परजीवीमुक्त राजनीति

राजनीति परजीवी हुँदा नेतामा सत्ताको लोभ र मोह प्रबल हुन्छ। फलस्वरूप, स्वार्थ मिल्नेहरूसँग बस्ने आदत बस्छ।
लोकतन्त्रले नेताको खोजी गर्छ, विकास गर्छ र जिम्मेवारी सम्पादनको अवसर दिन्छ। नेता सत्ता चलाउने हैसियतमा पुग्ने अवस्था लोकतन्त्रमा जति आदर्श तरिकाले सम्भव छ, त्यति अन्य तरिकाले छैन। नेताको सोच, वाणी र कर्मको वास्तविक परीक्षण सत्ता सम्हाल्न पुगेपछि यकिन हुन्छ। लोकतन्त्रका साधक राजनीतिक दलहरू हुन्। राजनीतिक दलहरूले विभिन्न तहका संगठन निर्माण गरेर नेतृत्वको विकास गर्दै अघि बढ्ने गर्छन्। सरकारको नेतृत्वका लागि आवधिक रूपमा आयोजना हुने निर्वाचनमा सहभागी हुने र प्रतिस्पर्धा जितेर सत्ता सम्हाल्ने हैसियतमा पुग्ने सुन्दर अवसर लोकतान्त्रिक प्रणालीले नै राजनीतिक दलहरूलाई प्रदान गर्छ।
विचार, सिद्धान्त र नीतिले राजनीतिलाई जीवन्त बनाउँछ। नेताको अनवरत साधनाले विचार, सिद्धान्त र नीतिको प्रभाव नागरिक तहसम्म विस्तार हुन्छ। दलका नेता तथा कार्यकर्ताको साझा प्रयत्नले राजनीति पल्लवित र पुष्पित हुन्छ। नेताको दूरदृष्टि, निर्णय क्षमता र कार्यसम्पादन स्तरले राजनीतिक दलको साख निर्धारण हुन्छ। नेपालको राजनीतिको स्वभाव अलि फरक तरिकाको छ। राजनीतिक क्रियाकलाप दलभित्रको अभ्यासमा मात्र सीमित भएको पाइँदैन। शिक्षक, विद्यार्थी, कर्मचारी, व्यवसायी, कलाकार जताततै दलगत पक्षधरता जनिने गरी संगठन बनाइएका छन्। हिन्दू दर्शनमा ब्रह्माजीलाई सृष्टिकर्ता, विष्णुलाई पालनकर्ता र महेशलाई संहारकर्ताको रूपमा अथ्र्याइन्छ। नेपालको राजनीतिका सृष्टिकर्ता शिक्षक, पालनकर्ता कर्मचारी र संहारकर्ताको रूपमा जनता छन् भन्दा अत्युक्ति नहोला। त्यसैले यहाँको परिवेशमा राजनीति परजीवी भएको छ। यही कारण शासन व्यवस्थामा निष्पक्षता र तटस्थता खोक्रो भएको छ।
नेपालको राजनीतिका सृष्टिकर्ता शिक्षक, पालनकर्ता कर्मचारी र संहारकर्ताको रूपमा जनता छन्भन्दा अत्युक्ति नहोला। त्यसैले यहाँको परिवेशमा राजनीति परजीवी भएको छ।
राजनीति परजीवी हुँदा नेतामा सत्ताको लोभ र मोह प्रबल हुन्छ। फलस्वरूप स्वार्थ मिल्नेहरूसँग बस्ने आदत बस्छ। अहिले राजनीति त्यस्तै गरी चलेको प्रतीत हुुन्छ। देशका सामु सहस्राब्दी विकास लक्ष्य पूरा गर्ने, सन् २०२६ सम्म विकासशील देशको हैसियत प्राप्त गर्ने, जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउनेजस्ता गहन जिम्मेवारी छन्। असल नेताको अगुवाइमा यस्ता जिम्मेवारी पूरा गर्न सकिन्छ। असल नेताको सन्दर्भ उल्लेख गरिरहँदा असल नेताको परीक्षण नतिजाले दिने हो। दलहरू स्वार्थ प्रेरित भएर टुटफुट हुने घटनाले गर्दा राजनीतिका नायकहरूमा असलपनको कमी भएको आभास हुन्छ। सत्ता प्राप्तिका लागि विचार, सिद्धान्त र नीतिमा सजिलोसँग सम्झौता गरिहाल्ने बानीले पनि नेताको वैचारिक अडान साह्रै हलुंगो भएको प्रतीत हुन्छ।
