यातायातको काम ३० मिनेटमै
सल्लाघारी : ‘टोकन लिएको आधा घन्टामै काम भयो। यातायात कार्यालयमा सुधार भएछ,’ आइतबार बिहान ११ बजेर ४२ मिनेटमा यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी भक्तपुरमा भेटिएका काभ्रेका सुमन फुँयालले दंग हुँदै भने। सवारीको कर तिर्न सल्लाघारी पुगेका फुँयाल ११ बजेर १२ मिनेटमा टोकन लिए। सोचेभन्दा छिटो काम भएको बताउँदै उनले भने, ‘पहिले दिनभरि लाइनमा बसेर कर तिर्नुपर्थ्यो, अहिले त्यो अवस्था रहेनछ।’
अन्नपूर्णकर्मी बिहान ८ बजे उक्त कार्यालय पुग्दा कर्मचारी खटिएका भेटिए। सेवाग्राहीलाई टोकन, समयमा सेवा र कर्मचारीको नियमितता यो कार्यालयको नियम नै बनिसकेको थियो। ‘यातायात कार्यालय बिचौलियाको अखडा’ भन्ने भनाइलाई यो सेवा कार्यालयको कामले गलत साबित गराइदिएको रहेछ। सेवाग्राही खुसी देखिन्थे। कर्मचारी सन्तुष्ट। ‘सरकारले नागरिकलाई गुणस्तरीय सेवा दिएर कर तिरौं–तिरौं जस्तो वातावरण बनाउनुपर्ने हो। यहाँ छिटो काम गर्ने प्रयोग भएको रहेछ,’ सेवा लिन पुगेका भक्तपुर थिमीका बाबुकाजी श्रेष्ठले भने।
कुनै काममा समय लाग्ने भए सेवाग्राहीलाई पूर्वजानकारी दिइन्छ। सेवाग्राही बस्न र घाम ताप्न कुर्सी राखिएको छ। आधा दिनमै काम सकेर घर फर्कर्ने सेवाग्राही धेरै भेटिए। दिउँसोको ३ बजेसम्ममा कर्मचारी ‘सेवाग्राही कोही हुनुहुन्छ ?’ भन्दै माइकबाट बोलाएको सुनिन्थ्यो। भन्थे, ‘धैर्य गर्नुस्, कुर्सीमा बसेर १५ मिनेट घाम ताप्नुस्, काम सकेपछि माइकबाटै जानकारी दिएर बोलाउँछौं।’

बिहान ८ बजेर ४४ मिनेटमा कार्यालयमा भेटिएका भक्तपुर थिमीका बाबुकाजी श्रेष्ठले अहिले कार्यालयको कर तिर्न धेरै सहज भएको बताए। उनले टोकन लिएको २० मिनेटमै सेवा पाएका थिए। अनलाइनबाट कर तिरेका र कार्यालयमै पुगेर कर तिर्ने दुई प्रकृतिका सेवाग्राही पुग्छन्।
टोकन लिने समय १० बजे भए पनि सेवाग्राही बिहानै कार्यालय पुगेको देखिन्थे। ‘काम छिटो भए पनि टोकन वितरण ढिला भयो’ भन्ने सेवाग्राहीको गुनासो भने अझै सुनियो। कर तिर्न अघिलो दिन नै आएर होटलमा बसेको काभ्रेका कुमार गौतमले बताए। ‘बिहानै टोकन लिए पनि ३ घन्टा लाइनमा बस्नुपर्यो। होटेलमा बस्दा खर्च बढी नै भयो,’ उनले भने, ‘म शिक्षक हुँ। विद्यालयको काम पनि भ्याउनुपर्ने भएर अघिल्लै दिन आएँ। टोकन चाँडो दिएर काम गरे हुने हो।’ अनलाइनबाट कर तिर्ने युवापुस्ता धेरै भएकाले पनि कार्यालयलाई काममा केही सहज भएको छ। भक्तपुर व्यासीका महेश याकामी भन्छन्, ‘अनलाइन भुक्तानी सेवा राम्रो छ। बागमती प्रदेशभित्रको सबै यातायात कार्यालयमा अनलाइनबाटै टोकन लिने र कर तिर्ने व्यवस्था मिलाएको छ। बिमाको रकम पनि कार्यालयले अनलाइनबाटै तिर्ने व्यवस्था गर्दा छिटो काम हुन्थ्यो।’
कर बुझाउन बिमा गर्नुपर्छ। ९ः३५ मा सेवाग्राहीले भन्दै थिए, ‘इन्स्योरेन्स गर्न जाँदा खुद्रा पैसा फिर्ता दिँदैन। आफ्नो हिसाब छोड्दैन। हाम्रो २–४ रुपैयाँ उनीहरू नै खान्छन्। माग्दा खुद्रा छैन भनेर जवाफ दिन्छ। दिनमा १ हजार जना ठगिएका छन्।’ पहिलेभन्दा अहिले सवारी कर बढेको छ। यसमा सेवाग्राहीको चित्त दुखाइ छ। यसलाई पनि अनलाइनबाट व्यवस्थापन गरे हुने सेवाग्राही बताउँछन्। यस कार्यालयमा मध्याह्न १२ नबज्दै २ सय ३० जना सेवाग्राहीले सेवा पाए। १ नबज्दै १ हजार ६० वटा सवारीसाधनको कर बुझाइएको थियो। हेर्दा सानो देखिने सल्लाघारीको यातायात कार्यालयमा आइतबार १ करोड ४७ हजार ९ सय ९३ रुपैयाँ राजस्व संकलन भएको थियो। साँझसम्म सेवाग्राहीको पहिला भीड हुन्थ्यो। अहिले ३ नबज्दै त्यहाँ कर्मचारीले कसैको काम बाँकी छ भन्दै खोज्दै हिँडेको देखियो।
