कच्चा पदार्थमा परनिर्भर छौँ
![कच्चा पदार्थमा परनिर्भर छौँ](https://annapurnapost.prixacdn.net/media/albums/dinesh-interview_20211209051018_KvVfo9JK9Q.jpg)
नेपाली बजारमा निम्बस ग्रुपले पशुदानादेखि खाद्यवस्तु उत्पादन र बिक्री वितरणमा पहिचान बनाउन सफल भएको छ। पाँच हजार स्क्वायर फिटको सानो विल्डिङबाट करिब पाँच करोडको लगानीमा सुरु गरेको कम्पनीको ११ ओटा म्यानुफ्याक्चरिङ प्लान्ट तथा उद्योग छन्। इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)को लगानीसमेत रहेको यो कम्पनीले वार्षिक २५ अर्ब रुपैयाँको कारोबार गर्दै आएको छ। फुड एन्ड फिड क्षेत्रमा छाप छोड्न सफल निम्बसका कार्यकारी निर्देशक डा. दिनेशकुमार गौतमसँग २१ वर्षको यात्रामा कम्पनीले गरेको प्रगतिदेखि कच्चा पदार्थ आयातमा भोगेका समस्या र आगामी योजनालगायतमा अन्नपूर्ण संवाददाता ममता थापाले गरेको कुराकानी।
सुरुआती चरणमा भारतीय बजारलाई लक्षित गरेर कुखुराको दानामा प्रयोग हुने औषधिको निर्माण गरी निर्यात गर्ने गथ्र्यो। कुखुरा पाल्न, दाना उद्योगलाई चहिने औषधिहरूको आयात गरेर बिक्री वितरण गर्ने गर्यौं। सुरुमा भारतीय बजारमा निर्यात गरियो। चार वर्षपछि नेपालमै केन्द्रित भयौं।
नेपालमा कुखुरापालनको ठूलो सम्भावना छ। सन् २००४ मा पहिलोपटक पेलेट फिड इन्डस्ट्रिज, नेपालका लागि नयाँ अवधारणामा ल्याएको प्रविधि थियो। यसअघिका चार वर्ष आन्तरिक बजारमा कुखुरापालनका लागि निम्बसको सुरुआत कुखुराको दाना बनाउनेबाट भए पनि पछि गाईभैंसी, माछा, बंगुर, बाख्रालगायतका सबै किसिमका दाना उत्पादन हुन्छ। हामी प्लास्टिक प्रोसेसिङ, केमिकल प्रोसेसिङ र व्यापारमा पनि छौं। आधुनिक प्रविधि भित्र्याएर सुरुआतमा जोखिम मोलेर काम गरियो। हामी कृषिमा आधारित उत्पादन गर्ने उद्योग काम गरेका छौं। कुखुराको गोटी दाना अर्थात् शक्ति फिडको नाममा प्लेट फिड ल्याएका हौं। त्यतिबेला यो आधुनिक प्रविधि थियो। सुरुका एक–दुई वर्ष गाह्रो पनि भयो। नयाँ प्रविधिको प्रयोगले परिणाम पनि राम्रो आउन थाल्यो। कृषकबाट राम्रो प्रतिक्रिया आए। धुलो दाना बनाउने सबै फ्याक्ट्री लेड फिडमा परिणत भए।
कच्चा पदार्थमा आयातकै भर हो ?
दानाका लागि चाहिने मुख्य कच्चा पदार्थ मकै र भटमासको पिना हो। यस्तो कच्चापदार्थ ल्याउन भारतको भर पर्नुपर्छ। नेपालमा भएको भटमासले पुग्दैन। बाहिरबाट ल्याउँदा गुणस्तरीय नहुन सक्छ। सन् २००९ मा भटमासको गेडाबाट पिना बनाउने फ्याक्ट्री खोल्यौं। जसलाई सलभेन्ट इन्डस्ट्रिज भनिन्छ।
भटमास बाहिरबाटै ल्याएर पिना र तेल निकाल्छौं। यो आन्तरिक खपत हुन्छ। यो उद्योग गरिसकेपछि खाने तेल उत्पादन थालौं। उक्त कच्चा पदार्थबाट निक्लेको तेल रिफाइन गर्यौं। सन् २०१५ मा तेल प्रशोधनका लागि अल्फा लेभलको स्विडिस प्रविधि भित्र्यायौं। सन् २०१६ पछि उत्पादन सुरु भयो। यसबाट भटमासको तेल, सूर्यमुखी तेल र तोरीको तेल उत्पादन गर्छाैं। व्यञ्जन र सुनौलो किरण ब्रान्डमा बिक्री गरिरहेका छौं। पाँच वर्षको दौरानमा यसले पकड बनाउँदै छ।
भटमासको मस्यौरा बनाउने फ्याक्ट्री पनि सुरु गर्यौं। सन् २०१८ मा दाल मिल पनि लगायौं। यसबाट सबै किसिमका दाल उत्पादन गरी बिक्री गर्र्छाै। विभिन्न किसिमका गेडागुडी, खाद्यान्नका वस्तु आयात गरी बिक्री गर्छौं। कुखुराको दाना उद्योगीलाई आवश्यक पर्ने सबै किसिमका कच्चा पदार्थ आयात हुन्छ। निम्बसअन्तर्गतका फरकफरक कम्पनीबाट उत्पादन हुने गरेको छ।
उद्योग सञ्चालनमा नेपालको कच्चा पदार्थले कत्तिको थेग्छ ?