नेपालका नेताहरूमा विज्ञापन क्रेज भने असाध्यै छ। दलको आवधिक महाधिवेशन होस् वा सत्ताका लागि हुने आवधिक निर्वाचन होस्, नेताहरूका प्रतिबद्धता नागरिक केन्द्रित हुने गरेबाट नेताहरूको विज्ञापन आकर्षक ढंगले हुने गर्छ। तर जब विज्ञापनको चरणबाट व्यवसायको चरणमा नेताहरू प्रवेश गर्छन्, त्यसपछि नेताका प्राथमिकतामा नागरिक सरोकारका विषय ओझेल पर्छन्। व्यक्तिगत र दलीय स्वार्थमा नेताको ध्यान र मेहनत केन्द्रित हुन जान्छ। पछिल्ला ३० वर्षयता यस्तै परिदृश्यको रमिते बनिरहेका छन् नेपाली जनता।
चालू वर्ष नेपालका तीन ठूला राजनीतिक दलहरूको महाधिवेशनको वर्ष भएको छ। संघीय संसद्मा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) को महाधिवेशन तीन साताअघि सम्पन्न भइसकेको छ। दोस्रो ठूलो दल नेपाली कांग्रेसको महाधिवेशन यसै साता सम्पन्न भएको छ। दुई सातापछि तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलन सम्पन्न गर्दैछ। राजनीतिक दलका लागि उस्को नीति र नेतृत्व विकासका दृष्टिले महाधिवेशन अत्यन्तै महŒवपूर्ण अवसर हो। महाधिवेशनले नेतृत्वको नवीकरण वा परिवर्तन गर्ने गर्छ। यस पटकका महाधिवेशनमा नेतृत्व पुस्तान्तरणको विषय राम्रैसँग उठेको छ। सोही विषयका बीचमा नेताको विज्ञापन जोडतोडले भइरहेको छ। नेतृत्वको विज्ञापन गर्ने चरण नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) र नेपाली कांग्रेसका लागि सकिएको छ। उल्लेखित दुवै दलले मूल नेतृत्वको नवीकरण गरेका छन्। नेतृत्व समूहमा भने पुस्तान्तरणको एजेन्डा सम्बोधन भएको छ। माओवादी केन्द्रका नेताहरूको विज्ञापन जारी छ। उक्त दलको पनि मूल नेतृत्वको नवीकरणको सम्भावना प्रबल देखिन्छ।
अबको एक वर्षभित्र निर्वाचनका माध्यमबाट सरकारको नेतृत्व गर्ने नेता छान्ने कार्य सम्पन्न हुनेछ। निर्वाचनका माध्यमबाट झन्डै ४० हजार नेताहरू शासन प्रक्रियामा सामेल हुनेछन्। यसक्रममा निर्वाचनका दौरान राजनीतिक दल, निर्वाचन चिह्न र उम्मेद्ववारको विज्ञापन जोडतोडका साथ हुनेछ। विज्ञापनले मतदाताहरू आकर्षित हुनेछन्। मतदान गर्नेछन्। धेरै मत पाउने आधारमा नेताहरूको चयन हुनेछ। यस प्रकार तीन तहका सरकारको कार्यकारी प्रमुखको रूपमा ७ सय ६१ नेता सत्ता सम्हाल्न पुग्नेछन्। नागरिकका लागि नेताको विज्ञापन अन्तिम ध्येय होइन। नेता राजनेता बनुन् र देश र जनताको पक्षमा गर्व गर्न लायक काम गरून् भन्ने नै नागरिकको चाहना हो। यस सन्दर्भमा लोकतन्त्रले आवधिक निर्वाचनका माध्यमबाट असल नेता पाउने प्रणाली प्रदान गरेको छ। जसले गर्दा नेतृत्व अधिनायक बन्न पाउँदैन। तर नेपालको सन्दर्भमा मूल नेतृत्वको परिवर्तनभन्दा पनि नवीकरणले पकड जमाएको अवस्था छ। सत्ताका लागि विचार, सिद्धान्त र नीतिको निलम्बन गर्न तयार हुने दलहरूको चरित्रले लोकतन्त्रका आदर्शहरू आचरणमा आंशिक रूपले प्रतिविम्बित भइरहेका छन्।
