कुलको पहिचान, मूलको पहिचान

कुलको पहिचान, मूलको पहिचान

नश्लीय पहिचान हामीसँगै रह्यो। छुटेन। जातीय विभेद पनि छुटेन। आर्थिक हैसियत पनि फेरिएन।


न्युक्लिक एटम स्मृतिको ढुकुटी हो। डीएनए त्यसैमा हुन्छ। भौतिकवादी पहिचान त्यसैमा हुन्छ। काटीकुटी बाबुको अनुहार। आमाको अनुहार। बानीबेहोरा पनि तिनकै जस्तो छ। मनोविज्ञानले भन्ने पहिचान पनि त्यहीं हुन्छ। मूलत: जातजातिगत पहिचान भनेको त्यही हो। फेर्न नसकिने पहिचान। जन्मजात पहिचान। पुर्खाले कुल र मूलको फेर्न सकिन्न भनेको पनि त्यही हो। अर्थात् कुलको पहिचान जहाँ गए पनि त्यही हुन्छ। मूलको पहिचान जहाँ गए पनि त्यहीं हुन्छ। फेरिने आवरणीय पहिचान मात्र हो। क्लोनिङ गरेका मानवको स्थिति भने भिन्नै हुन सक्छ। मुसो, बिरालो, भेडा, बाख्रामा गरिएको क्लोनिङले संकेत गरेको कुरा त्यही हो।

पहिचान कसरी बन्छ ?

जन्मेपछिको पहिचान संस्कृतिले दिन्छ। भाषाले दिन्छ। परम्पराले दिन्छ। सामाजिक तथा ऐतिहासिक पहिचान त्यही हो। यो जानी नजानी आर्जिएको पहिचान हो। अभिभावकले आर्जिदिएको। आलोचनात्मक शब्दावलीमा लादिएको। सरसंगतले बोके कार्यगत पहिचान। रहरले बोके संस्कृतीकरणको पहिचान। स्वीकार्नेलाई राष्ट्रले दिए राष्ट्रिय पहिचान। नस्वीकार्नेलाई थोपरिएको कथित राष्ट्रवादी पहिचान। सामाजिक पहिचानको सिद्धान्तबाट भन्दा सामाजिक वर्गीकरणले बन्ने पहिचान। सामाजिक चिनारीले बन्ने पहिचान। सामाजिक तुलनाले बन्ने पहिचान। संवाद तथा सम्झौताले व्यक्तिगत पहिचान बन्छ। सबैले स्वीकारे सामूहिक पहिचान। मानक बनाए निर्मित पहिचान। यहींनेर प्रश्न गरौं, फेरिने पहिचान के हो ? फेर्न नसकिने पहिचान के हो ? पहिचान फेर्दा सामूहिक रूपले फेरिन्छ कि ? व्यक्तिगत पहिचान मात्र हुन्छ कि ? फेरिएको समुदायले कसरी स्वीकार्छ ? नस्वीकारे के हुन्छ ? इसाई पहिचान बनेका नेपालीले सोही नियति पो भोग्यौं कि त ?

इसाई पहिचान
इसाईहरू आदम र इभमा विश्वास गर्छन्। उनीहरूलाई जेहोवाका सन्तान मान्छन्। त्यो विश्वासले जन्माएको शब्द हो— आदमी जनता (आदमिक पिपुल्स)। लैंगिक चिन्तनले होला इभका जनता भन्ने शब्द छैन प्रयोगमा। इसुको राज्यमा बस्न पाउने तिनै आदमिक जनता मात्र हुन्। आदम तथा इभका पुत्र आबेलका सन्तान मात्र। ती गोराहरू मात्रै हुन्। सभ्यजातिहरू। आर्यहरू अर्थात् सुसंस्कृतहरू। आत्मा भएका परमेश्वर आकृतिका मानवहरू। तिनैलाई मात्रै आदमिक पिपुल्स भनिन्छ (सामुयल, १६:१२; १७:४७, जेनेसिस, २४.१६, सोलामन, ५:१०)। यसको अर्थ हो— आदम सबैका पुर्खा होइनन्। केवल गोराका पुर्खा हुन्। इसाई बने बनाइएका अरूहरू त बाइबलको शब्दमा ‘विस्ट अफ फिल्ड’हुन्। खेतका जनावरहरू। जन्तुहरू। बाइबलको जेनेसिस, १:२५ त्यसै भन्छ। जोहानको ३:८ त्यसै भन्छ।

