तमोर करिडोरले जोड्यो सहरसँग
ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–६ इलाडाँडाकी कविता शेर्पाको अहिले घरैमा गाडी पुग्छ। पहिले उनलाई सदरमुकाम फुङलिङ आइपुग्न २ दिन लाग्थ्यो। तर, एक वर्षयता उनी एकै दिनमा फुङलिङ झर्न थालेकी छन्। होमस्टेसमेत सञ्चालन गरेकी उनलाई चाहिने सबै सामान अहिले गाडीले घरैमा पुर्याइदिन्छ।
सदरमुकाम झर्दा बाटोमा बास बस्नुपर्ने बाध्यता हटेको छ। इला गाउँबाट गाडी चढेर बेलुका साँझ नपर्दै बजार पुग्न सहज भएको छ। इला गाउँसम्म तमोर करिडोर (फुङलिङ–ओलाङचुङगोला सडकखण्ड) मा सवारी सञ्चालन भएपछि ओलाङचुङगोला जस्ता हिमाली गाउँको दूरी सदरमुकामसँग छोटिएको छ। ‘आवतजावतमा धेरै सहज भएको छ,’ कविता भन्छिन्, ‘गाउँसम्म सामान ढुवानीको भाडा पनि घटेको छ।’
सरकारी लक्ष्यअनुसार चीनसँगको सीमावर्ती गाउँ ओलाङचुङगोलासम्म सडक पुगे झनै सहज हुनेछ। सडकले ओलाङचुङगोला जोडिन २ किलोमिटर बाँकी छ। छिमेकी देश चीन र भारतलाई छोटो दूरीमा जोड्ने राष्ट्रिय गौरवको तमोर करिडोर सडक आयोजनाअन्तर्गतको ट्र्याक ओपनको काम भइरहेको उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर माधव पौडेलले बताए।
निर्माण कम्पनी ‘एसबीए एलाइट जेभी’ ले २०७७ असार मसान्तसम्मका काम सक्ने गरी ४० करोड लागतमा २०७४ माघमा ठेक्का सम्झौता गरेको थियो। कोरोना महामारीले काम सम्पन्न गर्न समस्या भएपछि आगामी चैत मसान्ससम्म म्याद थप गरिएको छ। ‘अहिले ट्र्याक ओपनको काम फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित सुकेपानीसम्म पुगेको छ,’ इन्जिनियर पौडेलले भने, ‘त्यस उता कञ्चनजंघा संरक्षण क्षेत्र परेकाले सडक विस्तारका लागि स्वीकृति प्राप्त भएको छैन। मेसिनहरू त्यहाँ पुगिसकेका छन्। अब लक्ष्यअनुसार नै आगामी चैत मसान्तसम्ममा ट्र्याक ओपनको काम सम्पन्न हुन्छ।’
यसअघि चिनियाँ ठेकेदारसँगको समन्वयमा ओलाङचुङगोला तर्फबाट गौरीपाटीसम्म सडक विस्तार गरिसकिएको छ। तमोर करिडोरअन्तर्गत सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, पाँचथरको क्षेत्र हुँदै ताप्लेजुङको ओलाङचुङगोला सुकेपानीसम्म हाल ट्र्याक खुलिसकेको छ। सुकेपानी–गौरीपाटी ट्र्याक ओपनको काम सम्पन्न भए भारतको जोगबनी हँुदै प्रदेश १ को राजधानी विराटनगर–इटहरी–धरान–चतारादेखि करिडोरले टिपताला जोडिने छ।
तमोर करिडोरले पूर्वी पहाडका ताप्लेजुङसहित धनकुटा, पाँथचर र तेह्रथुमका गाउँलाई सहरसँग जोड्दै लगेको छ। यसले तराईसँगको दूरी छोट्याउँदै छ। छिमेकी मुलुक चीन र भारतलाई समेत जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रूपमा यसलाई हेरिएको छ। तमोर नदीको किनारैकिनार भएर जाने तमोर करिडोरको विभिन्न खण्डमा निर्माण भइरहेको छ। पाँचथरको माझीटारदेखि तल्लो खण्ड मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथर र त्यहाँबाट माथि ओलाङचुङगोलासम्म ताप्लेजुङस्थित उत्तर–दक्षिण दोभान–ओलाङचुङगोला कार्यालयले निर्माण गरिरहेका छन्। पछिल्लो समय पाँचथरको सुभाङखोलादेखि थिवासम्मको सडक स्तरोन्नतिका लागि ठेक्कासमेत लागिसकेको कार्यालयका सूचना अधिकारी पौडेलले बताए।
धनकुटाको मूलघाटदेखि ताप्लेजुङको दोभानसम्म सडकको ट्र्याक खुलिसकेको छ। दोभानबाट सिँवा तमोरको तिरैतिर जोड्ने सडकले नजोडिए पनि हाङ्देवा–फुरुम्बु हुँदै सहायक सडकले जोडिएको छ।
प्रतिक्रिया दिनुहोस !