राजनीतिक दलहरूमा छड्के प्रवेश हावी हुँदै गएको र प्रवेशको आधार आर्थिक शुभलाभ भएको चर्चाले राजनीतिमै जीवन समर्पण गरेकाहरूमा हीनताबोध बढ्दै गएको भनेर राजनीतिक विश्लेषकहरूले औंल्याइरहेका छन्। आर्थिक क्षेत्रका व्यक्तिहरू राजनीतिमा आकर्षित हुने प्रवृत्तिले राजनीतिक नेताहरूलाई आर्थिक स्वार्थमा ढल्किन सजिलो बनाउँदै लगेको आरोप राजनीतिले खेपिरहेको छ। आर्थिक प्रलोभनको भाषमा नेताहरू पर्दै गएर नेताका क्रियाकलापहरू आर्थिक क्षेत्रका उनै नवप्रवेशीको हितमा केन्द्रित हुन गएको एकथरीको अनुमान छ। यदि यी विश्लेषण वा अनुमान सत्य सावित हुँदै जाने हो भने लोकतन्त्रले दिएको अवसर आउँदा दिनमा पनि विज्ञापनमै सीमित हुनेछ। पछिल्लो तीन दशकलाई आधार मानेर प्रमुख नेताहरूको मूल्यांकन गर्दा शीघ्र सेवा तीव्र विकासको विषय नारामै सीमित रहेको छ। नागरिकले राज्यबाट पाउने सेवा र सुविधाका लागि निज नागरिक राजनीतिक दलको निकट छ भने वा कुनै औपचारिक पदमा छ भने वा निजका नातेदार सेवा दिने निकायमा छ भने वा निज घुस खुवाउन सक्ने हैसियतको छ भने मात्र सेवा वा सुविधा शीघ्र पाउने स्थिति अहिले पनि कायमै छ। यसले राज्य प्रणाली जनताको पक्षमा स्थापित हुन नसकिरहेको अवस्था दर्शाउँछ।
सत्ता सम्हाल्ने नेताले ठूला सपनाका कुरा गर्ने तर सरकारका आवधिक योजना तथा वार्षिक बजेटमा भने आफ्नो निर्वाचन क्षेत्र र कार्यकर्तालाई रिझाउने कार्यक्रममा सीमित हुने कार्यशैली छ। यसले गर्दा नेताहरूले गतिलो नतिजा दिन नसकिरहेको अवस्था छ। यिनै वास्तविकताका बीचमा उभिएर अबका दिनलाई उज्ज्वल बनाउन नेताप्रतिको आशावादिता कसरी जागृत गर्ने भन्ने यतिखेरको अहम् सवाल हो। मुलुकले संघीय ढाँचा अवलम्बन गरेको छ। संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारले राज्य शक्तिको प्रयोग गरिरहेका छन्। यस हिसाबले स्थानीय तहमा ७ सय ५३, प्रदेश तहमा ७ र संघमा १ गरी कुल ७ सय ६१ कार्यकारी नेतृत्वबाट अहिले देश चलिरहेको छ। वर्तमान संविधानअन्तर्गत सम्पन्न पहिलो आम निर्वाचनबाट सरकारको नेतृत्वमा पुगेका नेताहरूबाट नागरिकको अपेक्षा अलि धेरै भएको हो। नागरिकमा शीघ्र सेवा तीव्र विकासको आतुरता बढेको हो। तर सुशासन र विकासका परिसूचकहरूले नागरिकको अपेक्षालाई सम्बोधन गर्न सकेको भनेर खुसी हुने अवस्था सिर्जना भएको छैन।