अर्काे शब्दमा भन्दा गोराबाहेकका नवइसाईहरू आदम वंशी होइनन्। तिनले आदमसँग जोडिन पाउन्नन्। हावार्ड र्‍यान्डको सिद्धान्तले त्यही भन्छ। र्‍यान्ड र विलियम क्यामेरोनका लेखहरूले त्यही भन्छन्। गोराहरूको दुनियाँमा चलेको ‘इसाई पहिचान’ले त्यही भन्छ। ती त ‘खेतका जनावर’ (बिस्ट अफ दि फिल्ड) हुन् (जेनेसिस, ३.२०; कोरिन्थस १५:४५; एक्ट १७:२६; गालाटिपल्स, ३:२८; रोमान्स, १०:१२)। त्यसो हो भने नेपाली इसाईहरू को हौं ?

आदमिक पिपुल्स त बन्न सक्तैनौं। किनकि नश्ल नै मिलेन। बिस्ट अफ फिल्ड हौं त ? हौं भन्ने हो भने हामी महान् परमेश्वरका सन्तान हुनैं सक्तैनौं। अनिइसुको राज्यमा बस्न पनि पाउँदैनौं। र्‍यान्ड र क्यामेरोनको सिद्धान्तअनुसार इसाई पहिचान पनि पाउँदैनौं। के हामी इसाई बनेकाहरूले पहिचानहीन इसाई बन्न स्वीकारेकै हौं त ? विषय सोचनीय छ।

इसाई पहिचानमा जोड्न नमिल्नेहरू
आबेल र केन जुम्ल्याहा हुन्। इभका सन्तान। आमा इभ। बाबु फरक। बाइबलको शब्दमा सर्प र इभका सन्तान हुन् केन। त्यसैले बाइबलले केनलाई सैतान भन्यो। ती सैतान भनिएकाहरू यहुदी हुन्। केनका सन्तान। बाइबलको बोलीमा ती ‘ईश्वरका छनोटमा परेका मानिसहरू’ (चुजन पर्सन) होइनन्। किनकि उनीहरू आदम र इभका सन्तान होइनन्। ती त सर्प र इभका सन्तान हुन्। एउटै आमाका सन्तानलाई पनि बाबु फरक हुंँदा नस्वीकार्ने आदमिक पिपुल्सले हामी सुम्निमा र पारोहाङका सन्तानलाई स्वीकार्लान् त ?

फेरिने पहिचान के हो ? फेर्न नसकिने पहिचान के हो ?पहिचान फेर्दा सामूहिक रूपले फेरिन्छ कि ? व्यक्तिगत पहिचान मात्र हुन्छ कि ? फेरिएको समुदायले कसरी स्वीकार्छ ? नस्वीकारे के हुन्छ ?

मनु र शतरूपाका सन्तानलाई स्वीकार्लान् त ? फलानाका सन्तान भनी नभन्ने बौद्धमार्गीलाई अपनाउलान् त ? सोचौं नेपाली इसाईहरू बाइबलको इसाई पहिचानमा कहाँ पर्छाैं ? के हामी दोस्रो दर्जाको इसाई हौं र ? त्यो पनि स्वीकार्य छ भनी इसाई बनेका हौं त (जोन ३:८; एक्सोडस ११: ५–७; १९:१३)।