यो क्षेत्रमा एकदम विडम्बना छ। सामान्यतया खाद्यान्न आयात हुन्छ। नेपालको उत्पादन एकदमै कम छ। यहाँको उत्पादनले केही घर चल्न सक्ला तर कुनै पनि उद्योग चल्न सक्दैन। हाम्रो दाना उद्योगमा मात्रै दैनिक दुई लाख किलो मकै चाहिन्छ। नेपालको उत्पादनले पुग्दैन। खाद्यान्नमा हामी नचाहेर भर पर्नु परेको छ। कृषिमा व्यवसायीकरण हुन सकेको छैन।
हामीले उद्योगबाट उत्पादन गर्ने करिब ८० प्रतिशत आयातीत नै हुन्छन्। केही कच्चा पदार्थ धानको भुस, ढुटो नेपालमा पनि हुन्छन् तर तेल शतप्रतिशत आयात नै गर्नुपर्छ। हामीले तेल पेल्न थालेको पाँच वर्ष भयो। एक बोरा पनि नेपालको किन्न पाएका छेनौं। दाल पनि पाएका छैनौं। भारत, अस्ट्रेलिया, क्यानडा, अर्जेन्टिनालगायतबाट आउँछ। मकै, गहुँ, धान नेपालमै उत्पादन हुने गरे पनि पर्याप्त छैन।
त्यसो भए मुलुकभित्रै खाद्यान्न उत्पादन बढाउन के गर्न जरुरी छ ?
एउटा व्यक्ति, उद्योगले उत्पादन गरेर हुँदैन। जबसम्म सामूहिक खेतीको अवधारणा आउँदैन तबसम्म धेरै परिमाणमा उत्पादन हुँदैन। कृषिमा हाम्रो फोकस के हो भनेर हेर्दैनौं। उत्तिनै क्षेत्रफलमा नेपालमा भन्दा अमेरिकामा ७ गुणा मकै, धान, भटमास फल्छ। हामीले उत्पादन क्षमतामा ध्यान दिएका छैनौं। उन्नत प्रविधि, उन्नत बीउ, मल, सिँचाइ समयमा नपाउने समस्या छ। धेरै फल्ने प्रजाति विकास भएका छैनन्। सरकारले सामूहिक खेती गरे मात्रै आयातलाई कम गर्न सकिन्छ। नत्र कृषिजन्य वस्तुको आयातको आकार झन् बढ्छ।
दुई दशक बढी समयमा के उपलब्धि हासिल गर्न सफल हुनुभयो ?
पाँच हजार स्क्वायर फिटको सानो बिल्ङिङबाट सुुरु गरिएको कम्पनीले हाल पाँच उद्योग स्थापना गरिसकेको छ। प्रमोटरले लाभांशलाई उद्योगमा पुनः लगानी गर्दै गयौं। यसकारण पनि व्यवसाय विस्तार गर्न सजिलो भयो। कृषि उत्पादनमा मात्रै देशभर चार वटा युनिट छन्। वीरगन्जबाहेक डिलरको सहयोगमा नेपालगन्ज, सुनसरीको झुम्बा र चितवनमा दाना उद्योग सञ्चालनमा छ। अझै हामीले यसका लागि सहकार्य खोज्दै छौं। निम्बस प्रतिबद्धतालाई सार्थक गर्ने कम्पनी हो। यससँग सम्बन्धित उद्योग विश्वस्तरीय प्रविधिमैत्री छन्। हाम्रा उत्पादन बहुअन्तर्राराष्ट्रिय कम्पनीले पनि स्वीकार गरेको छ।
निम्बसले कति खाद्यवस्तुको उत्पादन र बिक्री गरेको छ ?
हामीसँग करिब १ सय ३० ओटा उत्पादन छन्। हामीले विभिन्न ठाउँमा डिलर बनाएका छौं। यसमार्फत बिक्री वितरण हुन्छ।
अहिले बजारमा दाना उत्पादन र खपतको स्थिति कस्तो छ ?
