पशुपतिनाथको छत्रावली मर्मत, गजुरलाई गंगाजलले स्नान गरियो
काठमाडौं : पशुपतिनाथ मन्दिरको गजुरमा रहेको छत्रावली मर्मत गरिएको छ । मन्दिरमा बाँदरहरू चढ्ने, उफ्रने र हल्लाउने गरेपछि चोइटिएको छत्रावली साता दिनपछि बनाइएको हो । गजुरसँग दायाँबायाँ रहेको पाता छत्रावली हो । यसमा सुनको जलप लगाइएको हुन्छ । पशुपति क्षेत्र विकास कोषले छत्रावली मर्मत गरेपछि सोमबार क्षमापूजा सम्पन्न गरेको छ ।
कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले छत्रावलीको मर्मत सम्पन्न गरेपछि नियमानुसार क्षमापूजा गरेको जानकारी दिए। उनले भने, ‘गजुरमा गंगाजलले स्नान गर्ने काम पनि सम्पन्न भएको छ ।’ कोषले मर्मतका लागि मन्दिरको छानोमा पुग्नुपर्ने भएकाले पहिलो पटक क्षमापूजा गरेको थियो भने छत्रावली मर्मत गर्नुअघि अर्को क्षमापूजा गरेको थियो ।
पशुपति मन्दिरमा पुग्ने भक्तजनलाई छानोबाट उक्त छत्रावली खसेर कुनै चोटपटक नलागोस् भनेर एक सातादेखि सम्पूर्ण सुरक्षा अपनाइएको थियो । कोषले कोषकै संस्कृति महाशाखाका प्रमुख डम्बरबहादुर कार्कीको संयोजकत्वमा विसेट नाइके अरुण बिसेट, पालोवाला भण्डारीहरू सहितको मर्मत समिति बनाएको छ ।
बिसेट नाइकेले पशुपतिनाथका भक्त लक्ष्मीकिशोर श्रेष्ठले श्रद्धाभक्तिपूर्वक निशुल्क रूपमा उक्त छत्रावली मर्मत गरिदिएको जानकारी दिए । उनले भने, ‘श्रेष्ठले यसअघि मन्दिरको पाटी र मन्दिरको चारैतिर बुट्टेदार काठ कुँदेर चाँदी थप्ने काम पनि गर्नुभएको थियो । छत्रावली मर्मतका लागि उहाँले कालीगढ खटाउनु भएको हो ।’
छत्रावलीलाई मर्मत गर्न कोषले पुरातत्व विभाग र गुठी संस्थानलाई पत्राचार गरेको थियो । पशुपतिनाथका मूलभट्ट गणेश भट्टको निर्देशनमा छत्रावलीको मर्मत कसरी गर्ने भन्ने कार्यविधि बनाएपछि मर्मतको काम सुरु गरिएको थियो ।
एक साताअवधिमा सशस्त्र र पहरा गणका दुई/दुई जनाले मन्दिरमा २४ घण्टे सुरक्षा दिएका छन्।