरले ओलीलाई चितवनमा स्वागत गर्न सिरहा मिर्चैयाबाट आएको बताइन्। ‘हामी पहिलादेखि यही पार्टीमा छौ। उहाँ हामीलाई मन पर्ने नेता हो’, उनले भनिन्। सिरहामा सरकारले वृद्धभत्तामा दलित र अन्यलाई भेदभाव गरेको गुनासो उनले गरिन्। भनिन्, ‘कानुन एउटै बनाउनुपर्छ। समान व्यवहार हुनुपर्‍यो।’ 

धादिङका ६५ वर्षीय रुद्रबहादुर श्रेष्ठ ओलीका कुरा सुन्न महाधिवेशनस्थल आइपुगे तर भीडमा छिर्न सकेनन्। ओलीलाई प्रत्यक्ष देखेर उनका कुरा सुन्ने रहर पूरा हुन नसके भन्दै उनले दुःखमनाउ गरे। उनी बाहिर चोकमा एक पसल अगाडि सडकपेटीमा थचक्क बसेर ओलीको भाषण सुन्दै थिए। ‘भित्र छिर्न सकिनँ। प्रत्यक्ष देख्न र सुन्न मन थियो पाइनँ’, उनले भने। 

म्याग्दीको रुमा गाउँबाट आएकी मनसुवा गोतामेले ओलीको पार्टीले सहयोग गरेको बताइन्। ‘उहाँ आउने भनेपछि आउन मन लाग्यो। देख्न मन लाग्यो’, उनले भनिन्, ‘उहाँ नै हाम्रो नेता हो। अब पनि उहाँले नै जित्नुपर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.