नेपाली इसाईहरू हराएका जाति (लस्ट ट्राइब) का सन्तती हौं त ? हुनसक्छौं त ? बाइबलले भनेको ती दस जाति इजरायली हुन्। रेयुबेन। साइमन। डान। नाफताली। गाड। असेर। इजाचर। जेबुलन। मनल्सेह। इफाइम। यहुदीको धर्मग्रन्थ तल्मुडले भन्यो कि ती हराएका जातिहरू वा लखेटिएका जातिहरू वा निर्वासित जातिहरू पनि फर्किएर आइसके। तीमध्ये कोही इसाई बने। कोही यहुदी बने। यसरी हेर्दा के नेपाली इसाईहरूले हराएका जातिसँग नश्ल जोड्न सक्छौं त ? अहिले गन्धर्व जातिले हामी किराँत हौं भन्ने दाबी गरे जस्तै (डीबी दमाई, दीपक गन्धर्व, तथा गोविन्द सार्की, २०७८ नेपालका रैथाने गन्धर्व सभ्यता)। सारंगी भिलेज फाउन्डेसन) गर्न सक्छौं त ? गरिहाल्यौं भने पनि हामीलाई हराएका १० जातिले स्वीकार्छन् त ? गन्धर्वको हकमा त तिनलाई किराँतहरूले स्वीकारेका छैनन्। अर्थात् दाबी गर्नेले गर्‍यौं। तर स्वीकार्ने समूह तयार छैन।

त्यस्तै सोही किताबमा दलितहरू द्रविड हौं। नाग हौ। मिश्रित रगत हौ भन्यौं। हाम्रो भनाइलाई भारतमा भएका द्रविडले स्वीकार्लान् त ? द्रविणहरू त आफूलाई भाषिक समूह हौं भन्छन्। के नेपालका दलितहरू पनि भाषिक समूह नैं हौं त ? नेपालको भाषा आयोगसँग त त्यो कुराको जानकारी छैन। त्यस्तैगरी द्रविणहरूको इतिहासले भन्छ, उनीहरू १७ थरीका छन्। बडागास। ब्रहुइस। चेनचुस। इरुला। गिराभारु। गौण्डिस। खोण्डस। कन्नाडिगास। कोडाभस। कुरुख। कुरुम्बर। मलयालिज। पानिया। तामिल। तेलेगु। टोडास। तुलुभास। तीमध्ये नेपाली दलित फलानो समूहमा पर्छौं भन्न सक्ने आधार छ त ?
मेरो जानकारीले भन्छ– छैन।

ऐतिहासिक जानकारीले भन्छ– नागहरू राजपरिवार हुन्। केपी जैसवालले १२ वटा नागले राज गरेको कुरा लेखेका छन्। वृष। भीम। स्कन्द। बसु। वृहस्पति। विभु। रवि। भव। प्रभाकर। देव। व्यग्रह। गणपति। पुराणलाई आधार मानी लेखिएको जैसवालको पुस्तकलाई इतिहासकारहरूले गलत अथ्र्याइ भनेका छन्। यो स्थितिमा दलितहरू नाग हुन् भन्ने प्रामाणिक आधार हुन्छ त ? डा. राजाराम सुवेदीले भनेझैं दलितका राज्य तथा नागहरूका राज्यबीच कुनै रक्त वा अन्य सम्बन्ध भएको प्रमाण हामीसँग छ त ? काठमाडौंको हनुमानढोका संग्रहालयमा भएका छालाका मुद्रा र नाग राजाहरूको मुद्राबीच केही सम्बन्ध छ त ? त्यस्तै डीएनए मिल्ने कुनै प्रमाण छ त ? भगिराज इङ्नामले किराँती पहिचानका लागि लेखेको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह, २०७७ ले प्रस्तुत गरेका जस्ता दस्तावेज छन् त ?

यी प्रश्नहरूको उत्तर नहुँदा पनि दलितहरूले हामी गैरहिन्दू हौं भनेझैं नेपाली इसाईले हामी आदमिक पिपुल्स हौं भनेका पो हौं कि ? एकपटक विज्ञ नेपाली इसाईहरूले सोच्ने बेला पो भयो कि त ? कसैले घर फुटाउने चाल चलेको पो हो कि त ? कतै हामी त्यसकै पो गोटी भयौं कि त ? सोच भएका नेपाली इसाईहरूले खोजीनीति गर्ने कि त ?