प्रतिदिन ६ सयटन उत्पादन क्षमता छ। यसको ६० प्रतिशत जति प्रयोगमा छ। दानामा १५ प्रतिशत जति हाम्रो योगदान छ। दैनिक २५ सयदेखि ३ हजार टन खपत हुने अनुमान छ। वार्षिक १० लाख टन दाना नेपालमा खपत हुने गरेको छ। दाना नेपालमै खपत हुने भएकाले खासै निर्यात हुँदैन। दाना उद्योगमा सरकारको कर नीति उपयुक्त छैन। कच्चा पदार्थ र तयारी वस्तुमा उस्तै कर तोकिएको छ। जसले गर्दा नेपालमा बनाएर भारतमा निर्यात गर्न सक्दैनौं। दाना उद्योग संघमार्फत पहल गरिरहेका छौं। कच्चा पदार्थ र तयारी वस्तुको भन्सार महसुलमा एक तहको फरक हुनुपर्छ।
सरकारले कतिपय कच्चा पदार्थ आयातमा तयारीभन्दा धेरै सहुलियत दिएको छ त ?
अरूमा छ तर यो फुड आइटम भएकाले छैन। दानाका लागि धेरै लाग्ने मकै र भटमास हो। मकैमा ५ प्रतिशत ड्युटी लाग्छ। भटमासको पिनामा ९ प्रतिशत लाग्छ। औषधिलगायतमा १० प्रतिशत छ। कतिपय वस्तुमा भ्याट पनि छ। कच्चा पदार्थ ल्याएर निर्यात गर्न असम्भव छ। भारतको ठूलो बजारमा सबै उतैबाट कच्चा पदार्थ ल्याएर निर्यात गर्न सम्भव छैन।
त्यसो भए सरकारबाट ठ्याक्कै के अपेक्षा गर्नु भएको छ ?
कच्चा पदार्थमा सहजीकरणभन्दा पनि तयारीवस्तु र कच्चा पदार्थमा एक तहको भन्सार महसुल फरक हुनुपर्यो। दुवैमा १० प्रतिशतको ड्युटी छ। कच्चा पदार्थको ड्युटी घटाउनैपर्छ कि तयारीवस्तुको बढाइदिनु पर्यो।
नयाँ प्रविधिमार्फत उत्पादन गर्नुहुन्छ। बजार कत्तिको प्रतिस्पर्धी छ ?
उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउन पाइन्छ। यस्ता उद्योग पनि खुलेका छन्। उनीहरूसँगको दानाको गुणस्तरमा प्रतिस्पर्धी नै छ। नत्र टिक्ने थिएन। जसले कम लागतमा उत्पादन गर्छ, गुणस्तर दिन्छ त्यही नै बजारमा टिक्छ। दानामा हामी स्वावलम्बी नै छौं। देशमा दाना आयात भएन भने केही अप्ठ्यारो नपरे पनि कच्चा पदार्थमा परनिर्भर छौं।
बजारीकरण कसरी गर्नु भएको छ ?
प्रत्येक जिल्लामा वितरक राखेका छौं। यसको माध्यमबाट दाना किसानसम्म पुग्छ। किसानसँगको पहुँच राम्रो छ। कुखुरापालन सबै ठाउँमा हुँदँन। प्रायः सडक पुगेको नजिक व्यावसायिक रूपमा कुखुरा पालिने भएकाले दाना ढुवानी गर्न सहज छ। बजारीकरणको समस्या छैन। तयारी वस्तुमै कुखुरा, मासु, अन्डाको बजारीकरणमा समस्या छन्।
दानाको मूल्यमा कत्तिको प्रतिस्पर्धा हुन्छ, तपाईंहरूले कसरी निर्धारण गर्नुभएको छ ?
मूल्य आज एउटा, भोलि अर्कै हुन्छ। प्रतिकेजी मकैको मूल्य किलोमा हिजो ३० रुपैयाँ थियो आज ३५ पुग्छ। मूल्य एकनास हुँदैन। भारतको दानाको मूल्यभन्दा नेपालको महँगो भयो। आयात हुन सक्छ, भारतको मूूल्य, गुणस्तरमा हामी प्रतिस्पर्धी छौं। भारतबाट खासै दाना आउँदैन। दाना बनाउन प्राविधिक रूपमै हामी सक्षम छौं ।
निम्बसले अन्न भण्डार गृह सञ्चालनमा ल्याउने के तयारी भइरहेको छ ?
यो बन्ने क्रममा छ। यसमा हाम्रो लगानी भए पनि व्यवस्थापन प्रत्यक्ष रूपमा हेर्दैनौं। यो निम्बसको अगुवाइमा नेपाल वेयर हाउजिङ पब्लिक कम्पनी छ। १ महिनामा तयार हुन्छ। सुनसरी, वीरगन्ज र कपिलवस्तुमा छ। यो अन्न भण्डार दानाको कच्चा पदार्थ र उपभोक्ताका लागि पनि हुन्छ। यसमा मकै, भटमास, धान र गहुँलगायत रहन्छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)