सधैं नेताको विज्ञापनमै नागरिक रमिते बन्ने वा नेताले पनि आत्मसमीक्षा गरेर सुध्रिँदै र शुद्ध हुनुपर्ने देखिन्छ। साथै इमान, जमान र विवेकमा अडिग भएर देश र जनताको सेवामा समर्पित हुने भन्ने प्रश्न सामुन्नेमा खडा छ। नेता सत्तामा पुग्दा स्रोतसाधनको रजगज हुन्छ नै। त्यस बखत आफूले विज्ञापन गरेका संकल्प पूरा गर्न आइपर्ने स्वार्थप्रेरित व्यवधानलाई दृढतापूर्वक बढार्दै सच्चा राष्ट्रसेवकको हैसियतमा कर्म गर्ने अठोट चाहिन्छ। नेताहरू गतिला नभएको भन्ने मनोविज्ञान ससाना बच्चाहरूमा समेत विकास भएको छ। यो चेत नेताहरूमा खुल्न जरुरी छ। अझै पनि हिजोकै जसरी ‘गो विथ फ्लो’ को शैलीमा नेताहरू चल्ने हो भने नयाँ पुस्ता धेरै पछाडि पर्नेछ। त्यसैले नेताहरूमा आत्मजागरण हुन जरुरी छ। यतिखेर बहसमा रहेको नेतृत्व पुस्तान्तरणको विषयले राजनीतिलाई ‘रिफ्रेस’ गर्ने अवस्थामा पु¥याएको छ। यो सकारात्मक पक्ष हो। मूल नेतृत्वले नयाँ पुस्तालाई सुन्ने, बुझ्ने र साथ लिएर कार्यसम्पादन गर्ने शैली अपनाउन फेरि यतिखेर सुन्दर समय आएको छ। नेताहरू यसतर्फ केन्द्रित हुन जरुरी छ।
सुशासन, विकास र समृद्धि संविधानले बाँडेको आश्वासन हो। सुशासनका माध्यमबाट विकास र समृद्धि हासिल गर्न सकिन्छ भन्ने विश्वास विकसित राष्ट्रहरूले प्रमाणित गरेको तथ्य हो। संविधानले समाजवाद उन्मुख शासकीय चरित्रको परिकल्पना गरेको छ। यसको अर्थ आर्थिक–सामाजिक रूपान्तरण समन्यायिक हुनुपर्छ भन्ने हो। समन्यायको आदर्श कति कठिन छ भन्ने कुरा एकजना विद्वानको भनाइले प्रष्ट पार्छ। उनले भनेका छन् मानिसले आफ्नो शरीरमा घाँटीभन्दा माथि अर्थात् ‘हेड’तर्फ कपाल, छाला, मुख, आँखा, नाक, कान र घाँटीको जतन, शृंगार र आभूषणले सजाउन अत्यधिक लगानी गर्छ र सो भाग सधंै चिल्लो एवं टलक्क टल्कने गराउँछ तर आफ्नै शरीरको अर्को भाग गोडाको कुर्कुच्चा अर्थात् ‘हिल’तर्फ भने गतिलो जुत्तामोजा पनि नलगाएर चिराचिरा परेको अवस्थामा राख्छ। वास्तवमा यो विभेद अधिकांश मानिसमा देखिन्छ। यही आधारमा विद्वान प्रश्न गर्छन् आफ्नै शरीरमा त समन्याय स्थापित गर्न नसक्ने मानिसले समाजमा कसरी समन्याय गर्न सक्ला ?।
नागरिक समन्यायको अनुभूति गर्न आतुर छन्। समन्यायको सम्बोधन सुशासन, विकास र समृद्धिका माध्यमबाट सम्भव छ। यसको मियो सरकारको कार्यकारी प्रमुख हो। निजमा उत्पन्न हुने राष्ट्र निर्माणको जिम्मेवारी बोधले निजका सोच, वाणी र कर्म सुशासन, विकास र समृद्धि सापेक्ष हुन्छन्। यस निमित्त प्रथमतः राजनीतिमा व्याप्त परजीवी स्वभावको अन्त गरिनु पर्छ। आशा गरौं परजीवीमुक्त राजनीति, खुसी नागरिक र सम्मानित नेता भएको सुन्दर नेपाल देख्न पाउने दिन छिट्टै आउनेछ।
प्रतिक्रिया दिनुहोस !