इसाई बनेका नेपालीहरूको स्थिति
पेटे पेट्टिस्सनले सन् २०२१ को १६ अगस्टमा बीपी न्युज ३ मा पोस्ट गरेको लेखअनुसार नेपाली इसाईको ६५ प्रतिशत दलित हौं। सोही अनुसन्धानात्मक लेखअनुसार दलितहरू चार कारणले इसाई भएका छौं। पहिलो, जातीय मुक्ति हुन्छ कि भनेर। दोस्रो, दीर्घरोगीको नि:शुल्क औषधि हुन्छ कि भनेर। तेस्रो, पुरोहित तथा धाँमी–झाँक्रीमा खर्च गर्नु पर्दैन कि भनेर। चौथो, विदेशी पैसा आर्जन हुन्छ कि भनेर। तर सोही लेखले चितवनको मनहरीमा चेपाङका छुट्टै चर्च छन्। तामाङका छुट्टै चर्च छन्। दलितका छुट्टै चर्च छन् भनेको छ। नेपाली इसाईको जातजातिगत चर्च बनाउने संस्कृतिले हाम्रो पहिलो आशालाई निराशामा बदलिदिएको छ। अर्थात् इसाई बन्दा पनि हामी चेपाङ इसाई हौं। तामाङ इसाई हौं। दलित इसाई हौं। अन्तरघुलित इसाई हैनौं।

त्यस्तै स्थानीय पत्रिकामा आएको अर्काे जानकारीअनुसार पोखराका इसाईहरूले चर्चमा आफ्नो कमाइको दशांश दान गर्नु पर्ने व्यवस्था छ। दानको यो अनिवार्यताबाट इसाई बन्ने, बनाउने तेस्रो तथा चौथो कारणलाई पनि बेकामे बनाएको छ। अर्थात्, पुरोहित तथा धामीझाँक्रीमा खर्चिने रकम चर्चामा खर्चिनु परेको छ। अर्काे शब्दमा भन्ने हो भने जोते पनि तीन गरा। खने पनि तीन गरा भएको छ। त्यसो भए इसाई बन्नेहरू दीर्घरोगको नि:शुल्क औषधि पाइन्छ भनेर मात्रै पो पछि लाग्यौं कि त ? केहीले विदेशीहरूबाट लिएको वा पाएको फाइदामा पो इसाई बन्यौं बनायौं कि त ? कतै इसाई बन्नेहरूले घोत्लिनु पर्ने हो कि त ?

इसाई बनेका भारतीयहरूको स्थिति
सन् २०२१ मा पेउ अध्ययन केन्द्रले भारतमा गरेको शोधले भन्छ– इसाई बन्नेमा ७४ प्रतिशत दलित छन्। विपन्न छन्। ५४ प्रतिशत कर्ममा विश्वास गर्छन्। टीका लगाउँछन्। जुत्ता फुकालेर चर्चमा प्रार्थना गर्छन्। यी सबै कुरा गैरइसाई संस्कार हुन्। त्यसो हुँदा पनि जातिगत विभेद तथा छुवाछूत भोगेकै छन। एकाधलाई छोडेर आर्थिक अवस्था पनि उस्तै छ। आठ वर्ष अगाडि भारतमै भएको अर्काे अध्ययनले पनि भन्छ, इसाई भएका दलितहरूले द्वैध पहिचान बोकेको छन्। पहिलो पहिचान दलित भएर। दोस्रो पहिचान दलित इसाई भएर। यस अर्थमा इसाई बन्नेहरूलाई ताईको माछा भुंग्रोमा परेझैं पो भयो कि त ? यी दुवै अध्ययनबाट देखिन्छ कि नश्लीय पहिचान हामीसँगै रह्यो। छुटेन। जातीय विभेद पनि छुटेन। आर्थिक हैसियत पनि फेरिएन। यसले संकेत गरेको कुरा के हो भने बर्मा गए पनि कर्म सँगै गयो इसाई बनेकाहरूको निम्ति। यसो हो भने थोमस एलेनले लेखेजस्तो मान्छेको रूपमा जेहोवाले जन्माएको आदम हो। आदमको सन्तान भनेको गोरा हो। सभ्य मान्छे हो। जेनिसिसको १:२७ ले भनेको पनि त्यही हो। के त्यो सत्यता स्वीकारेर पनि हामी इसाई भएका हौं त ? हामी बिस्ट अफ दि फिल्ड हौं भनी स्वीकारेर इसाई भएका हौं त ? अरूलाई इसाई बनाएका हौं त ?