राजस्व संकलन तथा ब्लूबुक नवीकरण, पञ्जीकरण, रुट पर्मिट नवीकरण, सवारीको प्रदूषण जाँच तथा भाडाको जिपको जाँचपास र पटके जारी गर्ने काम यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीबाट हुन्छ। कार्यालयलाई समयअनुकूल परिवर्तन गर्दै लगिएको सूचना अधिकारी प्रेमप्रकाश घिमिरे बताउँछन्। ‘हामी बिहान १० बजेदेखि टोकन बाँड्छौं। दैनिक ४ सय ८० वटा टोकन दिन्छौं। कुनै दिन त हामी एक हजार बढीलाई पनि सेवा दिन्छौं’, घिमिरे भन्छन् ,‘हामीले दैनिक बाँड्ने टोकन १२ नबज्दै सकन्छि।’ टोकन नपाएकालाई पनि साँझसम्ममा सेवा दिएको घिमिरे बताउँछन्। कार्यालयका अधिकृत जीवन बस्नेतका अनुसार थोरै स्रोतसाधनमा यहाँ काम भइरहेको छ। दैनिक १ करोड राजस्व यहाँ उठ्ने गरेको उनी बताउँछन्। केही सेवाग्राहीले घुसका लागि आग्रहसमेत गर्ने गरेको कर्मचारीको अनुभव छ।
०००
‘सेवा दिन कञ्जुस्याइँ हुँदैन’

विमलप्रसाद भट्टराई, प्रमुख, यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी, भक्तपुर
सेवालाई व्यवस्थापन कसरी गर्नुभएको छ ?
बिचौलियालाई धपाउनेदेखि कार्यालयलाई सेवाग्राहीमैत्री बनाउँदै लगेका छौं। थोरै जनशक्ति र भएकै साधनस्रोतलाई अधिकतम प्रयोग गरेर हामी कार्यसम्पादन गरिरहेका छौं।
कसरी यो वातावरण बन्यो ?
टोकन प्रणाली लागू गरेपछि सेवाग्राहीलाई पनि ढुक्क छ। यसले लाइन मिच्ने समस्या समाधान भएको छ । हामी समान्यतया ३० मिनेटमा काम गरेर पठाउँछौं।
अनलाइन सेवा किन प्रभावकारी बनेको छैन ?
हाम्रो सेवालाई मन पराएर सेवाग्राहीले आएर धन्यवाद दिन्छन्। तर, अनलाइन सेवा लिने संख्या धेरै कम छ। धेरैलाई थाहा नभएर पनि होला। सबैको साथ र सहयोग रह्यो भने सुधार गर्न सक्छौं।
बिहानैदेखि अफलाइन टोनन दिन मिल्दैन ?
बिहानैदेखि टोकन दिनलाई कर्मचारी खटाउनु पर्यो। त्यसका लागि माथिल्लो निकायबाट नीति निर्माण, आदेश, निर्देशन र जनशक्ति थप गरिनुपर्छ। सबै व्यवस्थान भयो भने यो सम्भव छ ।
अहिले कति कर्मचारीबाट काम गर्दै हुनुहुन्छ ?
हामी ११ जना कर्मचारीबाट काम गरिहेका छौं। दैनिक १ करोड राजस्व संकलन गर्छौं। गत वर्ष १ अर्ब ४० करोड कर उठाएका थियौं। यस वर्ष २ अर्ब उठाउने लक्ष्य लिएका छौं। यो कार्यालय उपत्यकामा छायाँमा परेको छ। सेवाग्राहीको चाप बढी हुन्छ तर जनशक्ति कम छ। आजभन्दा १३ वर्ष अघिको दरबन्दी हो।
बिचौलिया मुक्त कार्यालय बनाउन कस्तो कदम चाल्नुभयो ?
हाम्रो कार्यालयमा बिचौलियाले सेवाग्राही लाई लुट्ने र अलमलाइरहने अवस्थाको अन्त्य गरेका छौं। अहिले बिचौलियाको वर्चस्व भएको, हाकाहाकी ठग्ने देखिएको छैन। सेवाग्राही ठगी गरेको गुनासो निकै कम आउन थालेको छ । आएपछि हामी प्रशासनमा खबर गरिहाल्छौं।
बिचौलिया कसरी जन्मिन्छन् ?
जहाँ फोहोर हुन्छ त्यहाँ भाइरस जन्मिन्छ भनेजस्तै । जहाँ भीडभाड, अस्तव्यस्त हुन्छ, त्यहाँ व्यक्तिगत फाइदा लिन बिचौलिया जन्मिन्छ। भीडभाड नियन्त्रण गर्ने विधि अपनाउनुपर्छ। कार्यालय थपेर हुन्छ कि कर्मचारी बढाएर हुन्छ या कानुन बनाएर हुन्छ सबै कदम चाल्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !