धान उत्पादन घट्यो
विराटनगर : प्रदेश १ मा यस वर्ष धान उत्पादनमा कमी आएको छ। बेमौसमी वर्षाका कारण गत वर्षभन्दा ३ प्रतिशतले धान उत्पादन घटेको हो। धान थन्क्याउने बेला आएको बाढीले खेतमा धानको बोट र काटेर सुकाएको धान डुबाएको थियो। प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष १२ लाख ७३ हजार ३ सय ५६ मेट्रिक टन धान उत्पादन भएको छ। ३ लाख ३६ हजार १ सय हेक्टरमा खेती गरिएको थियो। गत वर्ष भने ३ लाख ३२ हजार हेक्टरमा गरिएको खेतीबाट १३ लाख ११ हजार मेट्रिक टन धान फलेको थियो।
बेमौसमी वर्षासँगै आएको बाढीले १५ प्रतिशत धानबालीमा क्षति पु¥याएको निर्देशनालयका कृषि अर्थविज्ञ नेत्रमणि काफ्ले बताउँछन्। ‘कुल धानबालीमध्ये १५ प्रतिशतमा क्षति भए पनि ३ प्रतिशत मात्र धान उत्पदानमा कमी आयो,’ ‘त्यसबेला बाढी नआएको भए उत्पादन बढ्ने थियो।’
प्रदेश १ मा सबैभन्दा बढी झापामा ४ लाख १४ हजार ७ सय मेट्रिकटन धान उत्पादन भएको छ। सोलुखुम्बुमा ३ हजार ५ सय ८५, मोरङमा ३ लाख ३८ हजार १ सय, सुनसरीमा २ लाख ७ हजार ६ सय, ताप्लेजुङमा २१ हजार ४ सय ९३, पाँचथरमा २१ हजार ६ सय २७, इलाममा ४८ हजार १ सय मेट्रिकटन धान उत्पादन भएको छ। यस्तै धनकुटामा २३ हजार ३९ मेट्रिकटन, तेह्रथुममा २० हजार ८ सय, संखुवासभामा ३६ हजार १३, भोजपुरमा ४६ हजार ६ सय, उदयपुरमा ५३ हजार ५ सय, खोटाङमा २५ हजार १ सय र ओखलढुंगामा १२ हजार ८ सय मेट्रिकटन उत्पादन भएको छ।
प्रतिक्रिया दिनुहोस !