पेउकै अध्ययनअनुसार भारतका इसाईमा ४ प्रतिशत हिन्दूबाट रूपान्तरित छन्। हिन्दू रहँदा तिनले रहरअनुसार स्वर्ग नर्क हुन्छ भन्ने बुझेका हुनुपर्छ। जन्म–मरण चक्रीय हुन्छ भन्ने जानेको हुनुपर्छ। ऋग्वेदका अत्रि ऋषिले भनेको मान्छे मरेपछि जहाँबाट आयो त्यहीं जान्छ भन्ने कुरा थाहा पाएको हुनुपर्छ। ज्ञान मित्रले हालै कोसी अनलाइन डटकममा लेखेको लेखले भनेझैं विज्ञानी शब्दमा मरेपछि पनि कर्म बोक्ने न्युक्लिक एटमलाई चिनेको हुनुपर्छ। पर्खाको शब्दमा स्थूल शरीर, सूक्ष्म शरीर तथा कारण शरीर जानेको हुनुपर्छ। बृहदारण्यकोपनिषद् तथा निरालम्वोपनिषद्ले भनेको स्वर्ग र नर्क त मनको कुरा हो। मन नासिएपछि न स्वर्ग हुन्छ न नरक भन्ने कुरा बुझेकै हुनुपर्छ। बह्म अविनाशी हो। ईश्वर शत र अशतको उपज हो। उपयोगी वस्तु देवता हो।

मानव योनिबाट जन्मेर असल काम गर्ने भगवान् हो भन्ने भेद जानेको हुनुपर्छ। त्यसको आधारमा इसु को हुन् भन्ने बुझेको हुनुपर्छ। अनि इसाई बन्दा त इसुको राज्यमा बस्न पाउने न नपाउने चिन्तन मात्रै पो रहेछ भन्ने थाहा पाएको हुनुपर्छ। हिन्दूहरू त त्योभन्दा पर मुक्तिको कुरा पो गर्दा रहेछन् भन्ने जानेको हुनुपर्छ। इसाई धर्मशास्त्रीहरू हामी स्वर्गको कुरा गर्छाै। हिन्दू तथा बुद्धमार्गीहरू मोक्ष तथा निर्वाणका कुरा पनि बुझ्छन् तथा अभ्यास गर्छन् भन्ने स्वीकार्छन् भन्ने जानकारी राखेको हुनुपर्छ। यस अर्थमा इसाई ज्ञानको तरेलीको अनुभूति गरेको हुनुपर्छ। विज्ञानी शब्दमा सब्लिमेसन जानेको हुनुपर्छ। हिन्दूको शब्दावलीमा आत्माको परमात्मामा मिलन भन्ने कुरा बुझेकै हुनुपर्छ। बुद्धमार्गीको शब्दमा निर्वाण जानेको हुनुपर्छ। धम्मचक्रबाट बाहिरिने कलाबारे जानकार हुनुपर्छ।

यस अर्थमा हिन्दू तथा बौद्ध धर्मबाट इसाई बनेकाहरूले भवसागर वा धम्मचक्रमैं पो बस्ने रहर पो गरेछौं कि त भनी सोच्नुपर्ने हो कि ? किराँत धर्मावलम्बी तागेरानिङमाफुमा मान्छौं भने इसाईचिन्तन कहाँ पर्ने रहेछ भनी सोच्ने पो हो कि ? यी र यस्ता कुरामा धर्मवेत्ता नेपाली इसाईहरूले घोरिनुपर्ने पो हो कि त ? इसाई बनेकाहरूमध्ये केही पदाधिकारी छौं। केही अनुयायी मात्र छौं। बाइबलको शब्दमा ‘विश्वासी’ मात्र। भारतको अध्ययनले भन्छ– इसाई बनेर विसप पद पाउनेहरूमध्ये ४ प्रतिशत मात्रैदलित हुन्। कार्डिनल बन्न पाउनेहरू ८ प्रतिशतभन्दा पनि कम छन्। यसको अर्थ हो झन्डै तीन चौथाइको स्थान ओगटेका इसाई दलितले पनि समानुपातिक नेतृत्व पाउने अवसर रहेनछ। यसबाट नेपाली इसाई दलितले पनि सोच्नुपर्ने अवस्था आएको हो कि त ?

टुंग्याउनी

म्याथु (२८: १९–२०) तथा टिमोथी (२:२) को सन्देश बोकेर इसाई बनाउन लागिपरेकाहरू सर्वत्र छन्। तिनले पनि आदम पिपुल्स को हुन् भन्ने जानेको हुनुपर्छ। बिस्ट अफ दि फिल्ड को हुन् भनी चिनेको हुनुपर्छ। लस्ट ट्राइव भित्र हामी पर्‍यौं कि परेनौं भनी बुझेको हुनुपर्छ। र्‍यान्ड तथा क्यामेरोनको सिद्धान्त जानेको हुनुपर्छ। सोही बाइवलको जोन (३:८) तथा एक्सोडस (११: ५–७तथा १९:१३) पढेको हुनुपर्छ। सामुयल (१६:१२ तथा १७:४७) जानेकै हुनुपर्छ।
यस्ता अनगिन्ती उद्धरणहरू छन्, बाइबलमा तिनको खोजी गरेकै हुनुपर्छ। त्यसो हो भने नेपाली इसाईले म्याथु र टिमोथीको सोच अरूले उल्टो पारे भनी प्रश्न गर्न सक्छौं त ? त्यसो गर्नु पवित्र पुस्तकको अवहेलना पो हुनजान्छ कि त ? अपाच्य कुरा पो बन्न जान्छ कि त ?

यसबारेमा नेपाली इसाईहरूले सोच्ने कि त ? हामी आदम पिपुल्स बन्न बाइबलको आदेश हुन्न भन्ने बुझेपछि बिस्ट अफ दि फिल्ड भएरै इसाईमा बसिरहने चिन्तन पो बनाउने कि त ? पेटे पट्टिसनले भेटेका चार कारणले नै इसाई बन्ने बनाउने हो। हिन्दू, बौद्ध, किराँत धर्ममा विचलन आयो भनी कराउनेहरूले माथिका चार कारणको सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक उत्तर खोजेर पुख्र्यौली धर्ममा नैं इसाईहरूलाई फर्काउने हो कि त ? फर्किने वातावरण बनाउने कि त ? चार कारणको खोजीमा रहनेहरूलाई सहज उत्तर दिने कि त ? यसबारे कराउनेवालाहरू घोत्लिनुपर्ने हो कि त ? पहिचानको कुरा गर्दा छुट्ट्याउन तथा छुट्टिन मात्रै जानेका नेता तथा जातजातिका अगुवाहरूलाई ओमकार परिवारले बोन, वुद्ध, किराँत, हिन्दू, शिख तथा जैनलाई समेटेझैं अ र आ थपेर अल्लाहवादी तथा आमेनवादीलाई जोड्ने कुरा पो सिकाउने कि त ? हामी भौतिकवादी भन्ने तथा भनाउनेहरूले किन नेपालीहरू भौतिकवादी बन्नुको सट्टा इसाईवादी बन्न चाहेछन् भनी बुझ्नुपर्ने हो कि त ? जाने त गैगो भैगो भनेर ओमकै ध्वनि त खोजेछन् नि त आमेनवादी वा इसाईहरूले भन्ने सोच भित्र्याएर नेपालीहरूलाई जोड्ने कि त ? धर्मसभाका सभासद्हरूले एकअर्का धर्मका जन्म, जीवन, मृत्यु र मरणोपरान्तका सोचहरूबारे तुलनात्मक जानकारी लिने, दिने तथा दिलाउने सामग्री बनाएर स्वच्छाले धर्म छान्न चाहनेलाई बाटो खुला छ पो भन्ने कि त ? इसाई बन्ने बनाउने नेपालीलाई बिस्ट अफ दि फिल्ड बन्नबाट बचाउने कि त ? जात जातीय छुवाछूत तथा अन्य विभेद हटाउन बस्तीबस्तीमा अभियान थाल्ने कि त ? निर्णय नेपाली इसाईहरूमैं छोडें। धर्माधिकारीमा छोडें। राजनीतिक चिन्तकहरूमा छोडें। हामी भिन्नैं हौं भन्नेहरूमा छोडें। भिन्नहरूलाई जोडने चाहनेहरूलाई छोडें।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.